नयाँ मन्त्रीको नौलो अनुभव : सिंहदरबार ‘सिम्पल’ रहेछ (टफटक)

चैत्र १, २०७९ |कान्तिपुर टीभी संवाददाता
नयाँ मन्त्रीको नौलो अनुभव : सिंहदरबार ‘सिम्पल’ रहेछ (टफटक)

काठमाडौं । गणतन्त्रको सुन्दर पक्ष नै यही हो, सबै वर्ग तथा समुदायका मानिसहरु नीति निर्माणको तहमा पुग्न सक्छन् । बंशाणुगत वा कुलीनतन्त्रमा भुइँमान्छेहरु शासन सत्तामा पुग्ने कल्पनासम्म गर्न सकिँदैन । तर, एक सीमान्त समुदायका मानिस अब्दुल खान आज मन्त्रीका रुपमा जसरी सिंहदरबार प्रवेश गरेका छन्, यो परिदृश्य आफैंमा रोमाञ्चक छ ।

लोकतान्त्रिक गणतन्त्रमा नेताहरुको उदय दुई तरिकाले हुने गरेको छ : एक– राजनीतिक आन्दोलनबाट गुज्रिएर । दोस्रो– प्रतिस्पर्धा र क्षमताका आधारमा आफूलाई अब्बल सावित गरेर । निहीत स्वार्थ राखी दल खोल्नु, कुनै दलमा प्रवेश गर्नु, दल अदल–बदल गर्नु वा त्यस्तो दलको केन्द्रीय तहमा पुग्नु वा कसैको आशिर्वाद लिएर मन्त्री बन्नु मात्रै नेता हुनु होइन । नेताले जनताको भावनालाई असली रुपमा प्रतिनिधित्व गर्न सक्नुपर्छ । देशलाई यथास्थितिबाट बदल्न सक्नुपर्छ ।

मुलुकमा धेरैवटा राजनीतिक आन्दोलनहरु भए । आन्दोलनबाट नेताहरु पनि प्रशस्त जन्मिए । तर, आन्दोलनबाट आएका धेरै नेताहरुको क्षमता र व्यवहारमा प्रशस्त प्रश्नहरु पनि जन्मिरहेका छन् । यही सीमाका कारण आम निर्वाचनले पुरानो नेतृत्वलाई मनोवैज्ञानिक धक्कासमेत दिइसकेको छ । चुनाव सकिए पनि नयाँ तथा पुरानो पुस्ता र तिनको इमान्दारिताको बहस सकिएको छैन । निर्वाचनबाट केही नयाँ दलहरु उदाएका छन् ।

यही सन्दर्भमा मधेसकेन्द्रित आन्दोलनको माध्यमबाट नयाँ दलका रुपमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीको पनि उदय भयो । बिखण्डनकारी विगतलाई छाडेर राष्ट्रिय राजनीतिमा आएसँगै संघीय संसदमा ६ सिट जितेको यो दलले उपाध्यक्ष अब्दुल खानलाई खानेपानी मन्त्री बनाएको छ । मन्त्री खान सीमान्तीकृत पृष्ठभूमिबाट सिंहदरबार प्रवेश गर्ने नयाँ अनुहार हुन् ।

सडकमा चर्का नारा लगाउन वा आन्दोलन गर्न सहज कि सरकार चलाउन ? सामान्य नागरिक र जनप्रतिनिधि तथा मन्त्रीबीच फरक के ? अत्यन्तै सीमान्तीकृत, भुइँमान्छे सिंहदरबार प्रवेश गरेपछि कस्तो अनुभूति हुँदोरहेछ ? सिंहदरबारबाट देश र जनता कस्तो देखिन्छन् ? नयाँ र अनुभवविहीन मन्त्रीलाई कर्मचारीले कस्तो व्यवहार गर्छन् ? अनि, काठमाडौंका जनताले मेलम्चीको पानी ढुक्कसँग कहिले खान पाउँछन् ? यी र यस्तै प्रश्नको जवाफ खोज्न आजको टफटकमा जनमत पार्टीका उपाध्यक्ष एवं पहिलोपटक मन्त्री बनेका नेपाल सरकारका खानेपानी अब्दुल खानलाई निम्त्याएको हो ।

बर्दियाको गुलरिया नगरपालिकास्थित ओसीपुरमा सामान्य किसान परिवारमा जन्मेका मन्त्री खानले स्नातकसम्मको अध्ययन गरेका छन् । क्याम्पस पढ्दै गर्दा सीके राउतसँग सम्पर्क भएपछि राजनीतिमा जोडिएका उनी पटक–पटक जेल परे । जेलबाट छुटेपछि एकैचोटि पार्टीको राष्ट्रिय उपाध्यक्ष बने । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक सांसद् बने ।

गरिब परिवारमा जन्मेको र धेरै चर्चा नकमाएको व्यक्ति पहिलोचोटि मन्त्री बनेर सिंहदरबार छिर्दा कस्तो अनुभूति हुँदोरहेछ ? यस्तो प्रश्न गर्दा मन्त्री खानले आफ्नो वाल्यकालदेखिको रोचक किस्साहरु सुनाए । साथै उनले खानेपानी मन्त्री बनेपछिका अनुभूतिहरु पनि खुलस्त पारे ।

प्रस्तुत छ– कान्तिपुर टेलिभिजनको ‘टफटक’मा खानेपानीमन्त्री अब्दुल खानसँग प्रधानसम्पादक दिलभूषण पाठकले गरेको कुराकानीको मुख्य अंश–

तपाईं आफूलाई भुइँमान्छे भन्नुहुन्छ । मन्त्री बन्नुभएको करिब साढे दुई महिना भयो, कस्तो अनुभूति हुँदैछ ?

मन्त्री भएको दुई महिना भन्दा बढी भयो । अनुभव भनेको पहिला बाहिरबाट हेर्ने दृष्टिकोण र भित्र आफैैँ छिरेपछि हेर्ने दृष्टिकोण एकदम भिन्न हुँदो रहेछ । हामीले जति बाहिरबाट यो गतिमा काम गर्छु भनेर सोच्छौं, तर भित्र पसेपछि अनेकौं बाधा हुँदा रहेछन् । मन्त्री भइसक्यो, यसले धेरै गर्न सक्छ भनेर एउटा मन्त्रीबाट जनताले धेरै आशा गर्छ । । मन्त्री भएपछि पनि धेरै बाधाहरु हुन्छन् । कर्मचारीतन्त्रको आफ्नै कुरा हुन्छ, त्यो भन्दा पनि पहिलाका मन्त्रीले गरेको क्रियापकलाप अर्को हुन्छ, अर्थमन्त्रालय तथा सम्बन्धित मन्त्रालयको पाटो अर्को हुन्छ । प्रधानमन्त्री कार्यालयको अर्को पाटो हुन्छ । कामलाई राम्रोसँग गर्नका लागि धेरै पाटाहरू हुँदा रहेछन् ।

सामान्य अनुमान, बोल्ने कुरा र व्यवहार यसै पनि सजिलो छैन । सोचेभन्दा साँच्चै कठिन रहेछ हैन मन्त्री भएर काम गर्न ?

कठिनभन्दा पनि अलिकति फरक हुने रहेछ ।

आम मान्छेले सिंहदरबार/सिंहदरबार भन्छन् । बर्दियाको ग्रामीण ठाउँको अल्पसंख्यक, सीमान्तकृत, समुदायको मान्छे, यो भन्दा अगाडि सिंहदरबार पुग्नुभएको थियो ?

म यहाँ पढ्दा एक–दुई पटक सिंहदरबार गएको थिएँ, साथीहरुसँग । कस्तो हुँदोरहेछ भनेर त्यहाँभित्र पसेको मात्र, त्यहाँ के हुँदो रहेछ, मलाई केही पनि थाहा थिएन । गएर यसो घुमेर चिया खाएर मात्र फर्केको थिएँ ।

मन्त्री भएर सिंहदरबारमा बस्दा कस्तो देखिँदो रहेछ देश जनता ?

मलाई त त्यस्तो कुनै फरक लागेको छैन । किनभने सिंहदरबार त्यति साह्रो बाहिरको तुलनामा त्यस्तो हाइफाई छैन । मलाई त्यस्तो लागेको छैन । सिंहदरबार पनि सिम्पल हो, बाहिरबाट देख्ने नजरिया मात्र फरक हो । सिंहदरबारमा आउने जानेलाई मलाई लाग्छ, त्यस्तो कुनैखाले अनुभूति हुँदैन । त्यसकारण सिंहदरबार पनि जनताभन्दा ठूलो छैन, एकदम सिम्पल छ । हामीले साधारण हिसाबले सोच्नुपर्छ सिंहदरबारलाई ।

तपाईं पुस ११ गते मन्त्री नियुक्त हुनुभयो । तपाईंले पुस १२ गते मन्त्रालय, सिंहदरबार शीतल निवासमा छिर्दा अच्चम्म लाग्यो भनेर कान्तिपुर टेलिभिजनलाई भन्नुभएको थियो । अहिले दैनिकी, आफ्नो जीवनशैली अलि स्वाभाविक लाग्न थाल्यो ?

एकदम । अहिले त स्वाभाविक जस्तो भइरहेको छ । अहिले एकदम स्वाभाविक जस्तो लागेको छ । विभिन्न ठाउँमा जाने अवसरहरु पनि पाइरहेको छु । पार्टीबाट पनि थप जिम्मेवारी भएकाले कहिले बालुवाटार, कहिले शीतलनिवास, कहिले सिंहदरबार भइरहेको छ । त्यसकारण अहिले सरल जस्तो लागेको छ । पहिलाको तुलनामा, पहिलाको जस्तो अनौठो लागेको छैन ।

अब्दुल खानलाई अझ नजिकबाट चिन्नका लागि बर्दिया तिर जाऔं, तपाईंको बाल्यकालतिर जाऔं, आजभन्दा तीन दशक अगाडि जाऔं । कसरी बित्यो तपाईंको बाल्यकाल ?

बाल्यकाल साधारण त थिएन । साथीहरुसँग भिड्ने, झगडा गर्ने परिपाटी थियो ।

आक्रामक हुनुहुन्थ्यो तपाईं ?

‘एग्रेसिभ’ थिएँ । साथीहरुसँग झगडा गर्ने, पढ्दाखेरि पनि ग्याङ फाइटहरु हुने सानैदेखि । त्यसबेला पनि एउटा ग्रुपको नेतृत्व मैले नै गर्थेँ । पढाइमा मेरो धेरै ध्यान नै थिएन । खेल्ने, झगडा गर्ने... ।

किन त्यस्तो ?

सानोमा अब त्यस्तै थियो ।

भनेको, शिक्षा–दीक्षा थिएन ? सम्झाउने मान्छे थिएनन् ?

सम्झाउने मान्छेहरु थिए । परिवारमा मेरा दुई जना दाजु हुनुहुन्छ । एक जना दिदी । मचाहिँ कान्छो । हामी चारजना ।

परिवार कस्तो थियो ?

परिवार त एकदम गाउँको, सिम्पल । आज पनि तपाईंले साथीहरु पठाउनुभएको होला सायद । त्यहाँबाट पनि फोटोहरु झिकाउन सक्नुहुन्छ ।

खान लगाउन, विद्यालय जानका लागि परिवार कस्तो थियो ?

त्यही हो काम गर्ने खाने त्यति हो । काम नगरे खान सम्भवतः पुग्दैन थियो ।

बुबाआमा के गर्नुहुन्थ्यो ?

बुबा–आमा त खेती किसानी । त्योभन्दा पहिला सानो व्यापार । त्यो गल्लाहरुको व्यापार हुन्छ नि, धान गहुँ मकैको सानोतिनो व्यापार गर्ने । त्योभन्दा पहिले इँटा भट्टाहरु लगाउने, पोल्ने काम गर्नुहुन्थ्यो । त्योभन्दा पहिला जंगलबाट ल्याएर टोकरीहरु हुन्छ नि, त्यो बनाएर बेच्ने अवस्था थियो ।

पछिपछि अलिकति सुधार हुँदै गयो । दाइहरू हुनुभयो । उहाँहरु पनि काम गर्न थाल्नुभयो । त्यसपछि परिवारको अवस्थामा सुधार आयो । मसम्म आइपुग्दा अलिकति ठिकै भयो ।

विद्यालय कति टाढा थियो ?

मैले त पहिलो मदरसा शिक्षाबाट सुरू गरेको हो । मेरोभन्दा फरक टोलमा थियो । जम्मा २-३ सय मिटर टाढा ।

जुत्ता, चप्पल लगाउने अवस्था थियो ?

म यहाँ पढ्न आउँदा पनि चप्पल नै लगाएर आएको हो खासगरी । म पब्लिक हेल्थ पढ्न आएको हो । यहाँ पनि म चप्पल नै लगाएर क्याम्पस पुग्थेँ । त्यतिबेलाको मेरो चिफ सर कपिल ज्ञवाली हुनुहुन्थ्यो । उहाँले आज पनि फोन गर्नुभएको थियो । उहाँले उदाहरण नै दिनुहुन्थ्यो कलेजमा । हेर ऊ चप्पल लगाएर आएको छ । 

उहाँले कलेजमा मलाई स्करलसिपहरु सबै मिलाइदिनुहुन्थ्यो । त्यो हिसाबको मेरो अवस्था थियो । अहिले पनि म साधारण सोचिरहेको छु । अहिले म मन्त्री छु एक महिना, दश दिनपछि के हुन्छ थाहा नै छैन ।

राजनीतिक चेतना कहिलेबाट आयो ?

म त राजनीतिबाट घृणा मान्थेँ । राजनीति गर्नुहुँदैन । राजनीति भनेको ठूलाबढाले गर्ने मात्र हो भन्ने सोच थियो । हामीले एउटा सानो जागिर गर्नुपर्छ, परिवार चलाउनुपर्छ, आनन्दसँग बस्नुपर्छ भन्ने सोच भएर काठमाडौंसम्म पढ्न आएको ।

सकेसम्म पढ्ने अनि जागिर खाने ?

पढ्न आउने बेला पनि धेरै समस्याहरु झेलेरै आएको हो । तर, मैले पहिलो पटक डा. सीके राउतको बायोग्राफी हेरेँ । एकजना साथी नरेन्द्र पासवान भन्ने हुनुहुन्छ, उहाँबाट पाएँ । उहाँको एउटा एनजीओ थियो । उहाँहरुको सम्पर्क डाक्टर सा’बसँग थियो । एउटा पेपरमा उहाँको बायोग्राफी पढेपछि ब्ल्याक बुद्ध भन्ने डकुमेन्ट्री पाएँ । त्यो हेरेपछि मेरो दिमाख नै ‘चेन्ज’ भएको हो खासमा ।

त्यो जोडिन तपाईंलाई सहज भयो ? आफ्नो समुदाय जस्तो भयो ? पहिला तपाईंलाई राजनीतिसँग वितृष्णा थियो । पछि सीके राउतको बायोग्राफी पढेपछि यसले मेरो र्मम बुझ्छ भन्ने भावना आयो कि के ?

सुरुमा मेरो त्यस्तो केही थिएन । सुरुमा मेरो एकदम सिम्पल सोचाइ के थियो भने– राजनीति भनेको ठूलाहरुले गर्ने हो । धनी व्यक्तिले राजनीति गर्ने हो, सानाले राजनीति गर्नुहुँदैन र गर्न पनि सकिँदैन, पहुँच हुँदैन भन्ने थियो ।

हामी सीमान्तकृत, हामी गरिब...

अँ । त्यो सोच थियो । पहाडी मधेसी भन्ने होइन । पहाडीले मात्र राजनीति गर्छ मधेसीले गर्न पाउँदैन, मुस्लिमले गर्न पाउँदैन भन्ने होइन ।

त्यसो भए अरु मन्त्रीभन्दा तपाईं के फरक ? अब तपाईं त सीमान्तकृत, गरिब समुदायबाट आउनुभयो, बहिस्कृत समुदायबाट आउनुभयो भनेपछि, अरु मन्त्रीभन्दा तपाईंमा केही फरक त छ होला नि ?

अरुभन्दा म के फरक हुन्छु, त्यो मूल्यांकन म आफैँ चाहिँ गर्न सक्दिनँ । त्यसका लागि हजुरहरुले मूल्यांकन गर्ने हो । जनताले मूल्यांकन गर्ने हो । म त खासमा अरुभन्दा के फरक बन्न चाहान्छु भने म जुन पृष्ठभूमिबाट आएको छु, त्यो भुल्न चाहदिनँ । गरिब दुःखी मान्छे ठूलाहरुसँग भेट्नलाई पनि कस्तो अवस्थामा पुग्छन् घण्टौं लाग्छ । त्यो हुन दिन्नँ भन्ने स्थितिमा म छु । मसँग साधारण मान्छेहरु जहाँबाट म आएको छु, उनीहरु सिधा आएर मसँग भेट गर्न सकुन् । मसँग आफ्नो कुरा राख्न सकुन् । त्यो हिसाबले म सोचिरहेको छु ।

तपाईं बर्दियाको एउटा गाउँबाट सिंहदरबारमा छिर्नुभयो । त्यसको तारतम्य मिलेको छ ?

एकाएक त छिरेको होइन । संगठनमा लागेपछि २०६८ सालमा मैले डाक्टरसा’बसँग भेट गरेको हो, अनामनगरमा । एउटा कार्यक्रममा म वैज्ञानिक कस्तो हुँदो रहेछन् भनेर स्वयंसेवका रुपमा हेर्न गएको थिएँ । ठूलो हल थियो । त्यहाँ २ सय जनाभन्दा बढी मान्छे हुनुहुन्थ्यो । म पछाडि एउटा बेन्चमा बसेको थिएँ । डाक्टरसा’ब आएर मसँग बस्नुभयो । मलाई घर कहाँ हो, के गर्छौ भनेर सोध्नुभयो, मैले जवाफ दिएँ । उहाँले भन्नुभयो– सबै जान्छन्, तपाईं यही बस्नू । सबै गइसके । ९–१० बजेको थियो रातिको । हामी १० जना त्यहाँ बस्यौं । त्यसपछि हामीले एक होटलमा गएर खाना खायौं । फोन नम्बर आदान–प्रदान भयो । पछि कुराकानी हुन थाल्यो । यसरी म जोडिएँ ।

तपाईंको गाउँको कुरा गरौं । तपाई आठ कक्षामा पढ्दा १३ वर्षको उमेर थियो । त्योबेला तपाईंले विवाह गर्नुभयो । श्रीमतीको उमेर कति थियो ?

मभन्दा तीन वर्ष कान्छी । लगभग १० वर्ष ।

अहिले पनि त्यो क्षेत्रमा कम उमेरमा विवाह गर्ने चलन छ नि होइन ?

अहिले त धेरै कम भएको छ । तर, कहिलेकाहीँ भइरहन्छन् त्यो यर्थात कुरा हो । तर, मेरो विवाह हुँदा दाइ, दिदीको विवाह भइसकेको थियो । मेरी आमा सधैँ बिरामी भइरहनुहुन्छ । छालाको रोग छ । गर्मी महिनामा उहाँ धेरै बिरामी पर्नुहुन्छ । त्यही भएर यसको विवाह गरिदिउँ, कतिबेला पृथ्वी छोडेर गइन्छ भनेर विवाह गरेको हो ।

श्रीमती अहिले कहाँ हुनुहुन्छ ?

उतैतिर घरमै हुनुहुन्छ । म यहाँ एक्लै हो ।

आज तपाईं मन्त्री भएर ती कुरालाई कसरी हेर्नुहुन्छ ? बाल विवाह हुनु त विकृति हो नि ?

हो विकृति हो । गर्नुहुँदैन । पछि थाहा भयो, त्यस समयमा त थाहा थिएन । समाज, घर परिवार सबै उस्तै भएपछि मैले रोकेर पनि त्यसबेला रोकिने अवस्था थिएन । त्यति थाहा पनि थिएन । अहिले थाहा भयो । म के हेरिरहेको छु भने– नागरिकता पाउने उमेर १८ वर्ष, विवाह गर्ने उमेर २० वर्ष, यो अलिकति मिलेन के । यो ठ्याक्कै मिलेन । कि नागरिकता पनि २० मा दिनुपर्ने, कि विवाह पनि १८ मा दिनुपर्ने । देशले के भन्छ भने नागरिक भइसकेपछि नागरिकता प्राप्त गरेपछि त्यो बालक त हुँदैन ।

तपाईं जस्तो अल्पसंख्यक समुदायबाट राष्ट्रिय राजनीतिमा आउन कति सजिलो रहेछ ? अथवा कति गाह्रो ?

यसमा दुईवटा कुरा हुन्छ । आफ्नो पनि इच्छा हुनुपर्छ र आँट पनि हुनुपर्छ । कुनै पनि समुदाय होस्, अर्को आउने वातावरण हुनुपर्‍यो । यी दुई कुरा मिलेपछि आउन त्यति गाह्रो हुन्छ जस्तो मलाई लाग्दैन । आफू पनि कोशिस गर्नुपर्‍यो । कोशिस नगरी हामी पिछडिएको वर्ग हो, हाम्रो प्रतिनिधित्व हुनुपर्छ भनेर मात्र पनि हुँदैन ।

तर समाज र राज्यले त्यो समुदायको सशक्तीकरणका लागि, शिक्षित गराउनका लागि बलियो त बनाउनुपर्‍यो नि । तपाईं त बलियो हुनुहुन्थ्यो, लडाकु हुनुहुन्थ्यो । हेर्न गएको एउटा वैज्ञानिकलाई अभिभावक पाउनुभयो होला । सबैले त त्यो अवसर पाउँदैनन् होला नि ? त्यो समुदायमा धेरै सशक्तीकरणको कार्यक्रम लैजानुपर्छ होला नि ? एउटा मुस्लिम, दलित समुदायको मान्छेले चाहेर मात्र हुन्छ र ?

चाहेर मात्र हुँदैन । राज्यबाट त गर्नु नै पर्छ र राज्यले गरिरहेकै छ । नगरेको पनि होइन । ‘कलस्टर’ अनुसार सबै कुरामा राज्यले ध्यान दिएकै छ । राज्यको पनि अवस्था हेर्नुपर्छ हामीले । राज्यले गर्ने आफ्नो तर्फबाट गर्नै पर्छ । सीमान्तकृत वर्गले पनि आफ्नोतर्फबाट गर्नैपर्छ । बसेर मात्र हुँदैन । यो त एउटा राजनीतिक क्षेत्र मात्र भयो । राजनीतिमा मात्र होइन, अरु अरु कुरामा पनि सीमान्तकृत वर्गहरुले मिहेनत गर्नैपर्छ । लगनशील हुनैपर्छ । किनभने, १० वटा काम साँचेर हुँदैन । काममा लागिसकेपछि आँटका साथ गर्नुपर्छ । म लाग्दा त्यसबेला जागिर पनि खान्छु, राजनीति पनि गर्छु, तीन चारवटा काम गरेको भए यहाँ आइपुग्ने थिइनँ । मैले सबै कुराको त्याग गरेँ त्यसबेला देखि नै । मैले अलिअलि एनजीओहरुमा पनि काम गरेँ । राजनीतिमा लागेपछि सबै कुराको त्याग गरेँ ।

चुनावअघिसम्म आन्दोलनकारी । त्यसअघि विद्यार्थी । अझ भनौं सामान्य नागरिक । निकट विगतको एउटा सामान्य नागरिक अहिले मुलुकको मन्त्री । पहिले सरकारबाट सेवाको अपेक्षा गर्ने नागरिक अहिले सेवा दिने मन्त्री हुनुहुन्छ । नागरिकका रुपमा अपेक्षा गर्न सजिलो हुँदो रहेछ कि सेवा दिन ? इमानदार भएन भनिदिनुस् न ?

अपेक्षा गर्न त धेरै सजिलो छ । अपेक्षा गर्न कुनै बाधा छैन । आन्दोलन गर्न अप्ठ्यारो छ, आन्दोलन त्यसै हुँदैन ।

तर, सडकमा चर्को नारा लगाउन त रमाइलो होला नि ?

चर्को चर्को नारा लगाउन पनि आटँ चाहिन्छ । त्यसका लागि पनि मिहेनत नै चाहिन्छ । त्यतिकै नारा लाग्दैन । तर, यी दुई कुराभन्दा सेवा दिन पक्कै अप्ठ्यारो छ । किनभने, मैले पहिला नै भनेँ यहाँ धेरै कुरा जोडिएको छ । म अहिले खानेपानी मन्त्री छु । एउटा चापाकल दिन पनि यहाँ धेरै सोच्नुपर्ने हुन्छ ।

बुझ्ने गरी भनौं । तपाईं जुन परिवेशबाट आउनुभयो, त्यहाँको एउटा परिवारले अझै पनि मलाई एउटा चापाकल (ट्युबेल) भए हुन्थ्यो भनिरहेको हुन्छ ? त्यो पानी तान्ने कल दिन पनि गाह्रो हुन्छ मन्त्री भएर पनि भन्दै हुनुहुन्छ ?

हो हो । अहिले किन गाह्रो छ भने– मन्त्रालयभित्रका कर्मचारी साथीहरुलाई सोध्दा हामीसँग त्यो शीर्षकमा बजेट छैन, पहिला त्यो कुरा सुनाउनु हुन्छ । बजेट छैन भने कसरी मिलाउन सकिन्छ भन्दा रकमान्तरण गर्नुपर्छ । यसका लागि अर्थमन्त्रालयमा फाइल पठाउनुपर्छ । अर्थमन्त्रालयले मानिरहेको छैन भन्नुहुन्छ । अर्थमन्त्रालयले स्वीकृति दिए पनि कहाँ गर्ने ? कसरी गर्ने ? योभन्दा अघिल्लो मन्त्रीले यो ठाउँ छान्नुभएको थियो, यहाँ टेन्डर गर्ने कुरा गर्नुभएको थियो भनेर फेरि त्यो टेन्डर प्रक्रिया गर्ने काम हुन्छ। त्यो प्रक्रियाका लागि १ सय ८४ दिन लाग्दो रहेछ ।

त्यसमा तपाईंले दायाँबाया गर्न लाग्नुभयो भने एकदिन तपाईंलाई अख्तियारले समाउँछ....

म त्यति साह्रो अख्तियारलाई प्राथमिकता दिन्नँ । किनभने म त्यो कुरामा संलग्न नै हुन चाहन्नँ ।

विधि प्रक्रिया अपनाउछु भन्दा भन्दै पनि चिप्लने सम्भावना हुन्छ नि ?

मैले सुनेको, क्याबिनेटमै एकदिन छलफल हुँदा सुनेको कुरा, एउटा पुल अर्को ठाउँमा पास भएको थियो, मन्त्रीले अर्को ठाउँमा बनाइदिए । पुल अहिले सुचारु छ । जनताले गाडीमा आवत–जावत गरिरहेका छन् । तर त्यहाँ पनि अख्तियारले मुद्दा हालेको रहेछ । अथवा समाउन लागेको छ । यस्तो पनि अवस्था छ । त्यसकारण, एउटा परिवेश जुन छ, बाधा लगाउने जे हुन्छ, यी कारणले एउटा चापाकल दिन पनि कति प्रक्रिया पूरा गर्नुपर्छ ।

तपाईं के संकेत गर्दै हुनुहुन्छ ? त्यसो भए यसरी हेर्न हो भने यो गठबन्धनको सरकार छ । तपाईंले त्यो मन्त्रालय सम्हाल्नुभएको छ, जुन प्रधानमन्त्रीले जिम्मा लगाए । तपाईंको पार्टीले मागेको अरु कुनै मन्त्रालय थियो । अझ राम्रो मन्त्रालयको सौदाबाजी भएको भए तपाईंका पार्टी अध्यक्ष सीके राउत आफैँ आउनुहुन्थ्यो होला । ठिकै लाग्ने मन्त्रालय पाएपछि तपाईंको नेतृत्वमा पठाइएको छ । अस्ति चुनावमा तपाईंका पार्टी अध्यक्ष (सिके राउत) ले हजारौंलाई तराईमा रोजगारी दिन्छु भन्नुभएको छ । अहिलेको संरचनाको विरोध गर्नुभएको छ । ठूलो सपना बाँड्नु भएको छ नि ? आजसम्मको राज्य सञ्चालनको प्रक्रियाको अत्यन्तै ठूलो आपतिको नारा लगाएर आएको हो नि तपाईंको पार्टी । भनेपछि, अपेक्षा त्यति धेरै छ । दुई महिनामा तपाईंको अनुभव के छ भने एउटा खानेपानी मन्त्रीले एउटा पानी तान्ने कल दिन सक्ने अवस्था छैन । के सोच्दै हुनुहुन्छ ? कसरी अगाडि बढ्नुहुन्छ ?

पहिलो कुरा, हाम्रो अध्यक्षले अहिले पनि मन्त्री भएर काम गर्ने इच्छा देखाउनुभएको छैन । किनभने, उहाँको जुन वैद्धिकता छ, उहाँको जुन लेभल छ, त्यो हिसाबको वातावरण छैन ।

उहाँलाई मन्त्री बन्न सुहाउँदैन ?

सुहाउन त सुहाउँछ । त्यो हिसाबको वातावरण छैन । अर्को कुरा, यदि उहाँले चाहेको भए उद्योग र कृषि मन्त्रालय पाउनुहुन्थ्यो, त्यो मलाई पूर्ण विश्वास छ ।

तपाईंहरुको जनाधार भन्दै हुनुहुन्छ, जुन समुदायबाट तपाईं आउँदै हुनुहुन्छ, जुन सीमान्तकृत भन्नुहुन्छ, जसले एक थोपा पानी खान सकेको छैन । तिनलाई अरु उद्योग भन्दा चापाकल नै ठिक थियो हैन ? तपाईं यो मन्त्रालयमा पानी दिन सक्नुभएको छैन अर्को मन्त्रालय किन खोज्दै हुनुहुन्थ्यो ?

हाम्रो घोषणपत्र, चुनावी प्रचारमा हामीले कहिल्यै पनि भनेका थिएनौं कि हामी तपाईंलाई पानी दिन्छौं । तपाईंको घरघरमा पानी पुर्‍याउँछौं । हामी के भनेर आएका छौं भने, रोजगारी दिन्छौं । दश लाख रोजगारी सिर्जना गर्छौं भनेर आएका छौं । किसानका लागि मल उपलब्ध गराउँछौँ भनेर आएको हो । यसका लागि ठूलो आन्दोलन नै गरेर आएको हो यहाँसम्म । त्यो हिसाबले हाम्रो माग त्यो मन्त्रालय थियो । त्यो हिसाबले हाम्रो मन्त्रालय उद्योग र कृषि थियो । हाम्रो मागअनुसार नभएपछि मैले खानेपानी मन्त्रालय सम्हालेँ ।

यो मन्त्रालय सम्हालेपछि मलाई यो मन्त्रालय छोड्नै हुँदैन भन्ने भइरहेको छ । यो मन्त्रालयबाट धेरै काम गर्न सकिन्छ । यसको आवश्यकता घरघरमा छ । पहिला हाम्रो मानसिकता अर्कै मन्त्रालयमा बनेको थियो । यता आउँदा, बुझ्दै जाँदा तराई मधेसमा पानी भए पनि गुणस्तरीय पानी नखाएर धेरै मानिसको पैसा स्वास्थ्यमा खर्च भइरहेको छ । पहाडमा पनि उत्तिकै समस्या । हिमालमा पनि उत्तिकै समस्या । काठमाडौं भ्यालीभित्र उस्तै समस्या । यी सबै कुरा देखेपछि त मलाई यही मन्त्रालयमा काम गर्नुपर्छ जस्तो लागिरहेको छ । यो मन्त्रालय वास्तविक जनताको मन्त्रालय हो, यसलाई जसले हेला गरे पनि ।

युनिसेफका अनुसार १ करोड ८ लाख जनसंख्यालाई उपयुक्त सरसफाइको सुविधा छैन भने ३५ लाख जनसंख्यालाई आधारभूत खानेपानीको सुविधा छैन । तपाईं विभागीय मन्त्री, कसरी खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउनुहुन्छ ? अघि भन्नुभयो, कल किन्न यति धेरै विधि छ । तपाईं कसरी गर्नुहुन्छ ?

यो विधि छ, यसलाई हामीले चिर्न सकिन्छ । यसलाई समाप्त पार्न सकिन्छ । मैले मन्त्रालय सम्हालेको दिनदेखि गरेको वाचा पूरा गरेको छु, हेर्नुहोस् । कसैले इतिहासमा नगरेको काम गरेको छु, सिंहदरबारमा मेलम्चीको पानी ल्याएर । सिंहदरबारमा खानेपानी र काठमाडौंका जनताले खानेपानी एउटै हुन्छ भनेर अहिलेसम्म आएको थिएन ।

कहाँ त्यो तपाईंले गरेको हो त ? तपाईं पुग्दा पानी पनि आइपुग्यो नि...

म पुग्दा होइन । म पुग्दा केही पनि आएको थिएन त्यहाँ ।

आइसकेको पानी अघिल्लो पटक बाढीले बगाएर केही क्षति पुगेको थियो । एडीबीको अर्बौं लगानी भइरहेको थियो...

