टफटकमा सभामुख : कतिपय सांसदबारे प्रश्न खडा भएका छन्, गृहमन्त्रीकै बारेमा देखियो

माघ १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
टफटकमा सभामुख : कतिपय सांसदबारे प्रश्न खडा भएका छन्, गृहमन्त्रीकै बारेमा देखियो

काठमाडौं । निर्वाचन आयोगले नयाँ राष्ट्रपति निर्वाचनको मिति फागुन २५ गतेका लागि तोकेको छ । तर, राष्ट्रपति आफैंले पाउनुपर्ने एमालेको अडान र राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको सर्तले राष्ट्रपति उम्मेदवार को बन्ने भन्ने अन्योल कायमै छ ।

पूर्वसहमति अनुसार एमालेले पहिलो साढे दुई वर्षका लागि सभामुख पाएको छ । देवराज घिमिरे नेपालका नवौं सभामुख बनेका छन् । उनीमाथि प्रतिनिधिसभामा रहेका १२ वटा दललाई मिलाएर संसदको नेतृत्व गर्नुपर्ने मुख्य चुनौती छ ।

विगतमा पाँच वर्षका लागि सभामुख बनेका कृष्णबहादुर महरा आचरणसम्बन्धी अभियोग लागेर बाहिरिए । त्यसपछि सभामुख बनेका अग्निप्रसाद सापकोटालाई पनि तटस्थ नभएको आरोपले पच्छ्याइरह्यो । खासमा सभामुखको भूमिका कस्तो हुनुपर्ला ? सभामुखलाई किन सधैँ पक्षधरताको आरोपले छाड्दैन ? संसदलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? यी र यस्तै प्रश्नको जवाफ खोज्न कान्तिपुरको टफटकमा हामीले निम्त्याएका छौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ।

ताप्लेजुङमा जन्मिएका घिमिरे झापाका स्थायी बासिन्दा हुन् । आईएसम्म अध्ययन गरेका घिमिरेले झापा विद्रोहपछि राजनीतिक जीवन थालेका हुन् । उनीे गत वर्ष सम्पन्न एमालेको दशौं महाधिवेशनमा पार्टीको स्थायी कमिटी सदस्य एवं प्रदेश एकको इन्चार्ज बनेका थिए । झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित घिमिरे यसअघि २०५६ मा राष्ट्रिय सभा सदस्य थिए ।

प्रस्तुत छ, सभामुख घिमिरेसँग कान्तिपुर टेलिभिजनको टफटक कार्यक्रममा प्रधानसम्पादक दिलभुषण पाठकले गरेको कुराकानी :

विसं. २०१३ सालमा ताप्लेजुङमा जन्मिएर झापातिर झर्नुभयो । कस्तो पृष्ठभूमिबाट राजनीतिमा आउनुभयो ?

ताप्लेजुङको पनि म दुर्गम ठाउँमा जन्मिएको हुँ । म राम्रै मध्यम परिवारमा जन्मिएँ । तर त्यसबेला शिक्षा–दीक्षाको प्रबन्ध थिएन । म जन्मेको गाउँमा बुबा लेखेपढेको मान्छे गनिनुहुन्थ्यो । उहाँँ राणाकालमा जागिर खाने सन्दर्भमा ताप्लेजुङ जानुभएको हो । ताप्लेजुङ सदरमुकाम छाडेर हामी बसेको ठाउँमा जानुभयो । त्यहाँ उहाँले नै पहिलो पाठशाला खोल्नुभयो । पाठशालामा सामान्यतयाः चिठीपत्र लेख्ने, रुद्री चण्डी पढ्ने, क, ख सिकाउने काम हुन्थ्यो । त्यही स्कुलमा बुबासँग गएर सिकेको कुरा साथीभाइलाई विद्यार्थीका रुपमा सिकाउने र बुबाबाट मैले सिक्ने गर्दै पढाइ सुरु गरेर मैले त्यहाँको गरिबी, अभाव, अशिक्षा र समाजको अन्धकार एवं पछौटेपनप्रति पढ्नेक्रममै यसलाई कसरी अन्त्य गर्ने भन्ने अलि बढी लाग्थ्यो ।

तपाईंको आफ्नै घरचाहिँ कहाँ छ अहिले ?

मेरो आफ्नै घरचाहिँ अहिले छैन । पहिला थियो, अहिले भाइ बस्छ ।

त्यसबेला सामाजिक र आर्थिक परिवेश कस्तो थियो ? चप्पल जुत्ता कुन उमेरमा लगाउन पाउनुभयो ?

पाँच कक्षा पार गरेर ६ मा पढ्न सिनाम हाईस्कुल जाँदा खाजा सामल सात दिनलाई बोकेर जानुपथ्र्यो । डेरा बस्नुपथ्र्यो । त्यहाँ जानका लागि स्कुलबाट अलि तल एउटा पसल थियो । शिक्षकहरू त्यो पसलमा चिया खान झर्थे । सिनाम अलि बेंसी ठाउँ पर्छ, जहाँ खर र बाबियोको बाटो भएर जानुपर्छ । त्यहाँ साना–साना ढुङ्गाले खुट्टा सारै नै घोच्थ्यो । त्यसबेला म घरमा आएर धेरै झगडा गरेर रोएँ । जुत्ता चाहियो भनेर । त्यसबेला चप्पल खासै निस्किएको थिएन । जुत्ता मात्र पुगेको थियो ।

चप्पल थिएन, जुत्ता पुगेको थियो ?

त्यसबेला चप्पल थिएन । धेरै झगडा गरेपछि मैले पहिलो पटक २०२१ सालमा ८ वर्षको उमेरमा बुबासँग सदरमुकाम गएका बेला ३ रुपैयाँ २५ पैसामा जुत्ता किनेर लगाएँ । त्यो जुत्ता धेरै टिकेन । त्यो फाटिनसक्दै मलाई पढाउने शिक्षकले चप्पल लगाएका थिए । मलाई यो चप्पल चाहिँ नयाँखालको जुत्ता रहेछ जस्तो लाग्थ्यो । उहाँले भन्नुभयो, ‘यो बिहान–बेलुका भित्र–बाहिर गर्ने र ट्वाइलेट जाँदा लाउने’ भन्नुभयो मलाई अनौठो लागेको थियो । यस्तो राम्रो, तर त्यस्तो ठाउँमा लाउने रहेछ भन्ने लाग्यो ।

विद्यालय कति टाढा थियो ? गाउँको प्राथमिक विद्यायमा कखरा सिकेर औपचारिक विद्यालय जानुभयो कि ?

होइन । जहाँ कखरा सिकेँ, त्यो पनि बिस्तारै औपचारिक विद्यालय भयो । बुबाले ‘टिचिङ’ छाड्नुभयो । अरु शिक्षकहरू राख्ने काम भयो । त्यो पाँच कक्षासम्मको प्रावि थियो ।

माध्यमिक पढ्न कति टाढा जानुपर्यो ?

प्रावि जान घरबाट खाना खाएर जान सकिन्थ्यो । तर, मैले घरमा गाईवस्तुलाई घाँस दाउरा गर्नुपर्दैन थियो । बुबा आमाले गर्नुहुन्थ्यो । दिदीहरूले काम गर्नुहुन्थ्यो धेरैजसो । म ‘टाइम’मा नै झगडा गरेर निस्कन्थेँ । तर मेरा साथीहरू टाढा टाढाबाट बाटामा घाँस दाउरा गरेर, मेलापात भ्याएर मात्र आउनुपथ्र्यो । उनीहरूलाई म पर्खेर बस्थेँ । अनि हामी विद्यालय जान्थ्यौं । प्राथमिक विद्यालयचाहिँ मेरो घरबाट भ्याउने ठाउँमा थियो ।

हाईस्कुल चाहिँ ?

हाइस्कुल धेरै टाढा थियो ।

पहिलो पटक बस कहिले देख्नुभयो ?

मैले बस देखेको २०२७ सालमा हो । यसबेला म धरान आएँ । धरान आउनुको कारण किताब र कापी किन्न हो । बिजुली बलेको पनि मैले त्यहीँ देखेको ।

२०५६ सालमा राष्ट्रिय सभाको सांसद हुनुहुन्थ्यो । योपटक प्रतिनिधिसभाको निर्वाचनबाट आउनुभयो । प्रतिनिधिसभामा पहिलो प्रवेश नै भनौं । सभामुखको चाहना तपाईंमा थियो अथवा पार्टीले जिम्मेवारी दियो ? कि पार्टी अध्यक्ष ओलीजीको चाहना थियो ?

कुनै क्षेत्रमा काम गर्दा प्रभावकारी गर्नुपर्छ । मैले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ भन्ने थियो । २०५६ सालमा मलाई महत्त्वपूर्ण जिम्मेवारी दिइयोस् भन्ने थियो । संगठनकै काम मुख्य भएकाले राष्ट्रिय सभाका सभासदको हिसाबले खेल्ने भूमिका भन्दा पनि पार्टीको संगठनात्मक क्षेत्रकै काम बढी गरेँ । स्वभाविकरुपमा मलाई विभिन्न समितिका सभापतिको जिम्मेवारीहरू आउथे । भूगोलका कारण ती जिम्मेवारी मैले लिइनँ । अहिले लामो समयसम्म राजनीति गरेर आइयो । पार्टीभित्र निकै उत्तार–चढाव पनि भएका थिए । यसबेला प्रतिनिधिसभामा मैले लड्न पार्टीको टिकट पाउनुपर्छ भनेर व्यक्त गरेँ । मैले नपाउने कुनै कारण नै थिएन । मलाई पाउँछु भन्ने विश्वास पनि थियो ।

आत्मविश्वास, अनुभव र प्रभावको हिसाबले अरू साथीहरू पनि थिए नि होइन र ?

उहाँहरूलाई हामी जत्तिकाले किन नपाउने र भन्ने थियो । आधारले त्यही ढंगको समर्थन हुन्छ र पाउँछु भन्ने कुरामा धर्मर थियो कि ।

तपाईंले हाम्रो संसदीय अभ्यासलाई कसरी हेर्नुहुन्छ ?

हाम्रो संसदीय अभ्यास समग्रमा भन्दा छोटो छ । संसदीय अभ्यास, संसदीय स्वरुप अथवा संविधान एकैखालको नभएर बीचबीचमा विभिन्न खालको ‘जिगज्याक’ भएर पनि आएको छ । यसले संसदीय अभ्यासमा प्रयोग गर्ने चिज यो हो भनेर हाम्रा आफ्नै अनुभवमा पनि प्रष्टताका साथ भन्ने हटाउनुपर्ने कुरा हटाउने र लिनुपर्नै कुरा लिने गरी एउटा निरन्तरताको कोर्समा जान नपाउँदा नै अनेक खालका ‘जिकज्याक, जिकज्याक’ भएर आइरहेको एउटा परिस्थिति छ ।

सभामुखको उम्मेदवारी दिँदा केही भिजन त बनाउनुभएको थियो होला ? तपाईंको कार्ययोजना के छ ?

