दशैँमा सल्यानी खुकुरीको माग बढ्यो, कालिगढको अभाव

आश्विन २६, २०८३ |सरिता चलाउने
दशैँमा सल्यानी खुकुरीको माग बढ्यो, कालिगढको अभाव

सल्यान । सल्यान जिल्लाको पहिचानसँग जोडिएको खुकुरीको माग दशैँ नजिकिएसँगै बढेको छ । 

त्यसैले खुकुरी बनाउने कालिगढहरूलाई यतिखेर भ्याइनभ्याइ छ । आफन्तलाई उपहार दिनेदेखि विदेशमा रहेका परिवारजनलाई चिनो पठाउनेसम्मका लागि खुकुरीको माग हुने गरेको छ । तर, मागअनुसार उत्पादन गर्न भने कालिगढहरूलाई हम्मेहम्मे छ । 

सीप सिक्ने नयाँ पुस्ताको चासो घट्दा खुकुरी बनाउने जनशक्ति कम हुँदै गएको हो । आगोको रापले पग्लिएको फलाममाथि लगातार परिरहेको हथौडाको चोट, यही चोटसँगै आकार लिन्छ, सल्यानको पहिचान बनेको सल्यानी खुकुरीले । 

शारदा नगरपालिका १५ स्यालपानीका इन्द्रबाबु थापा बिक दशैंका लागि खुकुरी बनाउन व्यस्त छन् । उसो त उनी बाह्रै महिना खुकुरी बनाउँछन् तर दशैँमा माग बढ्दा खुकुरी पुर्याउनै मुस्किल छ । उनले बनाएका खुकुरी विदेशसम्म पुग्ने गरेका छन् ।

शारदा नगरपालिका २ विश्वकर्मा टोलका राजु बिक पनि दशैँकै लागि खुकुरी बनाउन व्यस्त छन् । उनले बनाएका खुकुरी पनि देश–विदेशमा बिक्री हुन्छन् । अरू अवसरमा उपहारका रूपमा समेत सल्यानी खुकुरीको राम्रो माग छ । 

सल्यान आइपुगेका आगन्तुकलाई चिनो दिन होस् वा विदेशमा रहेका आफन्तलाई आफ्नो ठाउँको सम्झना पठाउन खुकुरी पहिलो रोजाइमा पर्छ ।

माग बढे पनि सल्यानी खुकुरी उत्पादन गर्ने हात भने त्यसअनुसार बढेका छैनन् । केही वर्षअघिसम्म सल्यानका गाउँगाउँमा आरनमा खुकुरी बनाइरहेको देखिन्थ्यो । अहिले भने आरन र कालिगढ दुवै घट्दैछन् । पुस्तैनी सीप अब नयाँ पुस्तामा हस्तान्तरण गर्न कठिन हुँदै गएको छ । 

विश्वकर्मा टोल अहिले तीन परिवारले मात्र यो पेसालाई निरन्तरता दिएका छन् । युवाको आकर्षण बढ्न नसक्दा यो पेसा सङ्कटमा पर्नसक्ने देखिएको छ ।

जिल्लामा सल्यानी, सिरुपाते, बास्पाते, बुदुने, माछे खुकुरी, हवल्दारलगायका खुकरी बन्ने गरेका छन् । खुकुरी बनाउने काममा लागेकाहरूले राम्रो आम्दानी गरिरहेको भए पनि अहिलेको चुनौती भने माग धान्न सक्ने जनशक्ति तयार गर्नु हो । कालिगढहरूले सरकारी निकायबाट सहयोग पनि पाइरहेका छन् तर नयाँ पुस्ता यसमा रमाउन सकेको छैन ।

सल्यानको चिनोका रूपमा देश-विदेशसम्म पुगिरहेको सल्यानी खुकुरीको बजार विस्तार हुँदैछ । तर, यसको माग धान्ने कालिगढको सङ्ख्या घट्दै गएको छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।