नेपाली क्रिकेटका सफल ओपनर कुशल भुर्तेल : सानदार प्रदर्शनको अपेक्षा

जेष्ठ १९, २०८१ |खेल ब्युरो
नेपाली क्रिकेटका सफल ओपनर कुशल भुर्तेल : सानदार प्रदर्शनको अपेक्षा

काठमाडौं । नेपाली क्रिकेटका सबैभन्दा सफल ओपनर हुन्- कुशल भुर्तेल । फास्ट बलरका रुपमा स्कुल क्रिकेट खेलेका कुशलले मिडल अर्डरमा समेत ब्याटिङ गरेका छन् । तर ओपनरको रुपमा जस्तो सफलता अरु पोजिसनमा पाउन सकेका छैनन् । कुशलले प्रारम्भिक क्रममा ब्याटिङ गर्न थालेसँगै नेपाली टोली सन्तुलित र बलियो बनेको छ । यो विश्वकपमा कुशलले आफ्ना ओपनर जोडी आसिफ शेखसँग मिलेर राम्रो सुरुवात दिलाए नेपालले जुनसुकै टोलीलाई स्तब्ध पार्न सक्छ ।

तीन वर्ष अघिसम्म ओपनिङ ब्याटिङ नेपाली क्रिकेट टिमको सबैभन्दा ठूलो समस्या हुने गर्थ्यो । प्रशिक्षकहरुले घेरै जोडीलाई ओपनरको रुपमा प्रयोग गरे । यद्यपि सफल ओपनर जोडी भने कसैले बनाउन सकेनन् । तर २०७८ सालको सुरुवातमै तत्कालीन मुख्य प्रशिक्षक डेव ह्वाटमोरले मलेसिया, नेदरल्यान्ड्स र नेपाल सम्मिलित त्रिकोणात्मक टि-ट्वेन्टी सिरिजमा कुशल भुर्तेल र आसिफ शेखलाई डेब्यूको अवसर दिँदै प्रारम्भिक जोडीको रुपमा मैदान उतारे । ह्वाटमोरको यो निर्णयसँगै नेपाली क्रिकेटले इतिहासकै बलियो ओपनिङ जोडी पाएको छ । त्यसयता ओडीआई र टी-२० आईमा पहिलो रोजाईको ओपनिङ जोडी बनेका यी दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै धेरै कीर्तिमान बनाएका छन् ।

बुटवलका कुशल भुर्तेल बाल्यकालमा क्रिकेटभन्दा फुटबल खेल्न रुचाउँथे । तर पछि क्रिकेट खेल्न थालेपछि उनले परिवारबाट राम्रै समर्थन पाए । स्कुल स्तरीय प्रतियोगितामा फास्ट बलरको रुपमा क्रिकेट खेल्ने गरेका कुशल ट्यालेन्टहन्टमार्फत् यू-१६ को बन्द प्रशिक्षणमा आएका थिए । उनी एसीसी यू-१६ प्रतियोगिताका लागि फास्ट बलरकै रुपमा टोलीमा परे । तर प्रतियोगिता सुरु हुनु अघिनै हातमा चोट लागेपछि नेपाल फर्किए । 

सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ प्रतियोगितामा उनले तल्लो क्रमको ब्याटरको रुपमा टिममा स्थान बनाए । त्यसपछि उनी विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध भए । एभरेस्ट प्रिमियर लिगको दुई संस्करणमा उनको प्रदर्शन राम्रै रह्यो । सन् २०१७ मा कक्षा ११ मा पढ्दै गरेका बेला फाइनल परीक्षा नै त्यागेर धनगढी प्रिमियर लिग खेल्ने निर्णय गरे । कुशल २०१८ को पोखरा प्रिमियर कपमा पोखरा पल्टनबाट खेल्दै ओपनरको भूमिकामा देखिए ।

कुशलले सन् २०१९ मा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा भारतविरुद्ध नेपालको सिनियर टोलीबाट लिस्ट 'ए' डेब्यू गरे । सो खेलमा उनी तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसँगै ओपनरको रूपमा पिचमा उत्रिए । त्यही वर्ष अप्रिलमा नेदरल्यान्ड्सविरुद्ध उनले टी-२० आई क्याप जिते । मलेसिया, नेदरल्यान्ड्स र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शन गर्दै ५ खेलमा ४ अर्धशतकसहित सिरिजमै सर्वाधिक २ सय ७८ रन बनाएर नेपाललाई उपाधि दिलाए । 

डेब्यू गरेसँगै सुरुवाती तीन खेलमा लगातार ३ अर्धशतक प्रहार गरेका उनी त्यो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो खेलाडी बने । सोही प्रदर्शनका कारण उनी पाकिस्तानका फखर जमान र बाबर अजामसँगै आईसीसीको महिनाकै उत्कृष्ट खेलाडीको मनोनयनमा परे । उनले २०२१ मा नेपालका लागि ओडीआई डेब्यू गरे । त्यसपछि राष्ट्रिय टिममा नियमित ओपनर छन् ।

उनले नेपालका लागि ५३ टी-२० आई खेलको ४२ इनिङमा १ हजार ८१ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र ८ अर्धशतक प्रहार गरेका छन् । पछिल्लो समय लेग स्पिन बलिङसमेत गर्दै आएका उनले यस प्रारुपमा ८ इनिङमा १० विकेट लिएका छन् । उनले ५१ एकदिवसीय इनिङमा १ शतक र १ अर्धशतकसहित १ हजार २ सय १९ रन बनाएका छन् । उनको नाममा ११ ओडीआई विकेट पनि छ ।

कुशल ब्याटिङ र बलिङसँगै फिल्डिङमा समेत उत्कृष्ट छन् । एक हजार टी-२० आई रन पूरा गर्ने चार नेपाली मध्येका एक खेलाडी कुशल आक्रामक ब्याटिङका लागि परिचित छन् । पछिल्लो सयम खराब लयबाट गुज्रिरहेका कुशलले विश्वकपमा भने आफ्नो नेचुरल गेम खेल्नु आवश्यक छ । विश्वकपमा कुशलको ब्याटिङले नै नेपाली इनिङको आधार तय गर्ने छ ।



Enter Kantipur TV HD
Advertisement