अविनाश बोहोराको बलिङ जादु, पूरा होला विश्वकपमा सुपर एटसम्म पुग्ने नेपालको लक्ष्य ?

जेष्ठ १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
अविनाश बोहोराको बलिङ जादु, पूरा होला विश्वकपमा सुपर एटसम्म पुग्ने नेपालको लक्ष्य ?

काठमाडौं । विशेषगरी सीमित ओभरको क्रिकेटमा डेथओभर बलिङलाई चुनौतीपूर्ण मानिन्छ । बलिङमा विविधता र गतिमा मिश्रण नभए डेथओभरमा बलरहरु निकै खर्चिला साबित हुन्छन् । तर नेपाली राष्ट्रिय क्रिकेट टिमका मिडियम पेसर अविनाश बोहोराको पहिचान भने डेथओभर बलिङसँगै जोडिएको छ । विश्वकप खेल्न अहिले अमेरिकामा रहेका योर्कर किङका नामले परिचित अविनाश नेपालका डेथओभर स्पेसलिस्ट बलर हुन् ।

कुनै समय भारतीय सेनाको गोर्खा रेजिमेन्टमा भर्ना हुने सपना देखेका अविनाश अहिले टी-ट्वेन्टी क्रिकेटमा नेपाली राष्ट्रिय टिमका नियमित सदस्य छन् । पुर्ख्यौली घर दाङ भएका अविनाशका बुबाआमा रोजगारीका लागि भारतको सिमलामा हुँदा उनी त्यही जन्मिएका थिए । गोर्खा रेजिमेन्टमा भर्ती हुन प्रयास गरेका अविनाशको भाग्यमा हतियारका रुपमा बल र ब्याट लेखिएको थियो भने रणभूमिका रुपमा क्रिकेट मैदान ।

अविनाश २०७० सालमा नागरिकता बनाउन भारतबाट दाङ आए । त्यसबेला नेपालगन्जमा एउटा क्षेत्रीयस्तरको क्रिकेट प्रतियोगिता भइरहेको थियो । उनी त्यो प्रतियोगितामा सहभागी भएपछि भारत फर्किएनन् ।

भारतमा छँदा टेनिस बलले क्रिकेट खेल्ने अविनाशले नेपाल आएपछि पहिलोपटक ड्युज बलबाट खेले । नेपालगन्जमा प्रशिक्षक दीपेन्द्रप्रताप सिंहबाट प्रशिक्षित हुने अवसर पाए । २०७१ सालमा नेपालको यू-१९ को बन्द प्रशिक्षणमा परे ।

अविनाशले पहिलो संस्करणको एभरेस्ट प्रिमियर लिगमा काठमाडौं गोर्खाजबाट खेले । जहाँ उनले शरद भेषावाकर, पृथु बास्कोटा, आसिफ सेख र दीपेन्द्रसिंह ऐरीजस्ता स्थापित क्रिकेटरलाई आउट गरे । त्यही वर्ष तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रका सात सहरमा आयोजित सातौं राष्ट्रिय खेलकुदका लागि एपीएफ क्लबमा अनुबन्धित भए ।

घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेपछि सन् २०१९, यूएईको नेपाल भ्रमणका क्रममा उनले टी-ट्वेन्टी आई क्यापसमेत जिते । तीन खेलको सिरिजमा ६ विकेट लिएर नेपाललाई सिरिज २-१ ले जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि उनको चर्चा चुलियो ।

सन् २०२० मा आईसीसी विश्वकप लिग-टूअन्तर्गत उनले ओमानविरुद्ध ओडीआई डेब्यू गरे । नेपाल टी-ट्वेन्टी लिगको पहिलो संस्करणमा काठमाडौं नाइट्सबाट खेलेका उनले ११ इनिङमा १९ विकेट लिँदै प्रतियोगितामै सर्वाधिक विकेट लिन सफल भए । गत वर्ष एसियाली खेलकुदमा माल्दिभ्सविरुद्ध अविनाशले ३ ओभर ४ बलमा ११ रन खर्च गरेर ६ विकेट लिए । जुन टी-ट्वेन्टी आईमा नेपाली बलरले गरेको उत्कृष्ट प्रदर्शन हो ।

अविनाशले नेपालका लागि ५९ टी-ट्वेन्टी खेलको ५६ इनिङमा ७४ विकेट लिएका छन् । उनी यस प्रारूपमा नेपालका लागि सर्वाधिक विकेट लिने तेस्रो बलर हुन् । उनले दुई ओडीआई पनि खेलेका छन् ।

ओडीआईभन्दा टी-ट्वेन्टीमा क्रिकेटमा प्रभाव जमाउन सफल अविनाशको पहिचान डेथओभर बलिङसँगै जोडिएको छ । योर्कर किङका नामले परिचित अविनाश नेपालका डेथओभर स्पेसलिस्ट बलर हुन् । डेथओभरमै बलिङ गर्नुपर्ने चुनौतीबीच उनी कहिलेकाहीँ आलोचितसमेत हुन्छन् । यो विश्वकपमा सुपर आठसम्म पुग्ने नेपालको लक्ष्यलाई पूरा गर्न अविनाशको बलिङ महत्त्वपूर्ण हुनेछ ।

यो पनि...

गुल्सन झा : नेपाली क्रिकेट टिमका जोशिला खेलाडी

ललित राजवंशी : लेफ्ट आर्म स्पिनको जादु देखाउन तयार

प्रतिश जीसी : ट्यालेन्ट हन्टबाट विश्वकप यात्रासम्म

आसिफ सेख : विश्वकपमा उत्कृष्ट प्रदर्शनको जिम्मेवारी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement