आसिफ सेख : विश्वकपमा उत्कृष्ट प्रदर्शनको जिम्मेवारी

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
आसिफ सेख : विश्वकपमा उत्कृष्ट प्रदर्शनको जिम्मेवारी

काठमाडौं । नेपाली टिमका ओपनिङ ब्याट्सम्यान हुन्- आसिफ सेख । उनी नेपाली टिमबाट एक हजार टी-ट्वेन्टी रन पूरा गर्ने खेलाडीमा पर्छन् । दाजु आरिफसँगै क्रिकेट खेलेर करियर सुरु गरेका आसिफ परिवारले बनाएका कुशल खेलाडी हुन् ।

आईसीसीको स्पिरिट अवार्डसमेत जितिसकेका आसिफ नेपालले टी-ट्वेन्टी विश्वकप खेल्दा खेलको केन्द्रमा रहने खेलाडीमध्येका एक हुन् ।

नेपालमा क्रिकेट खेलको खासै विकास नहुँदा वीरगन्जले धेरै क्रिकेटर जन्माएको छ । वीरगन्जबाटै उदाएका क्रिकेटका नमुना खेलाडी हुन् आसिफ । सुरुआती दिनमा नारायणी रंगशाला आसपासमा दाजु आरिफसँगै उनी क्रिकेट खेल्थे ।

आरिफकै लागि बलिङ गर्ने क्रममा उनमा विकेट किपिङको कला पनि विकास भयो । २२ वर्षीय यी क्रिकेटरका बुबा पनि क्रिकेटप्रेमी भएकाले यो क्षेत्रमा लाग्ने प्रेरणा मिल्यो । १० वर्ष नपुग्दै क्रिकेट खेल्न थालेका आसिफ सन् २०१२ मै अन्डर सिक्सिटिनको एलिट कपमा छनोट भएका थिए । त्यसको दुई वर्षपछि मलेसियामा नेपालले अन्डर सिक्सिटन प्रिमियर लिग खेल्दा उनी उपकप्तान थिए ।

आसिफको कप्तानीमा नेपालले २०१७ को इमर्जिङ टिम्स एसिया कप खेल्यो । उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका आसिफले सन् २०१६ मै एभरेस्ट प्रिमियर लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेपछि चर्चा मात्रै बढेन अन्डर नाइन्टिन टिममा स्थान पाएका थिए ।

६ वर्षअघि भारतको लखनउमा सम्पन्न भारत, नेपाल र अफगानिस्तानको अन्डर नाइन्टिन टिमबीच सिरिजमा नेपाली टिमको नेतृत्व गर्ने मौका आसिफले नै पाएका थिए । त्यो सिरिजको धेरै खेलाडी अहिले सिनियर टिममा छन् । बंगलादेशमा भएका दुई एसिया कपमध्ये पहिलोपटक उनी आफैंले कप्तानी गरे भने दोस्रोपटक रोहित पौडेलको कप्तानीमा खेले । यी सबै प्रतियोगिताका ओपनर हुन आसिफ ।

चारपटक अन्डर नाइन्टिन एसिया कप खेल्न पाउने भाग्यमानी खेलाडीमा पर्छन् आसिफ । उमेर समूहमा खेलेको अनुभवबाट आसिफलाई प्रशिक्षक डेभ वाट्मोरले कुशल भुर्तेलसँग ओपनिङ जोडीका रुपमा स्थापित गरे । विकेटकिपिङमा समेत उनी निर्विकल्प छन् ।

कीर्तिपुरको क्रिकेट मैदानमा तीन वर्षअघि नेदरल्यान्डसँग सिरिज खेल्दै आसिफले टी-ट्वेन्टी आईमा डेब्यु गरेका हुन् । डेब्युमै अर्धशतक प्रहार गरेका आसिफले कुशलसँग ११६ रनको साझेदारी गरेका थिए । यो ओपनिङ जोडीले एकदिवसीयमा पनि सँगै ओपनिङ गरे । त्यसयता दुवै खेलाडीले प्रशिक्षकको विश्वास जित्दै आएका छन् ।

आसिफको करियरसँग सधैं जोडिएको कुरा हो- आईसीसीको स्पिरिट अवार्ड । यस्तै, अवार्ड विश्वकै पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लबले पनि उनलाई दिएको छ । यी दुई अवार्ड पाउने आसिफ एक्लो नेपाली खेलाडी हुन् । पछिल्लो तीन वर्षयता सिनियर टिमका सबै खेलमा ओपनिङ गरिरहेका आसिफले ४४ टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । त्यसक्रममा उनले पाँच अर्धशतकसहित एक हजार २३ रन प्रहार गरिसकेका छन् ।

एकदिवसीय क्रिकेटमा उनले ४९ खेलका एक शतक र १२ अर्धशतकको मद्दतमा १४ सय एक रन बनाएका छन् । उनी यस प्रारूपमा सर्वाधिक रन बनाउने दोस्रो नेपाली ब्याटर हुन् । बलिया प्रतिद्वन्द्वीविरुद्ध राम्रो प्रदर्शन गर्दै आएका उनले गत वर्ष एसिया कपमा भारतविरुद्ध ५८ रनको अर्शशतकीय इनिङ्ससमेत खेलेका थिए । उनीमाथि टी-ट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने जिम्मेवारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.