प्रतिश जीसी : ट्यालेन्ट हन्टबाट विश्वकप यात्रासम्म

जेष्ठ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिश जीसी : ट्यालेन्ट हन्टबाट विश्वकप यात्रासम्म

काठमाडौं । सानै उमेरमा क्रिकेट एकेडेमी जान सुरु गरेका प्रतीश जीसीको सपना थियो- नेपालका लागि विश्वकप खेल्ने । कलिलै उमेरमा स्कुलस्तरको क्रिकेट खेल्न सुरु गरेका प्रतिशले नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको देखेपछि आफ्नो सपना एक दिन पूरा गर्ने संकल्प लिए । त्यही संकल्प, प्रेरणा र मेहनतले उनलाई विश्वकपसम्म पुर्‍याएको छ । प्रतिश ट्यालेन्ट हन्टमार्फत् उदाएका मिडियम फास्ट बलर हुन् ।

नेपाली क्रिकेटमा एउटा भनाइ निकै प्रचलित छ- 'रोय डियाजले खेल्न सिकाए, पुबुदु दसानायकेले जित्न ।' सानै उमेरमा प्रतिश जिसीको क्रिकेट कौशलले तिनै पुबुदुलाई प्रभावित पार्‍यो । ट्यालेन्ट हन्टमार्फत् काठमाडौंको यू-१६ टीमबाट उमेर समूहको राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेका प्रतिशले २०१७ मा अन्डर १६ टोली मार्फत् नेपालको प्रतिनिधित्व गर्ने अवसर पाए । प्रतिश सोही वर्षको एभरेष्ट  प्रिमियर लिग ईपीएलमा ट्यालेन्ट हन्टबाटै ललितपुर प्याट्रियट्समा सामेल भए । 

उनी ट्यालेन्ट हन्टमा सहभागी १ सय ५ खेलाडीबाट ३१ जना हुँदै उत्कृष्ट चारमा परेपछि ईपीएलका लागि छनोट भएका थिए । सन् २०१९ मा रोहित पौडेलको नेतृत्वमा उनले नेपालका लागि आईसीसी अन्डर १९ विश्वकप छनोट खेले । प्रतियोगितामा २ खेल खेलेका उनले ओमानविरुद्ध अलराउण्ड प्रदर्शन गर्दै ४१ रन र २ विकेट लिए । २०२१ को ईपीएलमा विराटनगर वारियर्सबाट खेलेका उनले ५ खेलमा १४ ओभर बलिङ गर्दै ४ विकेट लिए ।

उमेर समूह र फ्रेन्चाइज क्रिकेटमा लोभलाग्दो प्रदर्शन गरेपछि उनले आईसीसी क्रिकेट लिग-टु अन्तर्गतको यूएई भ्रमणका दौरान पपुवा न्यूगीनीविरुद्ध २०२३ फेब्रुअरी २७ मा एक दिवसीय अन्तर्राष्ट्रय क्रिकेटमा डेब्यू गरे । उनी नेपालका लागि ओडीआई क्याप जित्ने ३७औं खेलाडी बने । सोही वर्षको अक्टोबरमा नेपाल, हङकङ र यूएई सम्मिलित क्रिकोणात्मक सिरिजमा उनले हङकङविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा समेत डेब्यूको अवसर पाए ।

बायाँ हाते मध्यम तीव्र गतिका बलर र दायाँ हाते ब्याटर प्रतिशले नेपालका लागि ३ ओडीआई खेलमा २ विकेट लिएका छन् । उनले १० टी-२० आई इनिङमा ८ विकेट लिएका छन् । नेपाल टी-२० लिगको पहिलो संस्करणमा उनी पोखरा एभेन्जर्समा थिए ।

यसै वर्ष कीर्तिपुरमा सम्पन्न नेदरल्यान्ड्स, नामिबिया र नेपालबीचको त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई १ सय २० रनमा रोक्ने क्रममा प्रतिशले ४ ओभरमा १३ रन खर्च गरेर ३ विकेट लिँदै म्यान आफ दि म्याच भएका थिए । जुन टी-२० करियरमा उनको उत्कृष्ट फिगर हो ।

२० वर्षीय प्रतिशले घरेलु त्रिकेटमा बागमती प्रदेशबाट खेल्छन् । उनले उमेर समूहमा बागमतीको कप्तानीसमेत गरेका छन् । नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्सबाट खेलिसेका उनी राष्ट्रिय टिमका नियमित सदस्य भए पनि थोरै अवसर पाउने गरेका छन् । पछिल्लो समय घरेलु क्रिकेटमा बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका प्रतिशले विश्वकपमा खेल्ने अवसर पाए प्रभावशाली प्रदर्शन गर्न सक्छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.