टफटकमा सुरेन्द्र पाण्डे : जलहरी, रेशम, नागरिकता विधेयक र बजेटबारे एमालेको लाइन के हो ?

जेष्ठ १७, २०८०
टफटकमा सुरेन्द्र पाण्डे : जलहरी, रेशम, नागरिकता विधेयक र बजेटबारे एमालेको लाइन के हो ?

काठमाडौं । पछिल्लो समय नेपालको राजनीतिक बजारमा केही विषयहरु ‘हटकेक’ बनेका छन् ।

भर्खरै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक सम्कबन्धी विधेयक प्रमाणीकरण गरेपछि विभिन्न दलका फरक–फरक प्रतिक्रिया आएका छन् ।

यसैसाता राष्ट्रपतिले गरेको अर्को निर्णय, रेशम चौधरीको आममाफी पनि विवादमा तानिएको छ ।

पशुपतिनाथ मन्दिरको शवलिङ्गमा लगाइएको सुनको जलहरीमा घोटाला भएको विषयले संसदमा दुई दिन हंगामा भयो र एमाले तरंगित बन्यो ।

यसका साथै सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटबारे जनस्तरसम्म चर्को बहस भइरहेको छ ।

बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका छन्, जसलाई प्रतिपक्षी नेकपा एमालेले नियालिरहेको अवस्था छ ।

यिनै समसामयिक विषयमा कुरा गर्न आज हामीले कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम टफटकमा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई निम्त्याएका छौं ।

नयाँ आर्थिक वर्षको बजेटकै सन्दर्भबाट कुराकानी सुरु गरौं । अर्थमन्त्री प्रकाशशरण महतले सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभयो । पूर्वअर्थमन्त्रीका नाताले तपाईंलाई चाहिँ बजेट कस्तो लाग्यो ? कसरी बुझ्नुहुन्छ ?

त्यसैपनि बजेट ‘पोलिटिकल इकोनोमिक डकुमेन्ट’ हो । यसले राजनीति पनि बोक्छ र अर्थशास्त्र पनि बोक्छ । दुईवटा कुरा नै छ यो भित्र । यसलाई अलग अलग छुट्याएर हेर्न मिल्दैन । दोस्रो कुरा जस्तो परिस्थितिमा यो बजेट आएको छ त्यो परिस्थिति बोक्यो कि बोकेन ? तेस्रो के छ त भने– १७ खर्ब ५१ अर्बको आकारको बजेट आयो । यो बजेटलाई ब्याकअप गर्ने अहिलेको परिस्थिति छ कि छैन भनेर मैले हेरेँ ।

त्यो हेर्दा कस्तो देखेँ भने– यस वर्षको तस्बिर बताएपछि अर्को वर्षको प्रकाश ठीक छ कि छैन भनेर हेर्न मिल्छ । यस वर्षको तस्बिर के छ भने– हामीले १७ खर्ब ९३ अर्बको बटेज ल्याएका थियौं गत वर्ष । त्यो त्यसबैलै धेरै मानिसले सम्भव नै छैन भनेका थिए । त्यसबेलाका अर्थमन्त्रीले धेरै जोड गरेर म गरेरै छोड्छु भन्नुभएको यियो । दश महिनामा दुई महिना चाहिँ बर्खा र विदा हो १० महिनामा १० प्रतिशतका दरले पुँजीगत खर्च गर्छु र सबै पुँजीगत खर्चचाहिँ तोकेको गरी भ्याउँछु भन्ने थियो ।

त्यसलाई पछि के भयो भने– मध्यावधी समीक्षा गर्दा साढे १५ खर्बमा झारियो । अहिले अर्थमन्त्रीले १५ खर्ब ५ अर्बमा झार्नुभएको छ । तर यो पैसा ‘फाइनल्ली’ खर्च भइसकेपछि कहिले आउँछ भने साउनको अन्तिममा वा भदौको पहिलो हप्ता मात्र अन्तिम खर्चको किस्ता सरकारी खातामा आइपुग्छ । त्यो बेलामा पनि यो १५ खर्ब ५ अर्ब छ त्यो पनि हुन्छ जस्तो लाग्दैन । यस्तो बेलामा उहाँले फेरि साढे १७ खर्बको बजेट ल्याउनु भएको छ त्यो आकारको हिसाबले सम्भव मैले देख्दिनँ । साइज नै ठूलो ल्याउनु भयो ।

यो सरकारले यो पटक पनि आन्तरिक राजस्व.. उठाउन सक्दैन । उसले जति बजेट कबुल गरेको छ त्यो बजेट जुटाउनै सक्दैन ?

म यसको कारण बताउँछु । यो १५ खर्बमा जाँदाखेरी अहिलेको पछिल्लो तथ्यांक हेर्नुभयो भने हिजोसम्मको डाटा हेर्नुहुन्छ भने हामीले आठ खर्बमात्र राजस्व उठाएका छौं । पछिल्लो वर्षकोभन्दा ९–१० प्रतिशतले कम हुने अवस्था छ । वार्षिक लक्ष्यका रुपमा २५ प्रतिशतभन्दा बढी पुग्दैन भन्नुभएको छ तर उहाँले अहिले पनि ११ खर्ब ८९ अर्ब उठाउछु यो आसारसम्म भन्नुभएको छ । जबकी अहिलेसम्म जम्मा आठ खर्ब उठेको छ । अब बाँकी समय डेढ महिना छ । यो अवधिमा उहाँले झन्डै चार खर्ब उठाउँछु भन्नुभएको छ । जुन कुरा सम्भवै छैन । अब बढी भएदेखि उहाँले १० खर्ब उठाउनु होला । र उहाँको लक्ष्य अहिले नै यो असारमा ११ खर्ब ८९ अर्ब उठाउछु भन्नु भएको छ । त्यो दुई खर्ब त अहिले नै ‘डिफिसिट’ हुने देखिन्छ । उहाँले भनेको भन्दा पनि तल झर्छ ।

उहाँ एक्लैले त भनको होइन । यो त राज्य संयन्त्रले भनको हो । विभिन्न मन्त्रालयले, निकाय, मातहतका अरु धेरै कार्यालयहरुबाट आएको निचोडका आधारमा अर्थमन्त्रीले राखेको होला नि कुरा ?

मैले पनि अर्थमन्त्रालयकै स्रोतबाट भनेको छु । म हावा कुरा किन गर्दिनँ भने– म आफैँ अर्थमन्त्री भएको मान्छे । तपाईं भन्नुस् न डेढ महिना बाँकी छ सामान्यत हाम्रो चाहिँ के छ भने– एक महिनामा दुई खर्बभन्दा बढी राजस्व उठ्ला ? उठ्दैन । यसै पनि तपाईं अनुमान गर्नु न । चार खर्ब कसरी उठाउनु हुन्छ ?

अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक छन् । यसमा संवेदनशीलता देखाउँदै अहिले ‘प्रोग्रेसिभ’ केही सोच्नुपथ्र्यो त्यो चाहिँ हामीले सम्बोधन गर्न सकेनौं । समाधानतर्फ छैन भन्दै हुनुहुन्छ ?

यसको कठिनाइ अझै म बताउछु । आगामी वर्ष राजस्वमा २० प्रतिशत बढाउछु भन्नु्भएको छ । अहिले ११ खर्ब ८० अर्ब उठ्छ साढे १२ खर्ब अर्को वर्ष उठाउँछु भन्नुभएको छ । वास्तवमा चाहिँ के हो भने– तल दिने पैसा जोडेर गर्नुहुन्छ भने १४ खर्ब २२ अर्ब चाहिन्छ । तल जानेसहित जोडेर हो त्यो । तल जानेसहित पैसा उठाउँदा संघले कति उठाउनुपर्छ भने १४ खर्ब २२ अर्ब । अहिलेभन्दा ४० प्रतिशत ‘ग्रोथ’मा जानुपर्छ । आज पर्यन्त कहिले पनि ४० त कुनै बेला पनि बढेको छैन । २० प्रतिशतको लक्ष्य राखेर ४० प्रतिशत ग्रोथ गर्नुपर्ने अवस्था सम्भव होला ?

 यो अवस्थामा तपाईं आफैँ अर्थमन्त्री भएको भए कस्तो बजेट बनाउनुहुन्थ्यो ?

म त्यहाँ भएको थिएँ भने– १६ खर्बभन्दा ठूलो आकारको बजेट ल्याउने थिइनँ । आकार घट्ने बित्तिकै के भयो भने राजस्वको लक्ष्य घट्छ । विदेशबाट आउने ऋण र अनुदान चाहिँ २० प्रतिशत पनि प्राप्त छैन यो वर्ष । बजेटमा उल्लेखित गरेको लक्ष्य जस्तो भन्नुस्– साढे ५५ अर्ब यो वर्ष चाहिँ अनुदान आउँछ भनेर लक्ष्य राखेको छ । हाम्रो ‘डे टू डे’ डाटा पाप्त हुन्छ । चार खर्ब ८० करोड मात्र आएको छ । जम्म ८ दशमलव ६६ प्रतिशत मात्र आएको छ, अहिलेसम्म । अहिले फेरि ५० अर्ब ल्याउँछु भन्नुभएको छ । भनेपछि त्यो कसरी प्राप्त हुन्छ । यसवर्ष मात्रै हामीले तीन खर्ब सात अर्ब हामीले ऋणको सावा ब्याज भुक्तानीमा मात्र जानुपरेको अवस्था छ । यो फेरि हरेक वर्ष अब बढ्नेवाला छ ।

तपाईंहरुको सरकारको पालमा त प्रतिस्पर्धा गरेरै ऋण लिनुभयो नि ?

हामीलाई त्यसबेला किन आवश्यक थियो भन्दा भुकम्प गएको थियो । पुनर्निर्माण गर्नु पर्ने थियो । भुकम्पका बेला घर निर्माण गर्नका लागि पैसा दिनुपर्ने अवस्था थियो र त्यो बेलामा ऋण दिने कुरालाई त्यो बेलामा अलिकति आर्थिक वृद्धि उच्चदरमा गरए । यसको आलोचना पनि भएको थियो । तर त्यसबेलाको एउटा आवश्यकता थियो । अहिले त हामीसँग कोभिड आयो, इन्टरनेसनल क्राइसिस छ ।

आन्तरिक राजस्व उठ्दैन त्यसपछि विदेशी अनुदान आइरहेको छैन भने देश कतातिर गइरहेको छ ? चालुखर्च यति धेरै छ पुँजी त छँदै छैन हामीसँग ? विकासका नाममा त केही पनि छैन ।

हैन हैन । फेरि हाम्रो कस्तो अवस्था छ भन्दा– विदेशी दाताले दिने पैसाको कमी भएको हैन । उनीहरुले पनि दिन्छु भनिरहेका छन् । अहिले नै ५०० अर्बभन्दा बढी स्टान्डबाइ छन् उनीहरु पैसा दिनका लागि । यो हाम्रो खर्च गर्ने क्षमतामा एमदमै ह्राृस आएको छ । त्यो भनेको अस्त व्यस्त लथालिङ्ग सारा सरकार र संरचना ‘फङसनलेस’ भएको कुरा हो नि त यो त ।

तपाईंलाई यो बजेटको साह्रै चित्त नबुझेको नकारात्मक कुरा र चित्त बुझेको कुराको लिस्ट भन्न सक्नुहुन्छ ?

म भन्छु । केही सकारात्मक कुरा यो बजेटले नगरेको होइन । जस्तो मेले एउटा देखेको मध्ये सबैभन्दा सकारात्मक कुरा कार्यान्वयन भयो भने नेपाल सरकारका कुनै पनि गाडी प्राप्त गर्ने अधिकारीहरुलाई गाडी नदिने, त्यसको बापत पैसा दिने । एकमुस्ट पैसामा तेल पनि समावेश हुन्छ । यो कुराले के प्रभाव पार्छ भने हाम्रो एउटा ठूलो पैसा चाहिँ सरकारी खरिदमा गाडी र ममर्मत खर्च त्यसपछि ड्राइभर चाहियो यो जति पनि खर्च छ यो विकसित मुलुकमा पनि रोकेको पाइन्छ । यस्तै अनुभवबाट उनीहरुले यस्ता नियम बनाएका हुन् ।

डिजिटल प्रविधिलाई प्रयोग गरेर हाम्रो एडमिनिटे«सनको सुधारमा लाग्छु, त्यो चिजचाहिँ प्रयोग गरेर सहज बनाउँछु व्यवसाय गर्ने वा गर्न चाहाने मानिसलाई सहजता प्रदान गर्छु भन्ने कुरा आएको छ यो सकारात्मक छ ।

अब अलिकति अहिले चर्चामा रहेको विषयमा कुरा गरौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा राज्य सञ्चालकबाटै भएको देखिएको छ । तपाइले कसरी हेर्नु भएको छ यो घटनालाई ?

यो ज्यादै दुख लाग्दो कुरा हो । मचाहिँ भन्छु यो राष्ट्रिय बेइजती हो ।

‘चम्चीमा पानी तताएर मर’ भन्छन् नि यस्तै हुनुपर्ने होइन र राजनीतिज्ञलाई ?

तपाईं के गर्नुहुन्छ ? तपाईंको परिवारको सदस्यले कुनै नचाहिदो काम ग¥यो भने ? तपाईं इनारमा हामा फाल्ने हो र ? मलाई व्यक्तिगतरुपमा भन्नुहुन्छ भने यो गलत कुरा हो । पार्टीको बैठकमा कुरा उठ्यो । हामीले टोपबहादुरजीलाई निलम्ब ग¥यौं । केही ढिला त भयो ।

एमालेसंगै जोडिएको अर्को घटना । २०७७ माघमा पशुपतिको दर्शन गर्न गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली १ सय ८ किलोको सुनको जलहरी राख्न निर्देशन दिए । सोही बमोजिम राखिएको जलहरीमा अहिले ११ किलो पित्तल भएको भन्दै अनुसन्धान गर्न संसदमा प्रश्न उठदा एमालेले उल्टै संसद अवरुद्ध गर्नु पर्ने किन रहेछ ? कि एमालेका नेता विरुद्ध अनुसन्धान गर्नै हुँदैन ?

म तपाईंले भनेको कुरामा के सहमत छु भने सदन भनेको बहस गर्ने ठाउँ हो । सदनमा बहस गरेको आधारमा कुनै कुरा प्रमाणित हुने र अप्रमाणित हुने दुवै हुँदैन । प्रमाणित र अप्रमाणित गर्ने कुरा प्रक्रिया अर्कै छ । सदमा कसैले खायो भन्ने बित्तिकै खाएको प्रमाणित हुँदैन । यसमा धेरै चिन्ता गर्नुेपर्ने विषय म पनि ठान्दिनँ ।

होइन, एमाले आफना नेतामाथि लागेका कुनै पनि आरोप स्वीकार गर्न तयार छैन नि । कोरोनामा स्वास्थ्य सामान खरिदमा तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि उठेको प्रश्न, गोकुल बास्कोटामाथि सेक्युरिटी प्रिन्ट खरिदमा कमिसन मागेको आरोप लाग्यो, शरणार्थी मुद्दामा आफ्ना नेता मुछिएपछि निर्दोष पर्ला भन्दै अनुसन्धान प्रभावित पार्न खाजेको आरोप लाग्यो । यस घटनामा पार्टीको अभिव्यक्ति अलि फरक हुनु पथ्र्यो कि ? उनीहरुलाई बचाउने अभिव्यक्ति भयो भनेर सर्वजनिकरुपमा टिप्पणी भएको कुरा हो । यसले राजनीतिमा फरक पार्छ नि होइन र ?

निश्चितरुपमा नोक्सान गर्छ । किन नोक्सान गर्छ भने– राम्रालाई पनि उसले नराम्रा देख्न थाल्छ । नराम्रालाई त उसले यसै नराम्रो देखेको छ ।

रेशम चौधरीको रिहाइलाई नेकपा एमालेले कसरी लिएको छ ?

म व्यक्तिगतरुपमा कसरी हेर्छु भने पछिल्लो समय खासगरी माओवादी जनयुद्धदेखि अपराधलाई सामान्य बनाउने राजनीतिक आवरणमा काम भयो । मान्छे मारिदियो, राजनीतिक कारणका लागि मान्छे मारेको हो राजनीतिक उपलब्धीका लागि यो केही होइन सामान्य बनाइदै लगियो ।

अन्त्यमा, अघिल्लो सदनले प्रकाणीकरणका लागि दुई पटक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाए राकेर राखिएको नागरिकता विधेयक अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभयो आज । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुभयो । यो संयोगमात्र हो ? कि केही कारण छ ?

यो जे भए पनि राम्रो भएन । यो प्रमाणीकरण र प्रमाणीकरण गर्ने दिन दुवै राम्रो भएन । हिजो प्रमाणीकरण भएन, त्यो ठीक भयो भएन हामीले नयाँ ढंगले बहस गर्न सक्थ्यौं । एउटा संसद बनाएको कानुन निश्चित अवधिमा पास नहुँदा अर्को संसदले गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा यसै पनि सौद्धान्तिक प्रश्न छ । 

यसअघिका टफटक

टफटकमा हरि बुढामगर : अपाङ्गता भएकालाई सचेत गराउन कानुन उल्टाएर सगरमाथा चढेको हुँ
टफटकमा मन्त्री बस्नेतलाई प्रश्न : लडाकु शिविरको भ्रष्टाचार छानबिन हुन्छ ?
टफटकमा मीनेन्द्र रिजाल : राज्यसत्ताको दुरुपयोग गरेर कसैलाई जोगाउन पाइन्न
टफटकमा लोक चित्रकार : जसले एउटै चित्र २५ वर्षसम्म बनाइरहेका छन् !
टफटकमा अर्थमन्त्री : समयमै मन्त्रीहरु नआउँदा बजेटको गृहकार्य प्रभावित भयो
भारत जान लागेका प्रधानमन्त्री दाहाललाई पी लामाको सुझाव- जलवायु परिवर्तनको असरविरुद्धको लडाइँको नेतृत्व लिनू
टफटकमा क्रिकेट क्षेत्रका तीन हस्ती : आगामी चार वर्षको यात्रा कस्तो होला ?
टफटकमा तीन उद्योगपतिलाई प्रश्न- तपाईंलाई किन जिताउने ?
टफटकमा अर्थतन्त्रको बहस : ‘गणतन्त्र आएपछि १५ वर्षमा १७ वटा सरकार फेरिए’
टफटकमा उपेन्द्र यादव : खास गठबन्धन चार दलको हो, संसदले अब नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउँछ
नयाँ मन्त्रीको नौलो अनुभव : सिंहदरबार ‘सिम्पल’ रहेछ (टफटक)
प्रधानमन्त्री दाहाललाई सुशीला कार्कीको प्रश्न : प्रधानन्यायाधीशलाई हल्लाएर राख्ने ? (अन्तर्वार्ता)
टफटकमा भिक्षु अवधेश : हरेक मानिस बुद्ध बन्ने बाटोमा छ (अन्तर्वार्ता)
टफटकमा सभामुख : कतिपय सांसदबारे प्रश्न खडा भएका छन्, गृहमन्त्रीकै बारेमा देखियो