संघर्षले खारिएका अनिल साह : विश्वकपमा अब्बल साबित गर्ने अवसर

जेष्ठ १९, २०८१ |खेल ब्युरो
संघर्षले खारिएका अनिल साह : विश्वकपमा अब्बल साबित गर्ने अवसर

काठमाडौं । घरेलु संरचना बलियो भए वा खेलाडीले घेरै म्याच एक्सपोजर पाए कसरी पुनरागमन गर्न सक्छन् भन्ने गतिलो उदारहण हुन्- अनिल साह । अन्तर्राष्ट्रिय डेब्यू गरेपछि लामो समय टिम बाहिर रहेका अनिलले यस सिजनको प्रधानमन्त्री कपमा शानदार प्रदर्शन गरे र राष्ट्रिय टिममा स्थान बनाए । अनिल अहिले नेपालको विश्वकप खेल्ने टिमका महत्वपूर्ण सदस्यसमेत बनेका छन् ।

डेब्यूभन्दा कमब्याक धेरै गाह्रो हुन्छ । क्रिकेट करियरमा यही भोगाइबाट अघि बढेका खेलाडी हुन्- अनिल साह । बाराको कलैयामा जम्मिएका अनिललाई क्रिकेट खेल्न परिवारबाट कुनै रोकतोक थिएन । सानै उमेरदेखि क्रिकेट खेल्न सुरु गरेका अनिल सन् २०१६ मा पहिलो पटक नेपालको यू-१९ टिममा परे । सन् २०१७ को यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग १ सय ३ रनमा अलआउट हुँदा अनिलले भने अर्धशतक प्रहार गरेका थिए । सन् २०१७ को एभरस्ट प्रिमियर लिग ईपीएलमा विराटनगर वारियर्सबाट खेले र च्याम्पियन बने । २०१८ को फेब्रुअरीमा केन्याविरुद्ध लिस्ट ए डेब्यू गरेका अनिलले सोही वर्ष नेदरल्यान्ड्सविरुद्ध नेपालको पहिलो र ऐतिहासिक खेलमा डेब्यूको अवसर पाए ।

सन् २०१८ को प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता एपीएफबाट खेलेका अनिल अर्को सिजन पुलिसमा अनुबन्धित भए । तर पुलिसमा पनि खास अवसर नपाएपछि २०२२ सिजनमा मधेस प्रदेशबाट खेल्न सुरु गरे । सोही वर्ष पपुवा न्यु गिनीको नेपाल भ्रमणका क्रममा फेरि कमब्याक गरे । तर २ खेल खेलेपछि राष्ट्रिय टिममा फर्कन थप २ वर्ष प्रतिक्षा गर्नुपर्‍यो । 

सन् २०२४ को प्रधानमन्त्री कपमा मधेस प्रदेशबाट खेल्दै एक शतक र दुई अर्धशतसहित प्रतियोगिताकै सर्वाधिक ३ सय ८६ रन बनाए । अघिल्ला संस्करणहरुमा प्रधानमन्त्री कपमा सहभागी टिमलाई २ समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गरिन्थ्यो । तर यस पटक भने सिङ्गल राउन्ड रोविनका आधारमा प्रतियोगिता गरिएपछि सबै टिमले लिग चरणमा ९-९ खेल खेल्न पाए । 

प्रतियोगिता लामो हुँदा अनिलले आफ्नो क्षमताको भरपुर उपयोग गरे । यही प्रदर्शनले फेरि २ वर्षपछि अनिलका लागि राष्ट्रिय टिमको ढोका खुल्यो । उनले घरेलु मैदानमा क्यानडाविरुद्ध कमब्याक गर्दै १९ बलमा ५० रन बनाएर नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाए । राष्ट्रिय टिमबाट बाहिर रहादा उनले भारतमै रहेर अभ्यास गरेका थिए ।

अनिलले नेपालका लागी १० ओडीआईमा १ शतक र २ अर्धशतकसहित २ सय ६६ रन बनाउका छन् । टी-२० आईमा भने उनले १ इनिङमात्र ब्याटिङको अवसर पाएका छन् । जहाँ उनले २३ रन बनाएका छन् ।

विकेट किपर अनिल जुनसुकै अडरमा ब्याटिङ गर्न सक्छन् । तर पछिल्लो समय उनले ओपनर वा शीर्ष क्रममा ब्याटिङ गर्दै आएका छन् । विश्वकपमा प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले अनिललाई कसरी प्रयोग गर्छन् भन्न सकिँदैन । तर अवसर पाए अनिलले यस पटक पनि आफूलाई अब्बल प्रमाणित गर्न सक्छन् ।