गुल्सन झा : नेपाली क्रिकेट टिमका जोशिला खेलाडी

जेष्ठ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
गुल्सन झा : नेपाली क्रिकेट टिमका जोशिला खेलाडी

काठमाडौं । गुल्सन झा नेपाली क्रिकेट टिमका अहिलेका सबैभन्दा जोशिला खेलाडी हुन् । १८ वर्षे यी खेलाडीले युवा अवस्थामा नै आफूलाई राष्ट्रिय टिममा प्रमाणित गरिसकेका छन् । भारतमा चार वर्ष क्रिकेट सिकेर अहिले टी-ट्वेन्टी र एक दिवसीय राष्ट्रिय टिममा रमाइरहेका गुल्सन टी-ट्वेन्टी विश्वकप खेल्ने टिमसँगै अमेरिकामा छन् ।

कक्षा ८ पछि पढाइ नै छोडेर क्रिकेटमा लागेका गुल्सनका लागि अहिले सबै थोक क्रिकेट हो । भारतमा उनले बलिङका तीन विधा सिके- स्लोवर, कटर र बाउन्सर । रणजी ट्रफी खेलेका प्रशिक्षकबाट ब्याटिङ सिक्ने अवसर पाए । चार वर्षअघि गुल्सन प्रधानमन्त्री कपको छनोट खेल्न भारतबाट घर फर्किएका थिए । तर उनी मधेश प्रदेशका छनोटकर्ताको आँखामा परेनन् ।

यता, काठमाडौंकै एक क्रिकेट एकेडेमीमा अवसर पाए । त्यसपछि उनलाई नेपाल प्रहरीको टिमसमक्ष पुग्न समय लागेन । पुलिसकै टिमबाट उनले घरेलु प्रतियोगितामा ब्रेक थ्रु पाएका थिए । त्यतिबेला उनलाई लाग्थ्यो एक दिन राष्ट्रिय टिमबाट खेल्न पाउँ । तर अहिले उनी अहिले नेपाली टिमको शृंगारिक खेलाडी बनिसकेका छन् ।

गत वर्ष, आईसीसी विश्वकप लिग टूको पहिलो सिजनको अन्तिम खेलमा नेपालले घरेलु समर्थकमाझ यूएईलाई नाटकीय रुपले हराएको थियो । त्यो जितको नायक थिए गुल्सन । एसीसी प्रिमियर कपमा पनि यूएईविरुद्ध गुल्सनको ब्याटिङ सम्झनलायक छ । मिडियम फास्ट बलरका रुपमा राष्ट्रिय टोलीमा प्रवेश गरेका गुल्सनले पछिल्लो समय अलराउन्डरको परिचय बनाइसकेका छन् ।

अन्डर नाइन्टिन र सिनियर राष्ट्रिय टोलीबाट बाहेक गुल्सनले खासै धेरै खेल खेलेकै छैनन् । साढे तीन वर्षअघि काठमाडौं मेयर कपको फाइनलबाट घरेलु प्रतियोगितामा डेब्यु गरेकै दिन चार विकेट लिएका थिए । त्यसपछि उनलाई सिधै अन्डर नाइन्टिन र सिनियर टिमको ढोका खुल्यो । गुल्सनले अहिलेसम्म राष्ट्रिय टिमबाट २९ टी-२० आई खेलिसकेका छन् । त्यस खेल दौरान उनले १९ विकेट आफ्नो नाम गरिसकेका छन् । उनले त्यस खेल दौरान २२ इनिङ्समा ब्याटिङसमेत गरेका छन् । जसबाट उनले अहिलेसम्म ३६२ रनको योगदान गरेका छन् ।

गुल्सनले पछिल्लो परिचय : अलराउन्ड

उनको अहिलेसम्मको सर्वाधिक स्कोर ५४ हो र एक पटक मात्र अर्धशतक बनाएका छन् । गुल्सनलाई अहिले नेपाली टिमका प्रशिक्षक मोन्टी देसाईले कुशल फिनिसरको रुपमा स्थापित गराएका छन् ।

सधैं हँसिलो देखिने गुल्सन, आफ्नो जिम्मेवारीमा स्पष्ट रहेको र प्रशिक्षक मोन्टी देशाईको निर्देशनअनुसार खेलिरहेको बताउने गरेका छन् । १८ वर्षको उमेरमै विश्वकप खेल्न पाउनु कुनै पनि खेलाडीको सपना हो । अब त्यो अवसर गुल्सनले अमेरिका र वेस्ट इन्डिजमा यही महिना सुरु हुने विश्वकपमा पाउँदै छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.