शीर्ष ६ को निर्णायक भिडन्तमा नेपाल र क्यानडा

आश्विन २४, २०८३ |सुवास रोकाया
शीर्ष ६ को निर्णायक भिडन्तमा नेपाल र क्यानडा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । 

शीर्ष ४ को सम्भावना समाप्त भएको अवस्थामा क्यानडालाई पराजित गर्दै शीर्ष ६ मा पुग्ने सम्भावना बलियो बनाउनु र ओडीआई मान्यता जोगाउने अभियानलाई निर्णायक मोड दिनु नेपालको मुख्य लक्ष्य हो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा हुने यो प्रतिस्पर्धा दुवैका लागि महत्वपूर्ण २ अंक जोड्ने अवसर त हो नै, लिग २ को शीर्ष ६ भित्र अटाउन र ओडीआई मान्यता जोगाउन पनि दुबै टिमलाई जित बाहेकको विकल्प छैन ।

ओमानले शुक्रबार क्यानडालाई ४१ रनले पराजित गरेपछि नेपालको शीर्ष चारमा रहँदै विश्वकपको ग्लोबल छनोटमा सीधै प्रवेश पाउने सम्भावना समाप्त भएको थियो । त्यसकारण शीर्ष ६ भित्र रहेर लिग-२ बाटै ओडीआई मान्यता जोगाउने सम्भावनालाई नेपालले आफ्नो मुख्य लक्ष्य बनाएको छ । 

जारी लिग २ चक्रको आफ्ना अन्तिम चार खेलमध्ये तीनमा जित निकाल्न सके नेपाल शीर्ष ६ भित्र उटाउने छ । यद्यपि, लिग-२ बाटै आवश्यक लक्ष्य हासिल गर्न नसके नेपालका लागि विश्वकप छनोट प्लेअफमार्फत अघि बढ्ने अर्को विकल्प भने बाँकी रहने छ । तर, प्लेअफमा भर पर्नुभन्दा लिग–२ मै आफ्नो स्थान सुधार्नु नेपालका लागि सहज र सुरक्षित विकल्प हो । 

नेपालले लिग–२ मा पछिल्लो समय अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा यो कठिन अवस्था आएको हो । जुलाईमा नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँग खेलेका चारवटै खेलमा पराजित भएपछि नेपाली क्रिकेटमा कप्तानी सहित टिममा पनि हेरफेर गरिएको थियो ।

विदेशी भूमिमा लिग–२ अन्तर्गत खेलेका २० खेलमध्ये नेपालले १४ खेल गुमाइसकेको छ । पछिल्ला ८ अवे खेलमा पनि नेपालले आफ्नो पक्षमा नतिजा हात पार्न सकेको छैन । तर, पछिल्लो लयले नेपालको आत्मविश्वास भने बढेको छ ।

मलेसियामा आयोजित एसीसी प्रिमियर कपमा उपाधि जितेको नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा स्थान बनाएको थियो । जापानमा आयोजित एसियाली खेलकुदमा अफगानिस्तानमाथि निकालेको जितले पनि टोलीको मनोबल बढाएको छ । 

ओमान एसंगको अभ्यास खेलमा पनि नेपालको प्रदर्शन प्रभावशाली रह्यो । क्यानडा पनि अहिले उत्कृष्ट लयमा छैन । लिग २ का पछिल्ला २० खेलमा उसले केवल २ जितमात्र हात पारेको छ । ओमानविरुद्ध ४१ रनको हारले टोलीको कमजोरी थप उजागर गरेको छ । 

क्यानडाको तयारीमा खेलाडी अनुबन्ध, भीसा र छनोटसम्बन्धी विवाद तथा व्यवस्थापनका चुनौतीले प्रभाव पारेको विवरण आएका छन् । केही महत्त्वपूर्ण खेलाडीको अनुपस्थितिले पनि टोलीको सन्तुलनमा असर पारेको छ । कलीम साना, साद बिन जफर, निकोलस किर्टन र डिलन हेलिगरको अनुपस्थितिले टिमको सन्तुलन बिगारेको छ । 

नयाँ मुख्य प्रशिक्षक तेजेन्द्रपाल सिंह पनि टिमसँग खास अभ्यस्त छैनन् । हर्ष ठाकरको अलराउन्ड प्रदर्शन र आदित्य वरदराजनको ब्याटिङ नेपालका लागी चुनौती हुन सक्छ । युवराज सामरा र अजयवीर हुन्डलको ओपनिङ साझेदारी तोड्न सके नेपालले खेलमा पक्कड बलियो बनाउने छ । 

आरोन जोन्स पनि क्यानडाको ब्याटिङ लाइनअफका अर्का हतियार हुन् । नेपाल र क्यानडा सन् २०२४ मा क्यानडामा भएको लिग–२ शृङ्खलामा दुईपटक भिडेका थिए, जसमा दुवै खेलमा नेपाल पराजित भएको थियो । ओडीआई क्रिकेटको कुरा गर्दा दुई टोलीबीच भएका ५ मध्ये नेपालले ३ तथा क्यानडाले २ खेल जितेको छ ।

आठ टोली सहभागी लिग–२ मा नेपाल अहिले ३२ खेलबाट २४ अंकसहित सातौँ स्थानमा छ । क्यानडाले ३३ खेलबाट २५ अंक जोडेको छ । अर्थात् नेपाल र क्यानडाबीचको अन्तर केवल एक अंक छ । यस्तो अवस्थामा क्यानडाविरुद्धको जितले नेपाललाई तालिकामा माथि उक्लिने अवसर दिने छ । तर, हारले शीर्ष छभित्र लिग २ समाप्त गर्ने लक्ष्यलाई थप कठिन बनाउने छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।