
काठमाडौं । मेसीको अर्जेन्टिनाका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल, फुटबल इतिहासकै एउटा भावुक र स्मरणीय क्षण हो । तर, मेसीको अन्तिम खेलको विपक्षीका रूपमा उभिँदै गरेको बेनिनका लागि भने यो खेल झनै विशेष छ ।
हालसम्म विश्वकपको यात्रा तय गर्न नसकेको पश्चिम अफ्रिकाको सानो मुलुक पहिलोपटक विश्वविजेता अर्जेन्टिनासँग आमनेसामने हुँदैछ । त्यसैले मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेल बेनिनका लागि विश्व फुटबलका महान् खेलाडीको अन्तिम अध्यायसँग आफ्नो नाम जोड्ने दुर्लभ अवसर पनि हो ।
विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीको अर्जेन्टिनाका लागि अन्तिम खेल । एउटा यस्तो खेल, जसलाई फुटबलप्रेमीले वर्षौंसम्म सम्झिरहनेछन् । तर, यो ऐतिहासिक खेलमा मेसीको विपक्षमा उत्रिने देश बेनिन पनि कम रोचक छैन ।
१ लाख १४ हजार ७ सय ६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको पश्चिम अफ्रिकाको सानो मुलुक बेनिनले पहिलोपटक अर्जेन्टिनाको सामना गर्दैछ । त्यसैले विश्व विजेता अर्जेन्टिनासँगको यो खेल बेनिनका लागि सामान्य मैत्रीपूर्ण खेल मात्र नभइ देशकै फुटबल इतिहासमा दुर्लभ अवसर हो ।
बेनिन पश्चिम अफ्रिकामा अवस्थित देश हो । यसको पश्चिममा टोगो, पूर्वमा नाइजेरिया तथा उत्तरतर्फ बुर्किना फासो र नाइजर छन् । दक्षिणतर्फ गल्फ अफ गिनी फैलिएको छ । करिब डेढ करोड जनसंख्या रहेको बेनिनको आधिकारिक राजधानी पोर्टो नोभो हो । तर, देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक केन्द्र कोटोनु हो ।
आजको बेनिनलाई पहिले दाहोमी भनेर चिनिन्थ्यो । फ्रान्सेली उपनिवेश रहेको यो देशले सन् १९६० मा स्वतन्त्रता प्राप्त गरेको हो । तर, बेनिनको इतिहास केवल उपनिवेशवादमा मात्र सीमित छैन । आजको बेनिन रहेको भूभागमा शक्तिशाली दाहोमी राज्यको शासन थियो ।
विशेषगरी यसको सैन्य शक्ति र संगठित महिला सैनिक दस्ताका कारण दाहोमी चर्चित थियो । बेनिनको इतिहासको अर्को महत्वपूर्ण र पीडादायी अध्याय हो दास व्यापार । बेनिनको दक्षिणी तटीय क्षेत्रलाई कुनै समय स्लेभ कोस्ट अर्थात् दास तट भनेर चिनिन्थ्यो ।
यही क्षेत्रबाट ठूलो संख्यामा अफ्रिकी मानिसलाई समातेर समुद्रपारि अमेरिका र क्यारेबियन क्षेत्रमा दासका रूपमा लगिएको इतिहास छ । आज पनि त्यस इतिहासका अवशेष बेनिनको संस्कृतिमा भेटिन्छन् । बेनिनको आधुनिक राजनीतिक इतिहास भने उतारचढावपूर्ण छ ।
स्वतन्त्रतापछि देशले लामो समय राजनीतिक अस्थिरता र सैनिक शासन भोग्यो । सन् १९७० को दशकमा कम्युनिष्ट शासनसमेत स्थापना भएको थियो । तर, सन् १९९० को दशकमा बेनिन बहुदलीय लोकतन्त्रतर्फ फर्कियो । त्यसपछि निर्वाचन र सत्ता हस्तान्तरणको अभ्यासले देशलाई पश्चिम अफ्रिकामा तुलनात्मक रूपमा स्थिर लोकतन्त्रमध्ये एक बनाएको छ ।
यद्यपि पछिल्ला वर्षमा राजनीतिक स्वतन्त्रता र विपक्षी दलमाथिको व्यवहारलाई लिएर प्रश्न पनि उठ्ने गरेका छन् । बेनिनको अर्थतन्त्र अझै विकासशील अवस्थामै छ । कृषि यहाँको अर्थतन्त्रको मेरुदण्ड हो । विशेषगरी कपास बेनिनको प्रमुख निर्यात वस्तु हो ।
पछिल्ला वर्षमा आर्थिक वृद्धि हासिल गरे पनि गरिबी, बेरोजगारी, पूर्वाधारको कमी र भ्रष्टाचारजस्ता चुनौती अझै छन् । उत्तर क्षेत्रतर्फ सुरक्षा चुनौतीसमेत थपिएको छ । बुर्किना फासोसँगको सीमाक्षेत्रमा विभिन्न सशस्त्र समूहको गतिविधि र सुरक्षा समस्याले बेनिनलाई चिन्तित बनाउँदै आएको छ ।
अब आउँछ सबैभन्दा रोचक प्रश्न । फुटबलमा बेनिन कस्तो छ । बेनिनको राष्ट्रिय फुटबल टोलीलाई द चिताह्स भनेर चिनिन्छ । तर, अफ्रिकी फुटबलको ठूलो शक्तिका रूपमा भने बेनिनलाई लिइँदैन । अहिलेसम्म बेनिनले फिफा विश्वकपमा स्थान बनाउन सकेको छैन । तर, अफ्रिका कप अफ नेसन्समा भने बेनिनले केही उल्लेखनीय यात्रा गरेको छ ।
सन् २०१९ मा बेनिनले पहिलोपटक प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुगेर इतिहास बनाएको थियो । त्यसक्रममा उसले अफ्रिकी फुटबलको बलिया टोलीमध्ये एक मोरक्कोलाई समेत पराजित गरेको थियो । बेनिनले अहिलेसम्म अफ्रिका कप अफ नेसन्समा पाँचपटक सहभागिता जनाएको छ ।
पछिल्लो पटक सन् २०२५ को संस्करणमा पनि बेनिन सहभागी थियो । विश्वकपमा नपुगेको र अन्तर्राष्ट्रिय फुटबलमा तुलनात्मक रूपमा सानो टोली मानिने बेनिनका लागि अर्जेन्टिनाविरुद्धको खेल भने ठूलो अवसर हो । मेसीले आफ्नो लामो अन्तर्राष्ट्रिय करियरमा विश्वका दर्जनौँ राष्ट्रविरुद्ध खेलिसकेका छन् । तर, करियरको अन्तिम अन्तर्राष्ट्रिय खेलमा भने उनले पहिलोपटक बेनिनको सामना गर्नेछन् ।
यसले बेनिनलाई एउटा अनौठो पहिचान दिएको छ । विश्वका महान् खेलाडीमध्ये एक मेस्सीको अन्तिम अन्तर्राष्ट्रिय विपक्षी । त्यसैले खेलको नतिजाभन्दा पनि बेनिनका लागि यो क्षण आफैंमा इतिहास हो ।
सम्बन्धित समाचार :