मेरो कार्ययोजना भनेको सभामुखले संसदभित्रको अभ्यासलाई ठीक ढंगबाट लैजान इमानदार भूमिका निर्वाह गर्नुपर्छ । त्यसमा खासगरी सरकार पनि ‘सिस्टम’मा जान गम्भीर हुनुपर्छ । सांसद र खासगरी प्रतिपक्षले पनि एउटा ‘सिस्टम’बाट अगाडि जानुपर्छ ।

यो एउटा सौद्धान्तिक पक्ष भयो । ‘प्लान अफ एक्सन’ भन्छ नि, तपाईंले आफूले गर्नुपर्ने ‘लिस्ट अफ थिङ्क’, त्यस्तो केही ‘लिस्ट’ तयार गर्नुभएको छ ?

खासगरी हिजो विषय नै नभएको ‘इस्यु’ मा बहसमा जाने र ‘इस्यु’हरूलाई समयमा सम्बोधन गर्नका लागि राजनीतिक पार्टी तथा नेताहरू तयार नहुने जे देखियो, त्यसमा के भूमिका खेल्नुपर्छ भन्नेबारे मूलतः नेताहरूसँग बस्ने ‘इस्यु’का बारे समयमा छलफल गर्ने तर त्यसको एउटा निकास निकालेर अगाडि बढ्नका लागि भूमिका कसरी गर्ने होला भन्ने मेरा सोचहरू र चिन्तनहरू हुन्थे । अहिले पनि म त्यही सोचमा योजनाहरू बनाइरहेको छु ।

अघिल्लो सन्दर्भ हेर्यो भने ६ महिनासम्म संसदलाई निकम्मा बनाएर राखियो । कुनै बिजनेस दिइएन । सटरमा ताला लगाएजस्तै अवरोध गरियो । अघिल्लो संसदले ७५ वटा विधयेक प्राप्त ग¥यो तर नागरिकता, सत्य निरुपण तथा मेलमिलापलगायत २७ भन्दा बढी विधेयक टुंगोमा पुग्न सकेनन् । तपाईंलाई के लाग्छ ? सारा मान्छे सत्ता र शक्तिको खेलमा मात्र रुमलिए ? एउटा सांसद आउँदा नै ‘तेरो घरको बाटो बनाइदिन्छु, त्यहाँ पुल हालिदिन्छु’ भनेर जनतालाई लोभ देखाएर निर्वाचित भएर आएको हुन्छ । म विधायक हुँ, देशमा नयाँ संविधान आएको छ । उसलाई मन्त्री हुन्भन्दा अरु आशक्ति नै केही छैन । यो मनोविज्ञान, दुःखद अतीत र यी सबै समस्याका बीच तपाई आउनुभएको छ । तपाईंसँग केही भिजन छ होला । त्यसलाई चिर्न खोज्ने केही उपाय छ कि भनेर सोध्न खोजेको ?

सांसद स्वाभाविक रुपमा देशको सर्वोच्च विधायिकाका रुपमा जनताबाट चुनिएको प्रतिनिधि हो । उसको मुख्य काम भनेकै देश सञ्चालन गर्न आवश्यक नियम कानुन अथवा विधि निर्माण गर्ने नै हो । विधिहरूले मात्र शासन अगाडि जान्छ र त्यसलाई कार्यान्वयन गर्ने अनेका अंगहरू हुन्छन् । हाम्रो समाजमा तपाईले भने जस्तो बाचा कबुल गरेर तरो मन्दिर बनाइदिन्छु भनेर अझ कतिपय ठाउँमा त मन्दिर बनाउन पहिला नै रकम निकास गर्ने र मन्दिर बनाउने कामहरूको विश्वास भयो भने मात्र भोट हाल्ने जस्ता लेनदेनका प्रक्रियाबाट आउने विकृति हामीले क्रमशः देख्दै र भोग्दै आएको परिस्थिति छ ।

झापाको अर्जुनधारातिर अलि बढी छ कि के हो ? धार्मिक, मन्दिर, धामको सन्दर्भ आयो नि ?

मैले प्रसंग मात्र भनेको हो । क्लबहरू, खेलाडीहरू, विभिन्न ‘इन्टे«स्ट ग्रुप’हरू जे खालको हुन्छ त्यो हुने गरेको छ ।

एउटा घरमा जाँदा एउटा व्यक्तिको भोट पाइन्छ होला, तर यस्ता धार्मिक संघ संस्था जस्ता स्थानमा जाँदा समुहले भोट हाल्छ भन्ने परिपाटी छ, चुनावमा तपाईंले त्यही भन्नुभएको हो ?

यसलाई त कसरी हेर्छु भने जनताको तत्कालीन समाजिक कामहरू भनेको आफू जे काममा लागेको छ त्यसको आवश्यकताहरू पूर्ति गर्ने नै हो । उसले कसले दिन्छ त्यो तत्कालमा खोजेको हुन्छ । उसको चेतना र चाहना भनेको समग्रतामा ऐन, कानुन देशलाई के जरुरी परेको छ ? राष्ट्रियता के हो ? नागरिकता के हो ? अन्य समस्या के हुन् ? अन्तर्राष्ट्रिय क्षेत्रमा पार्ने ‘इम्प्याक्ट’ के हो ? यससँग त्यो समुदायलाई केही मतलव हुँदैन । त्यसैले सांसदले मूलतः मेरो काम के हो ? मेरो म विधायकको भूमिकामा जाने हो भन्ने ढंगले आउनुपर्छ ।

भनेपछि यसबारे सांसदलाई यो पाठ पढाउनुपर्ने पनि छ, अनि उसको जिम्मेवारी र भूमिकाका बारेमा थप सचेत गराउनुपर्ने छ ?

यो दिशामा जानुपर्छ भनेरै सांसद मध्येबाट मन्त्री होइन कि प्रत्यक्ष राष्ट्रपति चुन्ने कि प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्न र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले मोटामोटी आफ्नो मन्त्रिमण्डल गैर सांसदबाट वा सांसदबाट ल्याउन पाउनुपर्छ भन्ने कुराको पछाडि यीखालका अलि अनुचित तरिका जे आएका छन्, यो कुराले पनि काम गरेको छ । तपाईंले भने जस्तै सांसदहरूको चेतना त्यो ढंगबाट उठ्ने र त्यो ढंगको सम्बोधन गरेर निर्वाचनमा जाने र निर्वाचित भएर आएर विकास निर्माणका तत्कालीन समस्या समाधान गर्ने अंगलाई स्थानीय तहदेखि लिएर विभिन्न निकाय हुँदै जानुपर्छ ।

२७ वटा रोकिएका विधेयकलाई कसरी गति दिनुहुन्छ ?

मेरो प्राथमिकता छिटोभन्दा छिटो हिजो पास हुन बाँकी रहेका वा निष्कृय भएका वा अहिले छलफलमा चलिरहेका विधयेकलाई छिटोभन्दा छिटो छलफल गरेर पास गर्नेतिर भूमिका हुनुपर्छ भनेर म त्यसको तयारीमा लागिरहेको छु ।

त्यसोभए नागरिकता विधेयक राष्ट्रपतिले दुई पटक रोक्नुभएको छ । यसलाई तपाईं के गर्नुहुन्छ ?

यसलाई फुकाउने बाटोतर्फ म जान्छु ।

कसरी फुकाउने ? संसदले पठाइसक्यो दुईपटक । राष्ट्रपतिले रोकेर राख्नुभएको छ ?

यसका बाधा अड्काउ फुकाउभित्र यस्ता खालकालाई फेरि उत्पति गर्ने वा त्यसलाई फिर्ता गर्ने र सहमतिको बाटो खोज्ने बाटोबाट लिएर जाने । यो त एउटा ‘इस्यु’ हो । निर्णयमा नपुगेका अरू पनि विधयेकहरू छन्, जुन राष्ट्रका लागि आवश्यक छन् । तिनलाई जगाएर ल्याउने अथवा नयाँ दर्ता गरेर ल्याउने बाटाहरू छन् । हिजै गहिरो छलफल भएर ती विषय अगाडि बढेका छन् । त्यसमा धेरै छलफल नगर्दा पनि हुन्छ । अहिलेको नयाँ सांसदले दफावार, मसिनो छलफलमा जानुपर्छ भन्यो भने त्यसलाई एउटा विधिभित्र लानुपर्छ ।

राष्ट्रपतिबाट ठीक भएको थियो कि बेठिक ?

के कुरामा ‘अब्जेक्सन’ भयो र त्यसको समाधान के हो भन्ने विषयमा बहस र छलफलको आवश्यक थियो । तर त्यतिसम्म त गएन नि । त्यतिसम्म लानुपर्छ भन्ने मैले मान्यता राख्छु । किन यो भयो भन्ने कुरामा बहस र छलफल भएन । यो हुनुपर्छ भनेर हुबहु गर्ने, यो हुँदैन भनेर हुबहु रोक्ने यो त ‘डाइलग’ नै भएन ।

संसदमा ‘डाइलग’ भएन ?

जुन ठाउँसम्म हुनुपर्ने भएन ।

अनि त्यत्रो सांसदले पठाएको होइन ?

राष्ट्रपतिले पनि यो–यो कुरा प्रष्ट गर भनेर पठाएको थियो नि त । यसपछि छलफल भएन । हुनुपर्छ भनेर पठाएको थियो । आ–आफ्नो अडान रह्यो । खासगरी राष्ट्रपतिले किन त्यसो गर्नुभयो, त्यो छलफल हुनुपथ्र्यो । यसलाई के गर्ने भनेर छलफल हुनुपथ्र्यो ।

अब तपाईं छलफल गराउनु हुन्छ त्यो भए ?

योमात्र होइन । त्यस्ता ‘इस्यू’मा यसरी जानुपर्छ ।

फेरि यस्तै भयो, तपाईंको संसदले कुनै एउटा विधेयक पठायो र अहिलेको राष्ट्रपति नभएर कुनै राष्ट्रपति नभएर रोकियो भने तपाईंको ‘पोजिसन’ के हुन्छ ?

जेमा ‘डेडलक’ हुन्छ त्यसमा ‘डाइलग’को वातावरण बनाउनुपर्छ । ‘डाइलग’बाट हामीले त्यसको निकास निकाल्न सबै जिम्मेवार बन्नुपर्छ । आफ्ना अडानमा आफूहरू उभिएर जे अहिले हामीले परिणाम भोगेका छौं, यो कुराले यहाँको ‘डेमोक्रेसी’लाई पनि बलियो बनाएको छैन । यसले संसदलाई पनि बलियो बनाएको छैन । र यसले सरकार र संसदको सम्बन्ध पनि राम्रो बनाएको छैन । यसबाट हामीले शिक्षा लिनुप¥यो नि । फेरि पनि म भन्छु ‘डेडलक’लाई ‘डाइलग’बाट निकास दिनका लागि जिम्मेवारीका साथ जान जरुरी छ ।

हामीले बाहिर सुनेअनुसार तपाईं दुई वर्षका लागि सत्ता सत्ता साझेदार दालसँगको सहमतिमा सभामुख हुनुभएको हो । सार्वभौम संसद हुँदा पनि यसअघिको कार्यकालमा ४८ वटा अध्यादेश ल्याइयो । तीमध्ये केही सार्वजनिक महत्त्व र अति आवश्यक थिए होलान् तर धेरै सत्ता टिकाउने र लडाउने बाहेक केही थिएन । उदाहरणका लागि दल विभाजनको अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश । तपाईसँग साढे दुई वर्षको समय छ । यहाँ दल शक्ति र सत्ताको लोभमा उन्माद नेताहरूलाई अध्यादेशले राज गर्ने बानी छ । तपाईंलाई समयको ‘प्रेसर’ छ । तपाईंसँग केही खाका छ कमसेकम ऐनहरु यी एक दर्जन दुई दर्जन विधयेक पास गर्छु त्यस्तो केही ‘प्लान’ छ ?

संसद खासगरी प्रतिपक्षको हो । प्रतिपक्षलाई ‘फेस’ गरेर अगाडि लानका लागि सरकारले कामहरू गर्नुपर्छ । जुन अध्यादेशको विरुद्धमा राजनीतिक पार्टीहरू लागे, आफ्नो समय खर्चेपछि उनीहरूले त्यही अध्यादेशको पक्षमा आएर आफ्नो अनुकुल बनाएर गए । यसले के देखिन्छ भने औचित्य र आवश्यतका हिसाबले ल्याउने र विरोध गर्ने होइन कि आफ्नो स्वार्थ पूर्ति गर्ने ।

यसबारेमा संसार जगजाहेर छ, मलाई यहाँको ‘प्लान’ चाहियो..

अहिले मेरो कोशिस के छ भने अध्यादेश नल्याउने होइन, ल्याउनुपर्छ । ल्याउन सकिन्छ, ल्याएर काम गर्नुपर्छ । निश्चित समयमा त्यसलाई अनुमोदन गर्ने र पूर्णता दिने प्रक्रिया छदैछ । अध्यादेशको औचित्य त्यहाँको संख्याले मात्र गर्ने होइन कि छलफलबाट पुष्टि गर्ने हिसाबले जानुपर्छ र जवाफदेहिता र जिम्मेवारपूर्ण ढंगबाट खासगरी राजनीतिक पार्टीको भूमिका हुनुपर्छ ।

सत्तामा रहेका हुन् वा प्रतिपक्षमा रहेका राजनीतिक पार्टी हुन् । यो कुराको विगतमा अभाव रह्यो । विधेयक मूलतः सरकारले ल्याउने हो । रोकिएकालाई फुकुवा गर्ने पनि सरकारले हो । सरकारको योजना अन्तर्गत गर्नुपर्छ । यसलाई भरमार छलफल गर्न पाउने, बहस गर्न पाउने, आफ्नो राय र मत निर्माण गर्न पाउने सांसदहरूको अधिकारको कुरा आउँछ । त्यो कुरालाई पूरा गर्नका लागि मेरो अहिलेदेखिको प्रयास छ ।

सरकारलाई, प्रधानमन्त्रीलाई, संसदीय व्यवस्थामन्त्री कानुनमन्त्री हुन् उहाँलाई अहिलेदेखि मेरो प्रयत्न के छ भने रोकिएका विधेयक पाइपलाइनमा ल्याउनुस् तर संसदीय परिपाटी अन्तर्गतका नियमावली नयाँ संसदले बनाउनुपर्ने छ, यसको हामीले काम सुरु गरिरहेका छौं । यो बनेपछि यसैका आधारमा विषयगत समितिहरू बन्छ ।

तपाईंहरू अलमलमा पर्नुभएको छैन ? नयाँ सांसद सुरु भएको करिब एक महिना पुग्न लागिसक्यो । यो अवधिमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सभामुख र उपसभामुख छान्ने बाहेक त अरु काम भएको छैन ?

अलमलिएका नै छैनौं । किन छैनौं भन्दा ५ गते सभामुखको निर्वाचन भएको छ । सभामुखले निरन्तर काम गर्न सन्दर्भमा नियमावली निर्माण गर्न अहिले मस्यौदा समिति बन्यो । संसदबाट पास गरेर समितिले काम गरिरहेको छ । यससँगै मस्यौदा समिति पास भइसकेपछि त्यसका विषयगत समितिहरू बन्छन् । यो पनि बनिसकेपछि विषयभित्र बसेर यसले सम्पूर्ण विधेयकमाथि छलफल गर्ने काम गर्छ ।

अघिल्लो कार्यकालमा प्रक्रिया पुगेका तर शून्यमा झरेका दुई दर्जन विधेयक त थन्किएका छन्...

तिनीहरूलाई जगाउनका लागि सरकारको ध्यानकर्षण गराउने काम सभामुखको हैसियतबाट भइरहेको छ । उहाँहरू त्यहाँ भूमिकामा लागि रहनुभएको छ । त्यो जागेर आउनु बित्तिकै हामीले समिति बनाएर समितिमा आवश्यकता अनुसार बहस छलफल गराउने तयारी गरिरहेका छौं ।

तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग छिनोफानो नभई उनी त्यत्तिकै अवकाशमा गए । अघिल्लो संसदले अब आउने संसदबाट टुंगो लाग्ला भनेर तपाईंको टाउकामा राखिदिएको छ । कसरी टुंगो लगाउनुहुन्छ ?

त्यो ऐन कानुनजस्तो निरन्तरताको विषय होइन । त्यो एउटा घटनाविशेष हो । त्यो घटनाविशेष फेरि दोहोरिए आयो भने के गर्ने हो ? तर हिजोको ‘लेगेसी’ यसले पनि बोकेर जानुपर्छ भनेर जानुपर्नै कुनै बाध्यता छैन ।

चोलेन्द्रको महाअभियोगको विषय यो संसदले अरु थप हेर्नुपर्दैन ?

