भारत जान लागेका प्रधानमन्त्री दाहाललाई पी लामाको सुझाव- जलवायु परिवर्तनको असरविरुद्धको लडाइँको नेतृत्व लिनू

वैशाख ६, २०८०
भारत जान लागेका प्रधानमन्त्री दाहाललाई पी लामाको सुझाव- जलवायु परिवर्तनको असरविरुद्धको लडाइँको नेतृत्व लिनू

काठमाडौं । महेन्द्र पी लामा-  सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलकपति, इन्दिरा गान्धी खुल्ला विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । प्राध्यापक लामाले नेपाल–भारत मामिलालाई नजिकबाट अध्ययन गरेका छन् । उनी नेपाल–भारत सम्बन्धमा देखिएका समस्या समाधान गर्न बनेको प्रवुद्ध समूहका सदस्यसमेत हुन् ।

पछिल्लो समय भारतको नेपालसँग चिसिएको सम्बन्धबारेमा उनी भन्छन्, ‘बाहिर बसेर हेर्दा भारतले चासो नै नदेखाएको जस्तो लाग्छ । भित्र हेर्नुभयो भने सरकार पनि चिन्तित छ । यस्तो कुरा किन भयो ? कसरी भयो ? अहिलेसम्म भएको थिएन भन्ने कुरामा चिन्तित छन् ।’

प्राध्यापक लामाले यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अलि भिन्न हुने आशा गरेका छन् । उनले प्रधानमन्त्री दाहाललाई भ्रमणमा ‘ग्लोबल इस्यु’मा नेपालले नेतृत्व लिने र त्यसमा भारतलाई सघाउन आग्रह गर्ने प्रस्ताव लिएर जान सुझाए ।

लामा भन्छन्, ‘जलवायु परिवर्तन ‘ग्लोबल इस्यू’ हो । प्रधानमन्त्रीले यसको बारेमा नेतृत्व गर्ने प्रस्ताव गर्नुभयो भने नेपाललाई ठूलो फाइदा हुन्छ । नेपालको अन्तर्राष्ट्रिय समाजमा ‘ब्रान्डिङ’ नै परिवर्तन हुन्छ ।’

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम टफको आजको अंक प्राध्यापक लामासँग अहिलेको अवस्थामा भारतले नेपालसँग के चाहिरहेको छ ? एमसीसी पारित भएपछि बाक्लिएको अमेरिकी अधिकारीहरुको नेपाल भ्रमणलाई भारतले कसरी हेरेको छ ? पछिल्लो समय नेपालसँग चिसिएको सम्बन्धलाई भारतले कसरी हेरेको छ ? प्रधानमन्त्री दाहालको आगामी भारत भ्रमण र भूराजनीतिक परिस्थितिबाट नेपाललाई पार्न सक्ने प्रभाव लगायतका विषयमा जवाफ मागेका छौं ।

प्रस्तुत छ– प्राध्यापक लामासँग प्रधानसम्पादक दिलभुषण पाठकले गरेको कुराकानीको संक्षिप्त अंश :

तपाईंसँग अन्तर्वार्ता लिन नेपाल आएको मौका छोप्नु पर्छ । यो तपाईंसँगको दोस्रो अन्तर्वार्ता हो । यसअघि २०७३ साल असार २२ अर्थात् २०१६ जुलाई ६ मा कुराकानी गरेको थिएँ । जतिबेला नेपाल–भारतबीच देखिएका असमान सन्धि तथा समस्या समाधानका लागि बनेको प्रवुद्ध समुहको पहिलो बैठक सकिएको थियो । त्यो विषयमा पछि जाउँला । सबैभन्दा पहिला यस पटक नेपाल के कामका लागि आउनु भयो कति दिनको बसाइँ छ ?

यो पाली नेपालामा हेर्नुुस् है, नेपालमा हाम्रो ‘इडिपेन्डेन्ट पावर प्रोडुसर एसोसियसन अफ नेपाल’ आइप्यानले पावर समिट गरेको छ । समिटमा नेपालको विजुलीको व्यापारका लागि बजार कति ठूलो छ भन्ने प्रश्नहरुमा निकै छलफल भयो । ५००–६०० व्यक्तिहरु विभिन्न राष्ट्रबाट आएका छन् । हिजो दिनभरि बसेर त्यस विषयमा छलफल भयो । प्रधानमन्त्री पनि आउनुभयो ।

संयोग जस्तै भैरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै भारत भ्रमणको तयारीमा छन् । आज तपाइसँग कुरा गर्ने अवसर मिल्यो । सुरुवात त्यहीँबाट गरौं । प्रधानमन्त्री दाहालको यस पटकको भारत भ्रमण औपचारिकता मात्रै हुन सक्छ कि ? भारतले पनि विशेष महत्व दिन सक्छ ?

मलाई लाग्छ यो पटकको भ्रमण अलिकति भिन्न हुन्छ कि जस्तो छ । यसमा दुई–तीनवटा कारण छन् । एउटा कारण उहाँ प्रधानमन्त्री भएको दुई–तीन महिना मात्र भयो । पाँच वर्ष नेपालमा के गर्ने ? कसो गर्ने भन्ने एउटा योजना पनि होला । कल्पना पनि होला । उहाँले गर्छु भनेको काम पनि होला । यसमा भारतसँगको जुन सम्बन्ध छ यसले ठूलो भूमिका निभाउने हुनाले मलाई लाग्छ यो भ्रमण अलि फरक हुन्छ ।

दोस्रो कारण– अब हाम्रै राष्ट्रमा पनि प्रधानमन्त्री नेरेन्द्र मोदी ९ वर्ष प्रधानमन्त्री रहनुभयो । उहाँ पनि मैले छिमेकी राष्ट्रहरुलाई यो यो गर्नुपर्ने छ भनेर एउटा ठीक दिशातर्फ उहाँ लाग्न भएको छ । जस्तो उहाँले ‘नेवरहुड फस्ट पोलेसी’ भनेर ल्याउनुभयो । ‘को–अप्रेटिम फ्रेडलिजम’ भन्ने प्रश्नहरु ल्याउनु भयो । र अहिले ठूलो प्रश्न उहाँले के भन्दै हुनुहुन्छ भने सबै छिकेकी राष्ट्रसँग ‘कनेक्टिभिटी’ छ, आवतवाजत गर्ने बाटो, व्यपार, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका विषय कसरी सुगठित बनाउने भन्नेतर्फ उहाँले धेरै काम गर्दै हुनुहुन्छ । यो छर्लङ्ग छ ।

तर बीचमा अलिकति बिचलित हुनुभयो भन्ने आरोप लाग्यो, भारतमा पनि आलोचना भयो । छिमेकीलाई गर्ने व्यवहारमा बिचलित हुनुभयो भन्ने छ नि ?

अब त्यो घटनालाई हेर्नुभयो भने त्यो कुराको विशेषता देख्नुहुन्छ । तर तपाईंले लामो सम्बन्धलाई हेर्नुभयो भने त्यो एउटा घटना मात्र हुन्छ । घटना कै आधारमा विदेश नीति चलाइदैन । घटना त हुँदै गर्छ नि, आज यो घटना भोलि त्यो घटना । विदेश नीतिको लामो अवधि हुन्छ ।

विशेषगरी नेपाल र भारतको कुरा गर्दा घटना सामान्य रहेन नि ? सीमा विवाद रह्यो । कालापानी लिम्पियाधुराको कुरा, भारतीय सेनाले तुइन काटेर मान्छे खोलामा झरेको घटना भयो । यी त सामान्य लाग्दैन नि होइन ? यी विषयमा भारत पक्षले अलि बढी मूल्याङ्कन गर्नुपर्ने पक्ष हो नि ?

बाहिर बसेर हेर्दा चासो नै नदेखाएको जस्तो लाग्छ । मूल्याङ्कन नै नभए जस्तो लाग्छ । भित्र हेर्नुभयो भने सरकार पनि चिन्तित छ । यस्तो कुरा किन भयो ? कसरी भयो ? अहिलेसम्म भएको थिएन भन्ने कुरामा चिन्तित छन् ।

इपीजी नै यस्तै समस्याहरु समाधान गर्न भनेर तपाईंहरुको प्रवुद्ध समूह संयोजन गरियो । तपाईंले लामो समय लगाएर प्रतिवेदन तयार गर्नुभयो तर भारत पक्षले नबुझेका कारण अड्किरहेको छ । यस्ता प्रमाणले त प्रश्न गर्ने ठाउँ भयो नि, कि– प्रधानमन्त्री मोदीको बोली र व्यवहार मिलेन ।

त्यो हो । इपीजीको रिपोर्टका सन्दर्भमा म आफैँ सदस्य भएकाले मेरो चाहाना थियो र हाम्रो निर्णय पनि थियो कि– त्यो रिपोर्ट पहिला भारतका प्रधानमन्त्रीलाई चढाउँ । त्यसपछि लगत्तै आएर नेपालमा आएर प्रधानमन्त्री ज्यूमा चढाउँ भन्ने । त्यो भएन । के के कारणले भएन त्यो सरकारले नै जान्ला तर हामीले रिपोर्ट तयार पारेर, ठीक गरेर चढाउने अवस्थामा हामी पुगिसकेका थियौैं ।

धेरैले धेरै कमेन्ट्री गरे । कसैले यो कारणले भने कसैले त्यो कारणले भने । तर हामी आठ जनाले जे रिपोर्ट लेख्यौं, हामीले जे जे रिपोर्ट ग¥यौं, हामीले के लेखेका छौं भन्ने हामीलाई सबै थाहा छ । हामीलाईं बाहिरबाट आएको कमेन्ट्रीहरुले हामीलाई त्यति सताउदैन । किनकी हामीलाई थाहा छ रिपोर्टभित्र के छ ।

नेपालको पछिल्लो चार महिनाको राजनीति निकै अस्थिर जस्तो देखियो । निर्वाचनअघि कांग्रेससँगको गठबन्धनमा रहेको माओवादी केन्द्र सरकार बनाउन एमालेसँग मिल्न पुग्यो । र त्यो पनि एक महिना टिक्न सकेन । राष्ट्रपति निर्वाचनपूर्व भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आए । त्यसैले प्रभाव पा¥यो भन्ने छ । तपाईं नेपाल भारतलाई यति नजिकबाट बुझने विज्ञ हुनुहुन्छ । एक सचिवको भ्रमणले नेपालको राजनीतिलाई यसरी प्रभावित पार्न सक्छ ?

एकापट्टीबाट नेपालले सार्वभौमिकता, आफ्नो चिनारी र आफ्नो स्वाधिनताको कुरा गर्छ । राष्ट्रमा हुनुपर्ने गुण पनि त्यही हो । म डेढ महिनाअघि बर्मा गएको थिएँ । त्यहाँ मन्डले हिल्समा ठूला गुम्बा छन् । त्यो हिल्सको वरपर घुमेर हेर्दा एउटा पर्खालमा लेखिएको थियो कि– यो मन्डले हिल्स चाहिँ गोरखाहरुले जितेका हुन् र यो हिल्स हामी गोरखालाई समर्पण छौं । त्यति बेलाको गोर्खा र अहिलेको नेपाल कति डरलाग्दो । त्यति बेला सबैले वीरताको गाथा गाइन्थ्यो । आज नेपालमा जस्तो प्रकारको राजनीतिक अस्थिरता छ म कहिलेकाही यस्तो सोच्छु कि– यो नेपालमा मात्र हुन सक्छ अन्त हुन सक्दैन । तपाईंलाई हेर्नुभयो भने सन् २०१५ देखि आठ वर्षको अवधिमा कतिपटक सरकार परिवर्तन भयो ?

तपाईं भन्न खोज्दै हुनुहुन्छ कि ती विदेश सचिव विनयमोहन क्वात्राको के दोष, नेपाली नेताहरु त्यस्ता भए भन्न खोज्दै हुनुहुन्छ ?

निश्चय । एकदमै । उहाँ त एउटा विदेश सचिव हुनुहुन्छ । नेपाल त एउटा राष्ट्र हो । यहाँ प्रधानमन्त्री हुनुहुन्छ, राष्ट्रपति हुनुहुन्छ, क्याबिनेट छ । अनि उहाँ आएर यस्तो भयो भन्नु एउटा ठूलो अपमान नै हो देशका लागि । यो किसिमको बहस नै नहुनु पर्ने ।

डिप्लोमेसीमा तिनको मर्यार्दा हुन्छ कि हुँदैन ? राजनीतिक स्थिरता त्यति धेरै छैन । यो बेला यो गइदिएर, रात बिहान, बेठेगान, सबैलाई भेटेर, सबका बीच एक किसिमको शंकाको वातावरण बनाउन किन आवश्यक थियो ? यो कुनै कूटनीतिक चरित्र हो र ?

होइन । त्यति बेलाको समयमा हेर्ने हो भने अमेरिकाबाट कति मन्त्री आए, त्यसबैलै हेर्नु है । त्यसबेला चीनबाट कति आए । यो उनीहरुले गर्नुपर्ने काम हो ।

होइन आफ्ना समकक्षी भेट्ने काम हुन्छ नि । कुन तहमा कसलाई ? कस्तो समयमा ? कसरी भेटेको छ ? यसले त कुनै सन्देश दिन्छ । अनि गतिला खुट्टी नभएका नेता त आत्तिने भए । अनि त्यसले नै एक किसिमको हलचल ल्याउने भयो । उनी आएर के गएका थिए प्रधानमन्त्रीले राष्ट्रपतिमा भएको सहमति भत्काए । एक महिना टिकेन एउटा सरकार । यो आरोप हो । यसलाई एउटा विद्वानले कसरी व्याख्या गर्नुहुन्छ ?

यस्तो कुरा अहिलेको मात्र होइन । संविधानको ‘एडप्सन’ हुन लाग्दा पनि भारतको ‘फरेन सेक्रेटरी’ आउनुभयो । उहाँले यो गर्नुभयो त्यो गर्नुभयो भने कुरा भयो । यो बारेमा कुनै प्रधानमन्त्रीले किन बोल्दैनन् ? यदि यो कुरा साँचो हो भने प्रधानमन्त्रीले यो कुरा प्रष्ट भने हुन्थ्यो नि । मलाई आएर यस्तो गर्नुभयो मैले यो मानिनँ । जबसम्म नेपालतर्फबाट प्रष्टरुपमा यस्तो कुरा आउँदैन यो खाली अफवाह भएर बस्छ ।

२०७२ सालको संविधान जारी भएपछि नेपाल भारत सम्बन्धमा राजनीतिक तहमै निकै उतारचढाव देखियो । पहिले भारतले नेपालसँग कर्मचारी भन्दा राजनीतिक तहकै संवादलाई प्राथमिकता दिएको देखिन्थ्यो । दुई देशबीच देखिएको समस्या समाधान गर्न तपाईंहरुकै प्रवुद्ध समूहसमेत बन्नु त्यसैको परिणाम होला । तर अहिले फेरि ती सबै विषय पाखा लगाएर भारतले नेपाललाई कर्मचारी तहबाटै प्रभावमा राख्न खोजिरहेको छ भन्ने घटनाक्रमहरुले देखायो । चाहे केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘रअ’का प्रमुख सामन्त गोयल मध्यरातमा बालुवाटार गएको घटना होस, अथवा दुई महिना अघि क्वात्राको भ्रमण । अहिले दुई देशबीचको खटपट के मा छ ? भारतले अहिले के चाहिरहेको छ ?

अब तपाईंले खटपट भन्नुभयो । यस्तो खटपट अरु छिकेकी देशमा किन हुँदैन ? नेपालमै मात्र किन हुन्छ भन्ने कुरामा बहस हुँदैन कहिले पनि । कर्मचारीमा झरको पनि होइन । यो सबै कुरा एउटा देशको राजनीतिमा निर्भर पर्छ । यदि राजनीतिक नेतृत्व बलियो, सुगठित र एकदम सिधा सोच्ने र परिस्कृत सोचको छ भने त्यो राष्ट्रले कसलाई के गर्नुपर्ने, कसलाई कुन आधारमा कसलाई कोसँग भेटाउने भन्ने कुराहरु एकदमै स्पष्ट हुन्छ ।

