मेसी : पीडाबाट उठेर विश्व फुटबलमा अमर बनेका महानायक

आश्विन २१, २०८३ |खेल ब्युरो
मेसी : पीडाबाट उठेर विश्व फुटबलमा अमर बनेका महानायक

२४ जुन, १९८७ मा अर्जेन्टिनाको रोसारियोमा जन्मिए एक बालक- लियो मेसी।

सानै उमेरदेखि उनको खुट्टामा बल थियो र आँखामा ठूलो सपना।

तर, त्यो सपना सजिलो थिएन।

करिब १० वर्षको उमेरमा मेस्सीलाई ‘ग्रोथ हर्मोन डिफिसिएन्सी-जीएसडी’ भएको पत्ता लाग्यो। उनको शरीरमा वृद्धि हर्मोनको कमी थियो। त्यतिबेला उनको उचाइँ करिब १.२७ मिटर मात्र थियो।

डाक्टरले उपचारका लागि दैनिक कृत्रिम वृद्धि हर्मोनको इन्जेक्सन आवश्यक रहेको बताए। तर, त्यसको खर्च महिनामा करिब ९ सयदेखि १ हजार अमेरिकी डलर।

परिवारका लागि यो ठूलो आर्थिक चुनौती थियो।

बाल्यकालीन क्लब न्युएल्स ओल्ड ब्वाइजले केही सहयोग गर्‍यो। तर, उपचार लामो समयसम्म चलाउन अझै ठूलो सहयोग आवश्यक थियो।

तर, मेसी रोकिएनन्।

किनकि उनको शरीर सानो थियो । तर सपना? त्यो संसारभन्दा पनि ठूलो थियो।

मेसी १३ वर्षको हुँदा उनको प्रतिभाले स्पेनिस क्लब बार्सिलोनाको ध्यान तान्यो। त्यसपछि बार्सिलोनाका निर्देशक कार्लेस रेक्साकले मेसी र उनका बुवासँग भेट गरे। १४ डिसेम्बर २००० मा मेसीलाई क्लबमा भित्र्याउने प्रतिबद्धता गरियो। रोचक कुरा, यो सम्झौता कुनै औपचारिक कागजमा होइन, एउटा साधारण रेस्टुरेन्टको न्यापकिनमा लेखिएको थियो। यही न्यापकिन पछि मेसीको करियर परिवर्तन गर्ने ऐतिहासिक दस्तावेज बन्यो।

बार्सिलोनाले मेसीलाई ला मासिया एकेडेमीमा प्रशिक्षणको अवसर दियो र उनको बाँकी उपचार खर्च पनि क्लबले बेहोर्ने सहमति गर्‍यो। त्यसपछि मेसीको फुटबल यात्रा नयाँ चरणमा प्रवेश गर्‍यो। १६ अक्टोबर २००४ मा उनले स्पानियोलविरुद्ध बार्सिलोनाबाट ला लिगामा डेब्यू गरे। 

त्यसपछि उनी क्लबका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक बने। बार्सिलोनासँगको २१ वर्षे यात्रामा उनले क्लबका लागि सर्वाधिक गोल र असिस्ट गर्ने खेलाडीको रूपमा इतिहास बनाए। क्लब फुटबलमा आफ्नो प्रतिभा प्रमाणित गरिसकेका लियो मेस्सीका लागि अब अर्को ठूलो सपना थियो—अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने। 

१७ अगस्ट २००५ मा हंगेरीविरुद्धको मैत्रीपूर्ण खेलमा १८ वर्षीय मेसीले अन्तर्राष्ट्रिय डेब्यू गरे। उनी खेलको ६३औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। तर, उनको डेब्यू उत्कृष्ट प्रदर्शनका कारण होइन, एउटा अप्रत्याशित घटनाका कारण चर्चित बन्यो। हंगेरीका खेलाडी भिल्मोस भान्चाकमाथि फाउल गरेपछि रेफ्री मार्कुस मर्कले मेस्सीलाई रातो कार्ड देखाए। मैदान प्रवेश गरेको करिब ४७ सेकेन्डमै उनी बाहिरिनुपर्‍यो।