होइन, मैले मेलम्चीको कुरा गरेको छैन । मैले सिंहदरबारको कुरा गरिरहेको छु ।

सिंहदरबारमा खानेपानी उपलब्ध थिएन ?

थिएन ।

तपाईंले ल्याउनुभयो ?

एमदम ल्याएँ । त्यहाँ पब्लिकको लागि भोलि–पर्सी ट्याङ्की जडान हुँदैछ ।

प्रधानमन्त्रीलाई पानी खुवाउछु भन्नु भएको थियो । खुवाउनुभयो ?

पर्सिसम्म ट्याङ्की जडान हुन्छ । त्यसपछि उहाँको टाइम लिएर म छिटै त्यो काम गर्छु ।

प्रधानमन्त्रीले बोतलको पानी खान्छन्, कहाँ तपाईंले ल्याएको धाराको पानी खान्छन् ?

किन खानुहुन्न ? एकदम गुणस्तर जाँच गराएर न खुवाउने हो । उहाँले, अथवा ठूलाबडाले खाने जुन पानी छ, त्यसको गुणस्तर र हामीले खुवाउने मलम्चीको पानीको गुणस्तर उस्तै भएपछि किन नखाने ?

काठमाडौंका जनतालाई कसरी पानी खुवाउने भनेर बुझ्नु भयो ?

काठमाडौं भ्यालीको कुरा गर्नुभयो तपाईंले । अहिले २६ किलोमिटरको टनेल छ । त्यो टनेलको क्षमता भनेको ५१ करोड लिटर हो । गत वर्षको बाढीले दुईवटा मुहान पुरियो । एउटा मुहानबाट १७ करोढ लिटर दैनिक पानी आइरहेको छ । पुरिएका टलेन सञ्चालन गर्न धेरै समय लाग्छ । बीचमा बाढी आएन र क्षति भएन भने । त्यसलाई रिप्रोसेसमा ल्याउँन धेरै समय र लगानी लाग्छ । त्यसको विकल्पमा हाम्रो दुईवटा खोला छ, ङ्याग्री र लार्के । त्यो दुई खोलालाई जोड्न पायो भने हुन्छ । त्यसका लागि डेढ वर्ष मेरा लागि उपयुक्त समय हो । म डेढ वर्षभित्र पानी ल्याएरै छोड्छु । त्यसको विकल्पमा सिसनेरी छ । त्यसको डीपीआर भइरहेको छ । यो दुई तीनवटालाई जोड्न पायो भने काठमाडौंमा प्रशस्त पानी आाउँछ । यो ल्याउन पनि सकिन्छ ।

अब म तपाईंलाई तपाईंको जनमत पार्टीतर्फ लैजान्छु । एकदमै ठूलो विद्रोह गरेर, छुट्टै मधेस प्रदेशको माग गरेर, एक किसिमको विखण्डनकारी नारा लगाएर यहाँसम्म आइपुग्नुभयो । त्यो पृष्ठभूमि हुर्नुभयो भने अहिले तपाईं राज्य सञ्चालनमा बस्दै गर्दा, मन्त्री भएर हेर्दै गर्दा कति जायज लाग्छ ?

खासमा त्यो कुरामा हेर्ने दृष्टिकोणमा भर पर्ने कुरा हो । हामीले जहिले पनि भन्दै आएको हो– यदि अधिकार पाइँदैन, समानता पाइँदैन, रोजगारी पाइन्न भने देशमा जे सुकै हुन सक्छ । यो कुरा हामीले सुरुदेखि भन्दै आएको हो ।

त्यसको अर्थ जथाभावी जनता उफार्ने, उग्र नारा लगाउने, देशमै अशान्ति सिर्जना गर्ने त होइन नि ?

हामीले कहिल्यै पनि देशमा अशान्ति सिर्जना गरेको छैनौं । कहिल्यै पनि हाम्रो कारणले द्वन्द्व र गोली चलेको, मान्छे मारिएको घटना काँही पनि भएको छैन । हामीले जहिले पनि शान्तिपूर्ण धर्ना गर्‍यौं, प्रदर्शन गर्‍यौं । हिरासतमा पर्दा पनि फूल दियौं । यति शान्तिपूर्ण आन्दोलन नेपालको इतिहासमा अहिलेसम्म भएको छैन होला । डा. सीके राउतको नेतृत्वमा भएको मधेसको स्वराज आन्दोलन वा जनमत पार्टीको आन्दोलन भनौं, यस्तो शान्तिपूर्ण आन्दोलन नेपालको इतिहासमा भएको छैन । तर मुद्दा राणाकालमा भन्दा बढी लाग्यो ।

आफूलाई परेर इतिहासमा नभएको भन्ने लागेको हुन सक्छ ?

प्रमाण देखाउनुपर्‍यो नि । मलाई राति ९ बजेदेखि २ बजेसम्म प्रहरीले कुट्यो । बिहान छोड्दा मैले प्रहरीलाई फूल दिएँ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.