
नेपालगञ्ज । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपालीहरू दशैं–तिहार मनाउन घर फर्किन थालेका छन्।
परदेशको कमाइसँगै चाडपर्वको खुसी बोकेर स्वदेश फर्किने नेपालीका कारण सीमा नाकामा चहलपहल बढेको छ। तर, भारत जानु उनीहरूको रहरभन्दा पनि बाध्यता बनेको छ।
दशैं–तिहार नजिकिएसँगै भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्किने क्रम बढेको छ। बाँकेको जमुना नाकाबाट दैनिक पाँच हजार बढी नेपाली स्वदेश फर्किए रहेका छन्। वर्षभरि परिवारबाट टाढा रहेकाहरू चाडपर्वमा भने आफ्नै घर फर्किएर परिवार र आफन्तसँग खुसी साट्न चाहन्छन्।
लामो समयपछि गाउँको आँगन टेक्ने उत्साह उनीहरूको अनुहारमा प्रस्ट देखिन्छ । रोजगारीका लागि भारत जानुपर्ने बाध्यता धेरै नेपालीको साझा कथा हो।
स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा परिवारको खर्च धान्न भारत जानुपर्ने उनीहरू बताउँछन्। तर, हरेक वर्ष चाडपर्वमा घर फर्किएर फेरि रोजगारीका लागि परदेशिनुपर्ने बाध्यता कहिलेसम्म दोहोरिरहने भन्ने प्रश्न पनि छ। देशमै रोजगारीको अवसर सिर्जना भए परिवारबाट टाढिएर परदेशिनुपर्ने बाध्यता अन्त्य हुने उनीहरूको अपेक्षा छ।
भारतबाट घर फर्किने नेपालीहरूको चाप बढेसँगै सीमावर्ती क्षेत्रका बजार, यातायात र होटल व्यवसायमा समेत आर्थिक गतिविधि बढाउन सहयोग पुर्याएको छ। चाडपर्वको समयमा बढ्ने यस्तो गतिविधिले स्थानीय बजारलाई चलायमान बनाउन सहयोग पुर्याउँछ।
परदेशमा वर्षभरि पसिना बगाए पनि चाडपर्वले नेपालीलाई आफ्नै माटो र परिवारतर्फ फर्काउँछ। दशैं–तिहारमा उनीहरूको गन्तव्य बन्छ- आफ्नो देश, आफ्नै सहर र आफ्नै गाउँ। तर, चाडपर्व मनाएर फेरि परदेश फर्किनुपर्ने बाध्यता अन्त्य गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने चुनौती भने राज्यसामु कायमै छ।