श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपालसामु इतिहास रच्ने अवसर छ : कप्तान रोहित पौडेल

जेष्ठ २९, २०८१ |सविना कार्की
श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपालसामु इतिहास रच्ने अवसर छ : कप्तान रोहित पौडेल

फ्लोरिडा । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपालसामु इतिहास रच्ने सुनौलो अवसर रहेको बताएका छन् । जारी आईसीसी टी-ट्वेन्टी विश्वकप अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले भोलि टेस्ट राष्ट्र श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपालले अहिलेसम्म टेस्ट मान्यता प्राप्त देशलाई पराजित गर्न सकेको छैन ।

नेपालले श्रीलंकासँग फ्लोरिडाको लडरहिलस्थित ब्रोवार्ड काउन्टी स्टेडियममा खेल्नेछ । फ्लोरिडामा विश्वकपको पहिलो खेल हुन लागेको हो तर श्रीलंकाले यो पिचमा विश्वकप अघि दुई वार्म-अप म्याच खेलेको थियो । नेदरल्यान्डस्‌सँग पराजित भएको उसले आयरल्यान्ड माथि जीत हात पारेको थियो । नेपालले यहाँ तीन दिन अभ्यास गर्‍यो । सोमबार भने प्रशिक्षक मोन्टी देसाइले खेलाडीलाई आराम दिएका थिए । श्रीलंकाको टिम अभ्यासमा आए पनि पानी परेपछि पूरा समय मैदानमा बिताउन पाएन ।

प्रि-म्याच कन्फरेन्समा कप्तान रोहितले दोस्रो खेलका लागि प्राप्त समयले लडरहिलको वातावरणसँग भिज्न र तयारी गर्न सहयोग गरेको बताए । नेपालले टेक्ससको ड्‌यालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेदरल्यान्डस्‌सँग गत जुन चारमा खेलेको थियो । उनले नेटमा चार सेसन बिताएको भन्दै श्रीलंकासँगको खेलका लागि तयार रहेको भनाइ राखे । 

यो विश्वकपमा एसोसिएसट राष्ट्रले टेस्ट खेल्दे देसलाई पराजित गरिरहेकाले आफूहरूका लागि पनि प्रेरणा मिलेको कप्तान पौडेलले बताए । टी-ट्वेन्टी विश्वकपमा डेब्यु गरेको अमेरिकाले पाकिस्तान माथि ड्‌यालसमा सनसनी पूर्ण जीत हात पारेको थियो । यस्तै क्यानडाले आयरल्यान्डलाई स्तब्ध पार्‍यो । नेपालका लागि पनि श्रीलंकालाई पराजित गर्दै इतिहास बनाउने मौका छ ।

श्रीलंकाको विषयमा बोल्दै रोहितले भने, ‘श्रीलंका टिम राम्रो छ । टी-ट्वेन्टी विश्वकप जितिसकेको टिम हो । कुनै पनि विपक्षीलाई हामी सहज लिँदैनौँ तर जारी विश्वकपमा श्रीलंकाले सोचे जस्तो खेल्न सकिरहेको छैन । ब्याटिङ चलिरहेको छैन । त्यसको फाइदा उठाउँदै बलिङ युनिटले कम स्कोरमा रोकेर चेज गर्न सके इतिहास कोरिनेछ । अहिले सम्म टेस्ट राष्ट्रलाई हराउन सकेको छैन भोलि त्यो दिन हुन सक्छ ।’

नेपालले वेस्ट इन्डिजमा खेल्ने टी-ट्वेन्टी विश्वकपका खेलहरूमा सन्दीप लामिछाने समावेश हुने

सन्दीप लामिछाने आएसँगै नेपाली टिम १४ जनाको रहेको छ । स्पिनर सन्दीपले प्रतीश जिसीलाई रिप्लेस गरेका हुन् । उनले श्रीलंकाको खेल खेल्ने छैनन् । वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशसँग सन्दीप उपलब्ध हुनेछन् । नेपाल सुपर एटमा पुगे सन्दीप टिममा हुनेछन् भने सुपर एटका सबै खेल वेस्ट इन्डिजमा नै हुनेछन् ।

नेपालले नेदरल्यान्डस्‌सँग पहिले ब्याटिङ गर्दै १९ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय ६ रन बनाएको थियो । सो खेलमा धेरै डट बल खेलेको भन्दै ब्याटरको आलोचना पनि भयो । यस विषयमा सोधिएको प्रश्नमा रोहितले अमेरिकाको सबै पिचमा डट बल भइरहेको जवाफ दिए । विशेष गरी न्युयोर्कको पिचमा लो स्कोरिङ म्याच भइरहेको छ । पाकिस्तानले भारतसँग १ सय २० रन चेज गर्न सकेन । यस्तै १ सय १४ रनका लक्ष्य पछ्याएको बंगलादेश, न्यु योर्कमा दक्षिण अफ्रिकासँग ४ रनले पराजित भयो । समग्रमा अमेरिकाको कन्डिसनमा डट बल हुने भन्दै रोहितले १ सय ४० रन विनिङ स्कोर हुने बताए । सुरुवात राम्रो पाएको ब्याटरले युटिलाइज गर्न आवश्यक रहेको रोहितको बुझाइ छ । प्लेइङ इलाभेन परिवर्तन हुने नहुने भोलिको कन्डिसन हेरेर निर्णय गरिने रोहितले जानकारी दिए ।