तर, यसले उनको यात्रा रोकिएन। १ मार्च २००६ मा क्रोएसियाविरुद्ध मेसीले अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरे। व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरिरहे पनि अर्जेन्टिनासँग ठूला उपाधि भने आउन सकेनन्। २००७ कोपा अमेरिकाको फाइनलमा ब्राजिलसँग ३–०, २०१४ विश्वकपको फाइनलमा जर्मनीसँग १–० तथा २०१५ र २०१६ कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा अर्जेन्टिना पराजित भयो। 

लगातार चार फाइनलको निराशापछि मेसीमाथि आलोचना बढ्यो। अन्ततः २६ जुन २०१६ मा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरे। लगातारको असफलता र आलोचनाले मेस्सीको अन्तर्राष्ट्रिय करियर नै संकटमा परेको थियो। २०१६ मा सन्यास घोषणा गरेका मेसी केही समयपछि फेरि अर्जेन्टिनाका लागि मैदानमा फर्किन तयार भए। 

२०१८ फिफा विश्वकप छनोटमा उनको पुनरागमन भयो। तर, विश्वकपको यात्रा भने सहज बनेन। २०१८ को विश्वकपमा अर्जेन्टिनाको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन। अन्तिम १६ मा फ्रान्ससँग ४–३ ले पराजित हुँदै अर्जेन्टिना प्रतियोगिताबाट बाहिरियो। लगातारका निराशाजनक नतिजाले मेसीको अन्तर्राष्ट्रिय करियरमाथि फेरि प्रश्न उठ्न थाल्यो।

तर, कथा त्यहीँ सकिएन।

वर्षौंको प्रतीक्षा र पीडापछि २०२१ कोपा अमेरिकामा मेस्सीले अर्जेन्टिनाका लागि पहिलो ठूलो सिनियर अन्तर्राष्ट्रिय उपाधि जिते। फाइनलमा ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिना च्याम्पियन बन्यो।

त्यसपछि २०२२ फाइनलिसिमामा इटालीलाई ३–० ले पराजित गर्दै अर्को उपाधि थपियो।

र, आयो सन् २०२२ कतार विश्वकप।

फाइनलमा फ्रान्सलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन बन्यो। १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकप जित्यो। सात गोल र तीन असिस्टसहित मेस्सीले गोल्डेन बल पाए। उनको यात्रा जारी नै रह्यो । २०२४ कोपा अमेरिका फाइनलमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले फेरि उपाधि जित्यो।

जुन सपना कहिल्यै पूरा हुँदैन जस्तो लागेको थियो । मेस्सीले अन्ततः त्यसलाई आफ्नै हातले पूरा गरे। उपाधि जितेर मात्र होइन, लियो मेसीले अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानमाथि कीर्तिमान पनि बनाए। मेसी ६ वटा विश्वकप खेल्ने खेलाडीमध्ये एक हुन्।

विश्वकपमा उनले ३४ खेल खेलेका छन्, जुन अहिलेसम्मकै सर्वाधिक हो। विश्वकपमा उनको नाममा २१ गोल र १२ असिस्ट छन्। त्यस्तै, विश्वकपमा सर्वाधिक १६ पटक ‘म्यान अफ द म्याच’ बन्ने कीर्तिमान पनि उनकै नाममा छ।

२०१४ र २०२२ मा गोल्डेन बल जित्दै उनी दुईपटक यो अवार्ड जित्ने एकमात्र खेलाडी बने। तीन फरक विश्वकपको फाइनलमा सुरुवाती खेलाडी बन्ने कीर्तिमान पनि उनले बनाए। अर्जेन्टिनाका लागि पनि मेसी सर्वाधिक खेल, गोल र असिस्ट गर्ने खेलाडी हुन् । २ सय ८ खेल, १ सय २६ गोल र ७० असिस्ट।

अन्तर्राष्ट्रिय फुटबलमा ११ ह्याट्रिकसहित उनी सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीमध्ये अग्रस्थानमा छन्। दक्षिण अमेरिकी फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्दै उनले पेलेको कीर्तिमानलाई समेत पछाडि पारे। यी तथ्यांकले एउटा कुरा स्पष्ट गर्छन्- मेसीको कथा केवल उपाधिको होइन, कीर्तिमानले भरिएको एउटा असाधारण यात्रा हो।