कठिन अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै आएका करणले विश्वकपमा कस्तो चमत्कार देखाउलान् ?

जेष्ठ १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कठिन अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै आएका करणले विश्वकपमा कस्तो चमत्कार देखाउलान् ?

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत सन् २०१८ को फेब्रुअरी १४ मा नामिबियामा नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै थियो । विश्वकप छनोटमा पुग्न र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन नेपाललाई जित्नैपर्ने दबाब थियो । तर १ सय ९५ रनको लक्ष्य पाएको नेपाल १ सय ४४ रन बनाउँदा ९ विकेट गुमाएर हारको संघारमा पुगिसकेको थियो । खाँचो ५१ रनको, हातमा जम्मा १ विकेट । तर चामत्कारिक रुपमा करण केसीले हारको मुखबाट जित खोस्दै नेपाललाई ओडीआई मान्यता दिलाएको क्यानडाका खेलाडीले चालै पाएनन् । करणले ३१ बलमा ३ चौका र ४ छक्कासहित अविजित ४२ रन बनाएपछि नेपालले खेल १ विकेटले जित्यो । त्यसैले नेपाली क्रिकेटमा फेब्रुअरी १४ लाई भ्यालेन्टाइन्स डे भन्दा पनि करण केसी डेको रुपमा सम्झने गरिएको छ ।

गत वर्ष लिग-२मा पनि नामिबियाविरुद्ध ऐतिहासिक विजय हात पार्दा करणले बलिङमा ५ विकेट लिए भने ब्याटिङमा १२ बलमा अविजित २० रनको फिनिसिङ इनिङ्स खेले । उनी ओडीआईमा ३ पटक ५ विकेट लिने नेपालको पहिलो बलर बने । उनको यसै प्रदर्शनका कारण नेपाल अघिल्लो साइकलको लिग टू तालिकामा शीर्ष ३ मा रहँदै विश्वकप छनोटसम्म पुग्न मद्दत मात्र पुगेन, नेपालले थप चार वर्षका लागि एकदिवसीय मान्यता जोगायो ।

बाग्लुङमा जन्मिएका करण बाल्यकालमै बाबु-आमासाग भारत गएका थिए । चण्डीगढमा स्कुल पढ्दा क्रिकेट खेल्न सिकेका करणलाई परिवारबाट क्रिकेट खेल्न खासै समर्थन थिएन । एक दशकअघि करण पासपोर्ट बनाउने र वैदेशिक रोजगारीमा जाने योजनासहित पोखरा आए । उनले पासपोर्ट पनि बनाए ।

तर त्यही समय पोखरामा क्षेत्रीयस्तर क्रिकेट प्रतियोगिता भइरहेको थियो । उनले सो प्रतियोगितामा सहभागिता जनाउँदै अलराउन्ड प्रदर्शन गरे । त्यसपछि उनको सपना वैदेशिक रोजगारीबाट क्रिकेटतर्फ मोडियो ।

२०७१ सालमा पञ्चकन्या तेजबाट नेपाल प्रिमियर लिग खेलेका करणले प्रतियोगितामा १० विकेट लिएपछि तत्कालीन प्रशिक्षक पुबुदु दशानायकेले राष्ट्रिय टिमको प्रशिक्षणमा प्रशिक्षणमा बोलाए । सन् २०१५ मै लिस्ट ए डेब्यू गरेका करणले सोही वर्ष नेदरल्यान्ड्सविरुद्ध टी-२० आई डेब्यू गरे । नेपालले २०१८ मा नेदरल्यान्ड्विरुद्ध खेलेको पहिलो र ऐतिहासिक एकदिवसीय खेल्नेमध्येका एक भाग्यमानी खेलाडी पनि हुन् उनी ।

स्टार अलराउण्डर करणले नेपालका लागि ६८ टी-२० खेलमा ९० विकेट र ३८ इनिङ्समा ४ सय १७ रन बनाएका छन् । पीएनजीविरुद्ध ५ विकेट लिएका उनले ह्याट्रिकसमेत गरेका थिए । करण टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने विश्वका २८ औं खेलाडी हुन् । यस विश्वकपमा १० विकेट लिन सके उनी नेपालका लागि १ सय टी-२० विकेट लिने पहिलो बलर बन्न सक्छन् । करणले ५१ एकदिवसीय खेलमा ७४ विकेट र ३६ इनिङ्समा ४ सय १२ रन बनाएका छन् । ओडीआईमा उनले ३ पटक ५ विकेट हल पूरा गरेका छन् ।

अबुधाबी टी-१० लिगमा पूणे डेभिल्सबाट खेलिसकेका करण घरेलु क्रिकेटमा पुलिस क्लबबाट खेल्छन् । नेपालका फ्रेन्चाइज लिगहरुमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका करण म्याच विनर खेलाडी हुन् । कठिन अवस्थामा चामत्कारिक प्रदर्शन गर्दै हारको मुखबाट जित खोस्न सिपालु करणबाट यस विश्वकपमा पनि नेपाली समर्थकहरुले अविस्मरणीय प्रदर्शनको अपेक्षा गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.