विश्वकपमा सोमपालको प्रदर्शन कस्तो रहला ?

जेष्ठ १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्वकपमा सोमपालको प्रदर्शन कस्तो रहला ?

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमबाट दुईपटक विश्वकप खेल्न पाउने एकमात्र भागयमानी खेलाडी हुन्- सोमपाल कामी । सन् २०१४ मा नेपालले पहिलोपटक खेल्दाका एक सदस्य सोमपालले यसपालि पनि राष्ट्रिय टिमबाट विश्वकप खेल्दै छन् । आफूलाई निरन्तर फिट राख्न सफल सोमपाल टिमका मेरुदण्ड नै मानिन्छन् ।

भारतको पन्जाबमा परिवारसँगै बाल्यकाल बिताएका सोमपालले क्रिकेट खेल्न त्यहीँ सिके । स्कुलमा भएका प्रतियोगितामा उनी उत्साहका साथ सहभागी हुन्थे । इन्डियन प्रिमियर करर्पोरेट लिग खेलेपछि मात्रै उनले आफ्नो क्षमताको पहिचान गरे ।

नेपाल फर्किएपछि उनको एउटै लक्ष्य थियो- क्रिकेट खेल्ने । काठमाडौं क्षेत्र नम्बर ३ बाट अन्डर नाइन्टिन राष्ट्रिय प्रतियोगिता खेले । उनले दुई शतक प्रहार गर्दै प्रतियोगिताको रेकर्ड तोडेका थिए । बलिङमा पनि उनको कौशल उत्कृष्ट थियो । त्यतिबेला नेपाली टिमको प्रशिक्षक थिए पुबुदु दासानायके । उनैले सोमपाललाई राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाए ।

सन् २०१३ मा ‘जर्नी टू विश्वकप’ नामक प्रतियोगिता भयो । त्यो प्रतियोगिताको चार खेलमा १० विकेट लिँदा सोमपाल सबैभन्दा उत्कृष्ट बलर बने । ब्याटिङमा आफूलाई निखारिरहेका सोमपाल त्यही प्रतियोगिताबाट बलरका रुपमा चिनिएका हुन् । पुबुदुले उनलाई २०१४ को विश्वकप खेल्ने टिममा समावेश गरे । सन् २०१४ मा मलेसियाविरुद्ध एकै खेलमा पाँच विकेट लिएर चर्चा कमाएका उनले त्यसयता सधैं एकनासे स्तरीय प्रदर्शन गर्दै आइरहेका छन् ।

१० नम्बरमा क्रिजमा आएर सबैभन्दा धेरै रन बनाउने विश्व रेकर्ड सोमपालले बनाएका थिए । दशकअघि उनले कोलम्बोमा हङकङविरुद्ध ४० रन प्रहार गरे । आठ वर्ष कायम रहेको त्यो रेकर्ड अहिले तोडिए पनि रेकर्ड तालिकामा उनी तेस्रो नम्बरमा कायमै छन् ।

विनिङपेज हक क्लबबाट ग्लोबल क्यानडा लिग खेलेका उनले मराठा अरेबियन्सबाट अधुधाबी टी-टेन लिग पनि खेलेका छन् । नेपालले सन् २०१८ मा नेदरल्यान्ड्सँग खेलेर एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दाका सदस्य हुन् सोमपाल । उनले ५४ एक दिवसीयमा ७१ विकेट लिएका छन् । एक दिवसीयको तुलानामा २० ओभर क्रिकेटमा उनको प्रदर्शन केही कमजोर छ । उनले ६५ टी-ट्वेन्टीमा ५८ विकेट आफ्नो नाममा गरिसकेका छन् ।

टी ट्वेन्टी आईको एकै इनिङ्‌समा चार ओभरमा तीन विकेट लिएर २० रन मात्र प्रदान गर्नु उनको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । नेपालका लागि अहिलेसम्म ३१५ रन बनाइसकेका सोमपाल टिमलाई अत्यावश्यक पर्दा शीर्षक्रममै ब्याटिङ गर्न सक्ने खेलाडी हुन् ।

विपक्षी टिमका सबैभन्दा उत्कृष्ट ब्याटरविरुद्ध पावर प्लेमा बलिङ गर्नु र खेलमा दबाब बनाउनु खेलको महत्त्वपूर्ण पक्ष हो । नेपाली टिमको फास्ट बलरका हिसाबले यो जिम्मेवारी सोमपाललाई छ । १० वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव लिएका सोमपालको विश्वकप खेल नेपालका लागि ऐतिहासिक बन्ने पक्का छ ।

यो पनि...

कठिन अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै आएका करणले विश्वकपमा कस्तो चमत्कार देखाउलान् ?

अविनाश बोहोराको बलिङ जादु, पूरा होला विश्वकपमा सुपर एटसम्म पुग्ने नेपालको लक्ष्य ?

गुल्सन झा : नेपाली क्रिकेट टिमका जोशिला खेलाडी

ललित राजवंशी : लेफ्ट आर्म स्पिनको जादु देखाउन तयार

प्रतिश जीसी : ट्यालेन्ट हन्टबाट विश्वकप यात्रासम्म

आसिफ सेख : विश्वकपमा उत्कृष्ट प्रदर्शनको जिम्मेवारी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement