
बागलुङ । बडादशैँ सुरु भएसँगै बागलुङका शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनहरुको चहलपहल सुरु भएको छ ।
नेपालकै धार्मिक प्रसिद्ध शक्तिपीठ मध्यको कालिका भगवती मन्दिरमा पनि यसपटक नवरात्रि सुरु भएसँगै भक्तजनहरु पूजा गर्न पुगेका छन् । तर, असोज ९ देखि ११ गते सम्म आएको अविरल वर्षापछि सडक सञ्जाल पूर्णरुपमा सञ्चालन नहुँदा भक्तजनहरुको संख्यामा भने कमी देखिएको छ ।
मन्दिरमा पूजाअर्चना गर्न यहाँ देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् । बागलुङ्गको रामरेखास्थित रमणीय मनमोहक जंगलको बीचमा अवस्थित कालिका मन्दिरमा दशैँ सुरु भएसँगै पूजा गर्ने धर्मावलम्बीहरुको भीड हुने गर्दछ । प्रत्येक वर्ष मन्दिरमा बडादशैँ र चैतेदशैँको अवसरमा विशेष पूजाअर्चना हुने गर्दछ ।
मन्दिरमा पूजा गर्न भने भक्तजनहरु उत्साहका साथ बिहानैदेखि लाइनमा बस्ने गर्दछन् । कालिका भगवती मन्दिरमा आएर पूजा गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ ।
तत्कालीन पर्वतका राजा प्रतापी नारायण मल्ले १५९१ सालमा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्दा आफ्नी छोरीलाई दाइजो स्वरुप दिएको देवीको मूर्ती यहाँ आउँदा हलचल नभएपछि त्यस यतादेखि यहाँ मन्दिर बनाइ पूजा हुँदै आएको इतिहास छ ।
१५औँ शताब्दीको बास्तुकलात्मक महत्व एवं धार्मिक आस्था बोकेको कालिका भगवती मन्दिरको महिमा बढ्दै गएको छ । विशेष गरी नवरात्रिका साथै शनिबार, मंगलबारसमेत यस मन्दिरमा पूजा अराधनाको लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा भक्तजनहरुले रोट, नरिवललगायत फलफूल समेत चढाउने गर्दछन् ।