
बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीले मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड जोड्ने मालढुङ्गास्थित मोटरेवल पुलमा क्षति पुगेपछि सडक सम्पर्कबाटै वञ्चित बनेको बागलुङमा १५ दिनपछि सवारी आवागमन सुरु भएको छ।
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्गको उक्त पुलको भाग कटान गरी क्षति पुराउँदा बागलुङसँगै पश्चिम नेपालका रुकुम हुँदै जाजरकोटसम्म आउजाउ गर्ने सवारीको आवागमन ठप्प बनेको थियो।
नदीले पुलमा पर्वततर्फको भागमा पुलसँगै जोडिएको करिब २२ मिटर लम्बाइ र ८ मिटर उचाइको फिलिङ वालमा गहिरो कटान गरेको थियो। जसकारण सिँगो बागलुङसहित यो राजमार्गसँग जोडिएका अन्य जिल्लाको सवारी आवागमन प्रभावित बनेको थियो।
चाडबाडको समयमा प्रभावित जनजीवनलाई मध्यनजर गरी नदीको बहावलाई परिवर्तन गरी ग्यावियन जाली र माटो भरेर अवरुद्ध सडकलाई अस्थायी रुपमा भए पनि सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ। कार्यालयका अनुसार दैनिक रुपमा सिफ्ट बनाएर २४ घन्टा नै काम गरेर सडक सञ्चालनमा ल्याइएको हो ।
पुलमा आवातजावत ठप्प हुँदा १५ दिनदेखि मध्यपहाडी लोकमार्ग हुँदै पूर्व र पश्चिम यात्रा गर्ने सवारी आवागमन ठप्प बनेको थियो। अब सडक सञ्चालनमा आएसँगै यो लोकमार्ग हुँदै दशैँ मनाउन आउजाउ गर्नेहरुलाई सहज भएको छ। स्थानीयको जनजीवन पनि सहज बनेको छ।