नेपालले वेस्ट इन्डिजमा खेल्ने टी-ट्वेन्टी विश्वकपका खेलहरूमा सन्दीप लामिछाने समावेश हुने

जेष्ठ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालले वेस्ट इन्डिजमा खेल्ने टी-ट्वेन्टी विश्वकपका खेलहरूमा सन्दीप लामिछाने समावेश हुने

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकप खेल्ने भएका छन् । विश्वकपअन्तर्गत नेपालले वेस्ट इन्डिजमा खेल्ने खेलहरूमा उनी समावेश हुने भएका छन् ।

नेपाल क्रिकेट संघ- क्यानले आज एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई वेस्ट इन्डिजमा हुने खेलहरूका लागी टिममा सामेल गरिएको  जानकारी दिएको हो ।

जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान गरेको र राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले उल्लेख छ । क्यानले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको र सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरिएको क्यानले बताएको छ । 

सन्दीप लामिछाने मे १६ देखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ । 

गेठ २ गते उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई जबरजस्ती करणी मुद्दामा सन्दीपलाई सफाइ दिएको थियो । त्यसपछि क्यानले उनी माथिको निलम्बन फुकुवा गर्दै विश्वकप खेल्ने टिममा सामेल गरे पनि अमेरिकाले भिसा दिन मानेको थिएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.