त्यो त त्यतिबेलाको संसदको छलफलको विषय थियो । त्यो संसद नै हटेर गइसक्यो, त्यो जोडिएर आउन नयाँ कुरा आउनुपर्यो नि ।

आफ्नो कार्यकाल सकिँदै गर्दा यही सिटमा बसेर तत्कालीन सभामुख अग्नि सपकोटाले महाअभियोग संसदको सम्पत्ति हो भन्नुभएको थियो । अब नयाँ संसदले त्यसलाई ग्रहण गर्छ, यो संसदले टुंगो लगाउन पाएन । नयाँ संसदले ग्रहण गर्छ भन्नुभएको थियो......

यो ऐन कानुनको विषय होइन नि । यो त त्यतिबेलाको संसदले छिनोफानो गर्नुपथ्र्यो, जुन संसद नै अहिले छैन । जुन मुद्दा नै अहिले छैन । नायँ ढंगबाट यो मुद्दा आयो भने र यो संसदको दायित्व भयो भने त्यसबेला छलफलको विषय बन्छ । यो त्यसबेलाको ‘इस्यू’ थियो जुन ‘इस्यू’ अब सकिएर गइसकेको छ । यो ‘इस्यू’ उठाउने संसद्को आयु सकिएर गएको छ । यो त नयाँ ढंगबाट उठेर आउनुप¥यो ।

यो त राष्ट्रिय महत्वको सवाल होला नि ? महाअभियोग जस्तो कुरा हो । भोलि देशको सुशासनसँग गएर जोडिन्छ । यसले ठूलो अर्थ राख्छ होला नि ?

जसले महाअभियोग खेप्नु परेको थियो उ नै त्यो ‘पोजिसन’मा छैन । महाअभियोग लगाउनेको संख्या नै नयाँँ भएर आएको छ । महाअभियोगले यो संसदमा निरन्तरता पाउनका लागि पुनः आउनपर्यो, दर्ता हुनुपर्यो र निरन्तरता दिने हैसियत कायम गर्नुपर्यो अनि मात्र हुन सक्छ ।

माओवादी र एमालेको गठबन्धनबाट बनाइएको सभामुख तपाई । एएटै स्वाभावका दुईवटा गठबन्धनको पार्टीले सिफारिस गरेका, जिताएका दुईजना सभामुखको यस्तो फरक फरक मत ?

स्वाभाविकरुपमा हिजोको ग्राउण्ड र आजको ग्राउण्डमा त धेरै फरक भइसक्यो नि । हिजो जो सांसाहरुलाई यिनलाई महाअधियोग लाउनुपर्छ भन्न्े लाग्यो, आज ती सांसदै छैनन् । जसले अभियोग खेप्नुपर्ने थियो, उनी त्यो पदमै छैनन् । सबै कुराहरु बितेर गइसके । अब त्यो कुरा नजिरको रुपबाट यहाँ बहस छलफलहरु गर्ने र टुंगो लगाउने हो भने हिजोको टुंगो लाग्छ आज ? किनभने, हिजोका मान्छेहरु नयाँ आइसकेका छन् । नयाँ पार्टीहरु आएका छन् । हिजो अभियोग लगाउनेहरु अभियोगको विरुद्धमा त्यो ठाउँमा आइसकेका छन् । अब कसरी त्यो इस्युहरु हुन सक्छ ?

त्यसो भए त अहिलेको अवस्था हेर्यो भने त तपाईलाई झन हाइसञ्चो भयो होला । पुराना मुद्दाहरुमा केही छलफल गर्नुपरेन । तपाईसँग प्रतिपक्षी नै छैन । ठूलो पार्टी कांग्रेसले सरकारलाई समर्थन गरेको छ । तपाईले बेञ्च त दिनुभयो । तर, तपाईलाई लाग्छ, त्यहाँ प्रतिपक्षी छ ?

यो त बेग्लै विषय हो । घटनामा को कसरी आउँछ, पक्ष र प्रतिपक्ष जरी जान्छ यो त सबै व्यवहारबाट हेरेर जाने कुराहरु हो । तर, सजिलो र अप्ठ्यारो भन्ने कुरा त विषयहरुलाई कसरी समेटेर गइन्छ, निकास कसरी निकालिन्छ, त्यसमाथि भर पर्ने कुरा हो ।

मानौं एउटा मान्छेलाई कसैले डाम्यो, अभियोग लगायो । या त पुष्टि हुनुपर्थ्यो । या त त्यो महाअभियोग गलत थियो भन्नुपर्थ्यो । ती पूर्वप्रधानन्यायधीश जो अवकाश प्राप्त गरे, तिनलाई आम मान्छेले कसरी चिन्ने ? महाअभियोग पुष्टि भएन, महाअभियोग गलत थियो ? त्यत्रो ठूलो अभियोग लगाएपछि त टुंगोमा पुर्याउनुपर्यो नि । मानौं तपाईलाई त्यस्तो नहोस् । तपाईको कार्यकाल प्रारम्भ हुँदैछ, तपाईलाई कसैले महाअभियोग लगायो, तर त्यसको छिनोफानो भएन, त्यो त मज्जा आएन नि हैन ?

