ललित राजवंशी : लेफ्ट आर्म स्पिनको जादु देखाउन तयार

जेष्ठ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
ललित राजवंशी : लेफ्ट आर्म स्पिनको जादु देखाउन तयार

काठमाडौं । स्पिन बलिङ नेपाली क्रिकेट टिमको बलियो पक्ष हो । विगतमा वसन्त रेग्मी र शक्ति गौचन, त्यसअघि सञ्जम रेग्मी र राजकुमार प्रधान सधैं विपक्षीको टाउको दुखाइ बनिरहे । हाल राष्ट्रिय टिमका नियमित सदस्य ललित राजवंशी पनि विश्वस्तरीय स्पिनर हुन् । विराटनगरबाट क्रिकेट करियर थालेका ललित विश्वकपमा आफ्नो लेफ्ट आर्म स्पिनको जादु देखाउन तयार छन् ।

नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलोपटक टी-ट्वेन्टी विश्वकप खेल्दा स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । वसन्त रेग्मी र शक्ति गौचनको प्रदर्शन विश्वभर चर्चाको विषय बन्यो । दोस्रोपटक टी-ट्वेन्टी विश्वकप खेल्दै गर्दा नेपालका लागि त्यो जिम्मेवारी ललित राजवंशीको कााधमा छ ।

क्रिकेट खेल्न परिवारबाट समर्थन नपाएका ललित १२ कक्षासम्म पढ्दा फास्ट बलरका रुपमा टेनिस बलले नै क्रिकेट खेल्थे । तर पछि उनले आफूलाई बायाँहाते स्पिनरका रुपमा रुपान्तरित गरे । २०१३ मा क्षेत्र नम्बर १ विराटनगरबाट क्रिकेट करियर थालेका ललितले राष्ट्रिय स्तरमा आफ्नो पहिलो सहभागितामै चार खेलमा १० विकेट लिए लिएपछि चर्चाको शिखरमा पुगे । त्यसपछि उनले २०१५ मा मलेसियामा भएको एसीसी प्रिमियर कपमा नेपालको अन्डर नाइन्टिन टिममा प्रतिनिधित्व गर्ने अवसर पाए ।

गुल्सन झा : नेपाली क्रिकेट टिमका जोशिला खेलाडी

सोही वर्ष नेपाललाई अन्डर नाइन्टिन विश्वकपको ग्लोबल छनोटको च्याम्पियन बनाउन उल्लेखनीय भूमिका खेलेका ललितले उक्त प्रतियोगितामा तीन खेलमा ६ विकेट लिएका थिए ।

सन् २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटमा ललितले घरेलु टोलीविरुद्ध डेब्यु गरे । लगत्तै नेपाल ऐतिहासिक ओडीआई सिरिजका लागि नेदरल्यान्ड्स भ्रमणमा निस्कियो । सो सिरिजमा टिममा रहे पनि उनले खेल्ने अवसर पाएनन् । उनले २०१९ को जुलाईमा लर्ड्समा नेदरल्यान्ड्सविरुद्ध टी-ट्वेन्टी आईमा डेब्यु गरे । ललितले टी-ट्वेन्टी आईमा नेपालका लागि २१ खेलमा १८ विकेट लिएका छन् ।

टी-ट्वेन्टी विश्वकपमा ललित राजवंशीको प्रदर्शन कस्तो रहला ?

२०१९ फेब्रुअरीमा यूएईविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले एकदिवसीय क्रिकेटमा नेपालका लागि २९ खेलका २५ इनिङ्समा ३७ विकेट लिएका छन् । उनी ओडीआईको एकै खेलका ५ विकेट लिने नेपालका पाँच खेलाडीमध्ये एक हुन् । घरेलु क्रिकेटमा क्षेत्र नम्बर १ विराटनगर र नेपाल पुलिस क्लबबाट खेलिसकेका ललितले एभरेस्ट प्रिमियर लिगमा ललितपुर, पोखरा प्रिमियर लिगमा पोखरा पल्टन्स र नेपाल टी-ट्वेन्टी लिगमा काठमाडौंबाट खेलेका छन् ।

२५ वर्षीय ललितको क्रिकेट करियरमा चोटले नराम्रोसँग असर गरेको छ । गत वर्ष चीनमा सम्पन्न एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षणमा रहँदा चोट लागेपछि उनले एसियन गेम्स गुमाएका थिए । तर नेपाल-हङकङ र यूएईबीचको टी-ट्वेन्टी सिरिजमार्फत कमब्याक गरेका उनी टी-ट्वेन्टी विश्वकपमा आफ्नो स्पिनको क्षमता प्रदर्शन गर्न तयार छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement