चोटले क्रिकेट करियरमा अवरोध गरे पनि सिनियर टिममा स्थान बनाउन सफल कमलसिंह ऐरी

जेष्ठ २, २०८१ |खेल ब्युरो
चोटले क्रिकेट करियरमा अवरोध गरे पनि सिनियर टिममा स्थान बनाउन सफल कमलसिंह ऐरी

काठमाडौं । सुदूरपश्चिम प्रदेश नेपाली क्रिकेटको उर्वर भूमि हो त्यसमा पनि बैतडी जिल्लाले नेपाली क्रिकेटमा धेरै खेलाडी उत्पादन गरेको छ । तीनैमध्ये एक हुन् मध्यम तीव्र गतिका बलर कमलसिंह ऐरी । कलिलो उमेरमै बैतडीको जेएवाईसी क्रिकेट क्लबबाट खेल्न सुरु गरेका कमल आफ्नो मिहिनेत र लगनशीलताका कारण अहिले विश्वकप खेल्ने नेपाली टोलीमा सामेल छन् । कमल विश्वकप खेल्ने टिममा सामेल भए पनि चोटले भने उनको क्रिकेट करियरमा धेरै पटक अवरोध गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा भएको एसीसी अन्डर–१९ एसिया कप २०१७ मा नेपाली टिमले भारतको युवा टोलीविरुद्ध १९ रनको रोमाञ्चक तथा ऐतिहासिक जित दर्ता गर्‍यो । सो खेलमा कमलसिंह ऐरी नेपाली युवा टोलीका महत्त्वपूर्ण सदस्य थिए । यस खेलमा उनले  भारतीय कप्तान हिमान्सु रानालाई ४६ रनमा बोल्ड गर्दै खेल नेपालको पक्षमा मोडे । हिमान्सु सो खेलमा भारतका लागि सर्वाधिक रनकर्ता थिए । त्यसपछि नेपाली क्रिकेट पिरामिडमा उनको चर्चा एकाएक चुलिएको थियो ।

दीपेन्द्र र प्रदीपसिंह ऐरीका भाइ कमलले यी दुवै खेलाडीबाट सुरुवाती क्रिकेट कौशल सिकेका थिए । बैतडीको जेएवाईसी क्लबबाट क्रिकेट खेल्न सुरु गरेका कमल नियन्त्रण र स्विङका लागि परिचित छन् । १० कक्षापछि काठमाडौं आएर एकेडेमी भर्ना भएका उनले अन्डर १९ राष्ट्रिय क्रिकेटमा क्षेत्र नम्बर ६ बैतडीको प्रतिनिधित्व गरे ।

उमेर समूहको घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनले राष्ट्रिय अन्डर १९ टिममा समेत स्थान बनाउन सफल भए । उनी सम्मिलित टिमले २०१७ मा भारतलाई समेत पराजित गरिसकेको छ । त्यसपछि उनले २०२० फेब्रुअरी ९ मा ओमाविरुद्ध टीयू  क्रिकेट मैदानमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरे । उनले नेपालका लागि ३ ओडीआई खेल्दै २ विकेट लिएका छन् । २०२१ को अप्रिल २२ मा टी–२० आई पनि उनले घरेलु मैदानमै मलेसियाविरुद्ध डेब्यु गरे । त्यसको १ वर्षपछि मलेसियाविरुद्ध नै फिल्डिङ गर्ने क्रममा उनको काँधमा चोट लागेपछि उनी लामो समय पिचबाहिरै रहे । कमलले नेपालका लागि १० टी–२० आई खेल्दै १५ विकेट लिएका छन् ।

घरेलु क्रिकेटमा विभागीय टोली एपीएफ क्लबबाट खेल्ने उनी २०७७ सालको प्रधामन्त्री कपमा ६ खेलमा १० विकेट हात पार्दै प्रतियोगिताकै उत्कृष्ट बलर चुनिएका थिए । उनले एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्स र नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सबाट खेलेका छन् । उनी पछिल्लो समय क्यानले घोषणा गरेको नेपाल ए टिमका पनि भरपर्दा सदस्य हुन् । उनले क्यानडा ए, आयरल्यान्ड उल्भस र वेस्टइन्डिज ए विरुद्ध पनि राम्रो प्रदर्शन गरेपछि विश्वकप खेल्ने टिममा छानिएका हुन् । 

ढाड र घुँडाको चोटका कारण उनको क्रिकेट करियरमा केही अवरोध सिर्जना भए पनि आफ्नो फिटनेसमा ध्यान दिँदै कमलले टी–२० विश्वकपमा नेपालका लागि सानदार प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।