ठीक हो । मज्जा मात्रै होइन, दायित्व पूरा गर्न सकिएन । त्यत्रो ईस्यु उठिसकेपछि समयभित्र त्यसको टुंगो लगाउने उसको दायित्व हुन्थ्यो । तर, तपाई त्यो प्रक्रियालाई हेर्नोस् न त्यतिबेला । त्यसमाथि आवश्यक टाइममा बहस गर्ने, छलफल गर्ने, टुंगो लगाउने यो प्रयत्न त्यतिबेलाको संसदले गर्न सकेन । समय गुजार्दै गयो ।

तपाईको आसय बुझें कि त्यो त्यतिखेरका सांसदले टुंगो लगाउनुपर्थ्यो, यो मेरो टाउकोमा पर्दैन भनेर उम्किन खोज्नुभयो होला । तर, केही अन्तरराष्ट्रिय अभ्यासहरु हेर्यो भने एउटा संसदले टुंग्याउन नसकेका मुद्दाहरु अर्को संसदले आत्मसाथ गर्छ । संस्था हो नि । एउटा व्यक्तिले ल्याएको, अब तपाई अर्को व्यक्तिले निरन्तरता दिने भन्दा पनि संस्था हो नि‍‍....

हिजोको मेकानिज्म के थियो, हिजोको इस्यु के थियो । त्यो इस्युसँग अहिलेको सांसद सहमति हुन्छ कि हुँदैन ? यो त नयाँ म्यान्डेट लिएर आइसके नि अब त ? नयाँ म्यान्डेड लिएर आइसकेपछि हिजाृे जुन पक्षमा बोल्थ्यो, आज त्यही पक्षमै बोल्नुपर्छ, भन्ने उसलाई त त्यो बाध्यता छैन नि । ऊ त स्वतन्त्र छ । जनमतबाट जनप्रतिनिधि भएर आएको छ । सार्वभौम जनताले पठाएका छन् । हिजो के गर्यो, त्यही बोक्नुपर्छ र उसलाई ? ऊ त्यसमा त बाध्य हुँदैन । अहिलेको इस्युमा बहस गर्नुपर्यो भने हिजो कसले के गरेको थियो, त्यसकै लिगेसी उसले बोक्छ र ? त्यो बोक्नुपर्छ भन्न सकिन्छ र ? सकिन्न नि । किनभने नयाँ चिज आइसकेको छ नि ।

हैन, अहिलेका सांसदहरुले यसलाई यत्तिकै छाड्न मिल्दैन, टुंगोमा पुर्याउनुपर्छ भनेर राखे भने तपाईको अर्डर के हुन्छ ? किनभने तपाईको जिम्मेवारी कतिसम्म रहेछ भने त्यहाँ अगाडि कुनै प्रधानमन्त्रीले फोन चलाएर बसेका रहेछन् भने अर्डर अर्डर प्रधानमन्त्रीज्यू त्यो फोन राख्नोस् भन्न सक्नुहुन्छ.....

यसमा सामान्य कुरा हो कि सभा सञ्चालन गर्नका लागि सभामुखले सभालाई असर पर्ने कुराहरु रोक्ने यी सबै कुराहरु गर्न सक्छ । खाली मेरो कुरा के भने हिजोको इस्युलाई आज यसले निरन्तरतै लिएर जानुपर्छ, बाँकी रहेका कानूनहरुलाई ब्युँझाएर लिएर आउनुपर्छ, जुन कानुन पास भएका छैनन् भनेर लिएर आउने हो भने त्यसका प्रक्रिया छन् । अपर हाउसले हिजो हामी यिनै सांसद थियौं भनेर त्यसको बलमा लिएर आउने यसको एउटा लिगेसी चाहिँ जति सजिलो हुन्छ राष्ट्रियसभामा । त्यस्तोखालको निरन्तरता यो होइन । ईस्यु आयो भनेदेखि त नयाँ म्यान्डेटका साथ छलफल हुन पनि सक्छ ।

दशथरि स्वाभावका र स्वार्थहरुले भरिएको संसदलाई परिणाममुखी बनाउनका लागि तपाई नयाँ सभामुखलाई कति चुनौती छ ?

मैले अहिले तपाईको माध्यमबाट यो अभिव्यक्ति दिइरहँदाखेरि मन बाँध्नुपर्ने केही पनि छैन । हाम्रो पार्लियामेन्ट अहिले जुन समिश्रणमा बनेको छ, यसका केही जटिलता निश्चित छन् । त्यसमा पनि मैले यसलाई कसरी भन्छु भने संसदीय अभ्यास अथवा संसदको भूमिका के हुनुपर्छ भन्नेबारेमा यहाँ प्रतिनिधित्वव गर्नुहुने कतिपय माननीय सदस्यज्यूहरुको कमी कमजोरी चाहिँ देखिएको छ । यो छोटो अवधिमा केही अभिव्यक्ति र गतिविधिबाट पनि ती कुराहरु देखिएको छ ।

दृष्टान्त दिन्छु कि विगतमा विगतमा जघन्य प्रकृतिका फौजदारी अपराधको अभियोग लागेका देखि भ्रष्टाचारका आरोपीसम्म सांसदका रुपमा तपाई अगाडि देख्नुहुनेछ यो पटक । केहीसशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकको हत्या अभियोगमा अदालतले थुनामा राख्न आदेश दिएका मान्छे लक्ष्मी कोइरी निर्वाध संसद्मा बसे । प्रधानमन्त्रीलाई भोट हाले । कानुन बनाउने सबैभन्दा सर्वोच्च स्थान हो नि त्यो त ? समेत हामीले मर्यादित बनाउन सक्तैनौं, राजनीतिक दलहरु यत्ति धेरै मरिहत्ते किन गर्छन् ? यसलाई सच्याउने कानुनको अभाव हो कि नियतै खराब ?