आईसीसी टी-ट्वेन्टी विश्वकप : पहिलो खेलमा नेपाल ६ विकेटले पराजित

श्रीलंका समूहको आफ्नो तेस्रो खेल खेल्दै छ । यसअघि उसले दक्षिण अफ्रिका र बंगलादेशसँग हार बेहोरेको थियो । त्यसैले वानिन्डु हसरंगाको टोली नेपाल भन्दा बढी दबाबमा छ । नेपालसँग हार बेहोरे पूर्व च्याम्पियन समूह चरणबाटै बाहिरिनेछ । बलिङ प्रशिक्षक आकिब जाबेदले अहिले सबैले अनुमान गर्न नसकिने पिचको बारेमा बुझ्न थालेको प्रतिक्रिया दिए । न्युयोर्कमा सबैभन्दा पहिले खेलेको श्रीलंका दक्षिण अफ्रिकासँग ७७ रनमा अल आउट भएको थियो ।

टी-ट्वेन्टी क्रिकेटमा कुनै पनि टिम कमजोर नहुने भन्दै उनले नेपाललाई हल्का रूपमा नलिने बताए । यसअघि यूएईका प्रशिक्षक रहेका आकिबसँग नेपालमा गएर खेलेको अनुभव छ । उनले नेपाली समर्थक र नेपालमा क्रिकेटको क्रेजबारे खुलेर प्रशंसा गरे । समर्थक नेपाली टिमको अतिरिक्त शक्ति भएको उनको भनाइ थियो ।

ड्‌यालसमा भएका विश्वकपका चार खेल मध्ये सबैभन्दा बढी नेपाल र नेदरल्यान्डस्‌को खेलमा समर्थक आएका थिए । सात हजार बढी समर्थक मध्ये ९५ प्रतिशत नेपाली समर्थक थिए । १५ हजार दर्शक क्षमता रहेको ब्रोवार्ड काउन्टी स्टेडियममा पनि उल्लेख्य नेपाली समर्थक आउने अनुमान गरिएको छ ।

मंगलबार लडरहिलमा साँझ ६ बजे सम्म ६० प्रतिशत पानी पर्ने पूर्वानुमान छ । नेपाल र श्रीलंकाबीचको खेल स्थानीय समय अनुसार साँझ साढे ७ बजे सुरु हुनेछ । यदि यो खेल वर्षाका कारण रद्द भए सबैभन्दा ठूलो घाटा श्रीलंकालाइ हुनेछ । दुई खेल हारेको श्रीलंका समूह चरणबाटै बाहिरिनेछ । नेपालका लागि पनि अगाडीको यात्रा कठिन हुनेछ । समूह डी बाट दक्षिण अफ्रिका लगातार तीन खेल जित्दै सुपर एट पुगिसकेको छ । जारी विश्वकपमा सुपर एट पुग्ने दक्षिण अफ्रिका पहिलो टोली हो । नेपाल, बंगलादेश, नेदरल्यान्डस्‌ र श्रीलंका सबैको सुपर एटको ढोका खुला छ । सिनियर स्तरमा नेपालले श्रीलंकासँग पहिलो पटक खेल्न लागेको हो ।

सम्बन्धित समाचार...

नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित पौडेल

गुल्सन झा : नेपाली क्रिकेट टिमका जोशिला खेलाडी

नेपाली क्रिकेटका सफल ओपनर कुशल भुर्तेल : सानदार प्रदर्शनको अपेक्षा

विश्वकपमा सोमपालको प्रदर्शन कस्तो रहला ?

संघर्षले खारिएका अनिल साह : विश्वकपमा अब्बल साबित गर्ने अवसर

कठिन अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै आएका करणले विश्वकपमा कस्तो चमत्कार देखाउलान् ?

अविनाश बोहोराको बलिङ जादु, पूरा होला विश्वकपमा सुपर एटसम्म पुग्ने नेपालको लक्ष्य ?

आसिफ सेख : विश्वकपमा उत्कृष्ट प्रदर्शनको जिम्मेवारी

प्रतिश जीसी : ट्यालेन्ट हन्टबाट विश्वकप यात्रासम्म

ललित राजवंशी : लेफ्ट आर्म स्पिनको जादु देखाउन तयार

चोटले क्रिकेट करियरमा अवरोध गरे पनि सिनियर टिममा स्थान बनाउन सफल कमलसिंह ऐरी


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।