.png&w=1000&height=550)
सुर्खेत । कर्णालीमा १०औं राष्ट्रिय खेलकुदमा रग्बी खेलाउन मैदान निर्माण गरियो ।
मैदानको परीक्षण पनि भयो । तर, त्यसपछि सरकारी बेवास्ताको शिकार बनेको रग्बी मैदान अहिले जीर्ण बनेको छ । यहाँसम्मकी खेल नै अर्को मैदानमा सार्नुपर्ने स्थिति आइपरेको छ।
२०७९ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णयसँगै यो मैदानमा रग्बी खेल आयोजना गर्ने तयारी थियो । त्यही योजनालाई सफल बनाउन सरकारले लगानी पनि गर्यो । तर, मैदान निर्माण पूरा भएपछि कर्णाली प्रदेश सरकारले संरक्षणमा बेवास्ता गर्यो।
यता खेलकुद परिषद्मा पदाधिकारी पनि रिक्त रह्यो । मैदान बनाउन लागि परेकाहरुले परिषद्देखि खेलकुद मन्त्रालयसम्म निवेदन लिएर धाउँदा पनि मैदान पुनः निर्माणमा कसैले चासो देखाएनन् ।
सुर्खेतमा रग्बीका लागि तीन स्थान छन् । कर्णाली रंगशाला, कालिन्चोक र आर्मीको मैदान । रंगशाला व्यस्त हुने भएपछि बाँकी दुई मैदानमा खेलाउनुपर्नेछ । मैदान बनाउन खटिएकाहरु भने यही मैदानले रग्बीको पहिचान बोक्ने भएकाले मर्मत गर्न जोड दिइरहेका छन् ।
यो मैदान बनेपछि कर्णालीमा प्रदेश स्तरको र राष्ट्रिय स्तरको प्रतियोगिता पनि आयोजना भएको थियो। त्यसपछि यहीँ नै खेल गराउन सकिने सबैलाई विश्वास थियो। तर, संरक्षण नभएपछि त्यहाँका पूर्वाधार भत्किए, मानिसहरुले ड्राइभिङ सिक्ने ठाउँ बनाए अनि अहिले घाम ताप्ने ठाउँमा सीमित भएको छ यो मैदान ।