हैन, पार्टीका सांसदहरु, जो उहाँहरुका संसदमा हुनुहन्छ, त्यहाँ उहाँहरुका अभिव्यक्ति सरकारका खिलाफमा देखिएका छन् । कतिपय सांसदका बारेमा प्रश्नहरु खडा भएका छन् । त्यतिमात्रै होइन, गृहमन्त्रीकै बारेमा हामीले देखिरहेको स्थिति हो । यी सबै कुराले के देखिन्छ भने अहिलेको हाम्रो संसदको बनावट केही समस्याभित्र बनेको छ र यसलाई परिपक्व बनाउने र ठीक ढंगबाट लाने कुरामा सबै जिम्मेवार बन्न जरुरी छ । तदनुरुपको भूमिका मैले सबै माननीय सांसदहरुसँग अपेक्षा गरेको छु । राजनीतिक नेताहरुको त्यो खालको कमाण्ड होस् भन्ने मैले अपेक्षा गरेको छु । जुन जुन ठाउँमा पार्टीहरुको जे हैसियत छ, त्यो हैसियतका साथ जाँदै यो संसदलाई ठीक ढंगबाट लानका लागि सभामुखलाई उहाँहरुको सहयोग रहेका यी अपरिपक्वता, अन्योल र अष्पष्टताहरुलाई चिर्ने योजनाका साथ अगाडि जानुपर्छ ।

अब र्यापिड फायर,

तपाईंको विचारमा राष्ट्रपति कस्तो व्यक्तिलाई बनाउनुपर्ला ? दलीय कि गैरदलीय ?

व्यक्तिको हिसाबले को, के भन्ने भन्दा पनि त्यसलाई त्यसरी भाग गर्नु जरुरी छैन । व्यक्तित्वको हिसाबले गर्नुपर्छ ।

सदनमा कसको भूमिका महत्वपूर्ण– सत्ता कि प्रतिपक्षी ?

आ–आफ्नो ठाउँमा दुइटैको महत्वपूर्ण हुन्छ ।

सभामुख बन्ने आधार शैक्षिक योग्यता, अनुभव कि पार्टीले टीका लगाउँदा हुन्छ ?

उसको अनुभव ।

संसद्का प्राथमिकता– जनताको मुद्दा कि सत्ताको खेल ?

जनताका मुद्दा ।

सत्ताको खेलमा संसद् विघटन ठिक कि बेठिक ?

त्यो त सिस्टमको कुराहरु हो । सिस्टमले के भन्छ ? संसद केको लागि बनेको हुन्छ, संसदले के गर्नुपर्छ र त्यसको विकल्प के हो ?

हैन, सभामुखज्यू घुमाउरो भयो । सत्ताको खेलमा संसद विघटन ठीक कि बेठीक ?

फेरि भन्नोस् त.... ।

सत्ताको खेलमा संसद विघटन ठीक कि बेठीक ? सत्ताका लागि संसद विघटन गर्नु ठीक कि बेठीक ?

संसदका बारेमा संविधानको व्यवस्था के हो, त्यसका आधारमा जानुपर्छ । व्यवस्थालाई त बोक्नुपर्यो नि ।

नैतिक रुपमा गैरसांसदलाई मन्त्री बनाउनु ठिक कि बेठिक ?

परिस्थितिको उपज हुन्छ यो । सांसदहरुभित्रबाट मन्त्री बन्छ आम रुपबाट ।

अर्को कार्यकाल– सभामुख, मन्त्री कि प्रधानमन्त्री ?

त्यो परिस्थितिको उपज हो त्यो ।

ताप्लेजुङ, झापा कि काठमाडौं ?

परिस्थितिले तय गर्ने कुराहरु हुन् ती ।

अब एक शब्दमा–

राष्ट्रपति विद्यादेवी भण्डारी ?

उहाँको भूमिका ठीक रहेर आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ?

भर्खर आउनुभएको छ । पहिलाको कुनै टिप्प्णी नगरौं, अहिले भर्खर आउनुभएको छ ।

केपी शर्मा ओली ?

केही गर्ने कोसिस गरिरहेको एउटा आकर्षक व्यक्तित्व, विचारको हिसाबले ।

शेरबहादुर देउवा ?

अहिले मैले कमेन्ट गर्दिनँ ।

माधवकुमार नेपाल ?

व्यक्तिगत आकांक्षामा बढी लाग्ने मान्छे ।

कृष्णप्रसाद भट्टराई ?

केही गरौं भन्ने इच्छाशक्ति राख्ने मान्छे ।

दमननाथ ढुंगाना ?

संसदीय प्रणालीलाई आफ्नो वस्तुगत स्थितिको माध्यमबाट प्रयोग गरेर अगाडि लानका लागि प्रयत्न गर्ने मान्छे ।

रामचन्द्र पौडेल ?

अहिले मैले टिप्पणी गरिनँ उहाँलाई ।

तारानाथ रानाभाट ?

सभामुख भएर केही सवालहरुमा आलोच्य भए पनि त्यसलाई सञ्चालन गर्न प्रयत्न गर्ने मान्छे ।

सुवास नेम्बाङ ?

हाम्रो परिवेशमा सबैलाई मिलाएर अगाडि लान सकेको सफल सभामुख ।

ओनसरी घर्ती ?

आफ्नो कार्यकालमा राम्रो गरी आफ्नो जिम्मेवारी निभाएको मान्छे ।

कृष्णबहादुर महरा ?

उहाँका राम्रा कुराहरुलाई केही घटनाहरुले छोपेको व्यक्तित्व ।

अग्निप्रसाद सापकोटा नि ?

टिप्पणी भएर जानुभएको, यसको समीक्षा हुन बाँकी । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.