अब यहाँ त्यस्तो किसिमको सोच छैन कि जस्तो लाग्छ । यहाँ सुगठित नेतृत्व छैन कि जस्तो लाग्छ । ढलपल ढलपल भइरहेको । अहिले पनि मैले पढिरहेको छु कि– मन्त्री बनाइयो तर परराष्ट्र मन्त्रीका लागि लुछाचुडी छ भनेर । त्यसले बाहिर के इंगित के गर्छ भने यो राष्ट्रमा कुनै किसिमको दिशा निर्देश छैन । यस्तो घटना नेपालमा सदैव हुन्छ । आज मात्र भएको होइन । हामीलाई यो कुरा कुनै नयाँ लाग्दैन हामी जब बाहिर बसेर यो कुरा पढ्छौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै भारत भ्रमणको तयारीमा छन् । प्रशस्त थाती रहेका मुद्दाहरु पनि छन् । प्रधानमन्त्री दाहालले भारत भ्रमण जाँदा उठाउनै पर्ने मुद्दा के हुन् ?

यसमा दुईवाट कुरा छन् । एउटा जे भइरहेको छ त्यसलाई समाल्नु र सुगठित बनाउनु । व्यापार वाणिज्यमा भयो, पर्यटन, आवतजावतमा जस्ता कुरामा । अर्को कुुरा अब हामी नेपाल राष्ट्रले यो गर्न चाहान्छौं भनेर ठूला कुरा राख्नुपर्यो । जस्तै इन्डियामा जी–ट्वाटीको मिटिङमा गएर हामी यो गर्न चाहान्छौं, यो चाहान्छौं भन्ने खालको कुरा राख्नुप¥यो ।

हामी भारतमा बसेका जति पनि छौं त्यही चाहान्छौं । नेपालले पनि ठूलो कुरा प्रपोज गरौं न । जस्तै उदाहरणको लागि नेपालले भन्यो– जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर हिमालय क्षेत्रमा पर्ने हुनाले हामी चाहिँ सबै हिमालय क्षेत्रको सबैभन्दा संवेदनशील अंग भएकाले ‘इन्टरनेसनल नेगोसियसन’मा जलवायु परिवर्तनको कुरा गर्दा हामी नेतृत्व लिन्छौं भारत सरकारले सगाउनुपर्छ ।

जलवायु परिवर्तनले हाम्रो मुलुकलाई परेको प्रभावको शिकार त भारत पनि हुन्छ अन्तिममा...

पक्कै । यो त ‘ग्लोबल इस्यू’ हो । प्रधानमन्त्रीले यसको बारेमा नेतृत्व गर्ने प्रस्ताव गर्नुभयो भने यसको दुईवटा ठूलो फाइदा हुन्छ । एउटा फाइदा हो नेपालको अन्तर्राष्ट्रिय समाजमा ‘ब्रान्डिङ’ नै परिवर्तन हुन्छ । जलवायु परिवर्तनको विरुद्धमा लड्ने देश भनेर चिनिन्छ ।

मेरो सोचमा दोस्रो कुरा के राख्नुपर्यो भने– हामीलाई तपाईंले भारतमा जहाँ पनि जान ‘कनेक्टिभिटी’ दिनुहुन्छ । हामी बनारस पनि जानसक्छौं तल केरला पनि जान सक्छौं । अब हामीलाई आसाम मणिपुर भएर बर्मादेखि थाइल्यान्डसम्म जाने बाटो बनाउँदै हुनुहुन्छ । त्यो बाटोमा पनि हिडाउनुहोस् हामीलाई । हाम्रो समान त्यहाँबाट उता पु¥याउँ, बिजुली त्यहाँबाट पु¥याउँ भन्ने ठूलो सोच लियौं भने पूरै स्केल नै चेन्ज हुन्छ ।

तर वीरगन्जमा गोदामले काम गरेको छैन भनेर हुँदैन । यो काम त भारत सरकार र नेपाल सरकारले ‘सेक्रेटरी लेभल’को बैठकबाट पनि गर्न सक्छ । तर दुईका प्रधानमन्त्रीबीच सरकारको मुख्य कुराका बारेमा छलफल हुनुपर्‍यो ।