एमाले रणनीति : रोक्ने र बोक्नेमा को पछारिने ?

श्रावण ८, २०८२ |विजय पौडेल
एमाले रणनीति : रोक्ने र बोक्नेमा को पछारिने ?

काठमाडौं । के नेकपा एमाले फुट्दैछ ? अहिले हामी पत्रकारलाई लगातार सोधिने प्रश्न यही हो ? पार्टीमा अब के हुन्छ नेकपा एमालेका सम्पुर्ण कार्यकर्तामा प्रश्न छ संसय छ । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको रणनीतिमा एमालेको केन्द्रीय समितिले रोक लगाइ सकेको छ । अब काउन्टर रणनीति के हुन्छ पूर्वराष्ट्रपति भण्डारीको ? कि उहाँ अहिले पार्टीले व्याख्या गर्न खोजेको भुमिकामा चुपचाप बस्नुहुन्छ ? यो प्रश्नमा घुमिरहेको छ अहिले एमालेको राजनीति । तर यि घट्नाक्रमको परिणामको चुरो कुरो चाँही गरौ । 

पूर्वराष्ट्रपति भण्डारी प्रवेश गर्दैमा वा अध्यक्ष केपी शर्मा ओलीले छाड्दैमा के नेकपा एमालेप्रतिको जनविश्वास, सरकार सञ्चालन शैली र पद्दतीमा तात्विक फरक आउँछ ?

पार्टी, व्यक्तिले चलाउँछ की विधी वा पद्दतीले ? विधी र पद्दतीले हो भने व्यक्ति पुजामा किन केन्द्रीत हुन्छन् नेता कार्यकर्ता ? पार्टीको नेतृत्वमा फलानो आएपछि सबै ठीक हुन्छ र फलानो हुँदा सबै बिग्रियो भन्ने कुराको मानक के हो ?

के अहिले केपी शर्मा ओली अध्यक्ष हुँदा जे-जे गल्ती भयो भनेर अर्को पक्षले विद्या भण्डारी नेतृत्वमा आउनु पर्छ भनिरहेको छ । त्यो उहाँ नेतृत्वमा आएपछि हुदैन भन्ने आधार के ?

अहिले किनाराकृत गरिएकाहरूले मिलेर भोली उनीहरूका लागि सहज नेतृत्व भयो भने उनीहरूले अहिले पार्टीमा रजगज गरिरहेकाहरूलाई किनाराकृत गर्दैनन् भन्ने सुनिश्चितता के ?

यो सबै कुरा किन गरिरहेको भने यो वा त्यो बहानामा पछिल्लो समय नेकपा एमालेमा चलिरहेको द्वन्द भनौ वा विद्या रोक्ने र ओली बोक्ने वा अझ यसलाई अर्को कोण बाट पनि भनौ विद्या बोक्ने र ओली पछार्ने रणनीतिले अन्तत: समग्र नेकपा एमालेलाई क्षति पुगिरहेको छ ।

केन्द्रीय समितिले बहुमतका आधारमा भण्डारीको पार्टी प्रवेशको रणनीतिलाई निस्तेज पारिसकेको छ । तर यो बहुमत अंकमा देखिएजस्तो स्थिति छैन पार्टि भित्र । नेतृत्व विभाजित छ । पदाधिकारी विभाजित छ । पोलिटव्युरो विभाजित छ । केन्द्रीय समिति विभाजित छ । देशभरका नेता कार्यकर्ता विभाजित छन् । 

विभाजित मानसिकतामा पार्टी कमजोर हुँदै गएको छ । शक्तिशाली अध्यक्ष र बलियो अंकगणित भएका बेलामा पनि जनविश्वास र जनतालाई सुशासन विकास र संमृद्धि दिने मामलामा पार्टी र सरकार दुबै कमजोर हुँदै गएका छन् ।

यसकारण आजका लागि यहाँहरूले सोच्नै पर्ने प्रश्नबाट कुरा अगाडी बढाउँ । अहिलेको मुल प्रश्न नेकपा एमालेमा अहिले विद्यालाई रोक्ने र ओलीलाई बोक्ने वा विद्यालाई बोक्ने र ओलीलाई पछार्ने रणनीतिमा विभाजित किन छ ? यसले एमालेलाई हित गर्छ की अहित गरिरहेको छ ?

राष्ट्रपति पदमा रहँदा राष्ट्रको अभिभावक जस्तो नभई नेकपा एमालेको नेता कार्यकर्ता जस्तो व्यवहार गरेको भनेर विद्या भण्डारी माथि आरोप लागिरह्यो । तर त्यसले केही तात्विक फरक परेन । तत्कालिन एमाले र एमालेका तर्फबाट सरकार सञ्चालन गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहजै भयो ।

राष्ट्रपति पदमा रहँदा एमाले नेता जस्तो व्यवहार गरेको आरोप लाग्दै गर्दा प्रधानमन्त्री ओलीलाई त सहजै भयो होला । तर उहाँले पनि त्यतिबेला सोच्नु भएको थिएन होला राष्ट्रपतिबाट निवृत्त भएपछि भण्डारी साँच्चै एमालेको नेता बन्न आउनुहोला । तर अहिले आउन खोज्दै हुनुहुन्छ र यसले सबैभन्दा असहज वर्तमान प्रधामन्त्री केपी शर्मा ओलीलाई नै भएको छ ।

नेकपा एमालेका अध्यक्षको अहिलेको छटपटी र विद्या भण्डारीलाई रोक्न पार्टी भित्र गर्नुभएको प्रयास तथा विधानमा गरिएको छेडखानी देख्दा लाग्छ उहाँलाई राष्ट्रपति भएर एमालेको नेता कार्यकर्ताका रुपमा काम गर्दैगर्दा नै विद्यालाई रोक्नुपर्ने रहेछ भन्ने लाग्दो हो । 

राष्ट्रपतिको गरिमामा बस्न भन्नुपर्ने रहेछ भन्ने पनि लाग्दो हो । तर त्यतिबेला सत्ता र स्वार्थ बमोजिम प्रयोग गर्न पाइराखिएको हतियार अहिले यसरी आफैतर्फ बज्रिएला भन्ने हेक्का पनि भएन होला ? तर बज्रियो ।

अब यसले कति असर गर्छ ? कसको पकड बलियो हुन्छ ? वार्ता र संवादले समस्या समाधान गर्छ की ? विद्यालाई पार्टी प्रवेशमा सदस्यता नविकरण देखी नै लगातार समस्यामा पारिएकोमा पार्टी विभाजन तर्फ नै पुग्छ की ? यो त सबै भविश्यले बताउने छ ।

यो सबै विवादमा मुख्य प्रश्न चाँही के हो भने नेकपा एमाले जुन एउटा आन्तरिक लोकतन्त्रमा उन्नत मानिएको पार्टी आज बोल्दै खेरी कारवाही हुने अवस्थामा किन पुग्यो ? आज पार्टी माथि भइरहेको टीका टिप्पणी वा सामाजिक सञ्जालमा छरिएका कुरा कुण्ठा मात्रै हो की सत्यता पनि छ ? पार्टीमा रामराज्य छ की विवाद भुसको आगो झै सल्किदै छ ? 

एमालेबाट राजनीतिमा लागेका युवा पुस्ताले पार्टीमा भोली भविष्य देखिरहेको छ कि छैन ? अहिले पुस्तान्तरण नगरेर नेतृत्व निरन्तरताको जिद्दी गरिरहेका नेता भोली नरहँदा पार्टीको अवस्था कस्तो होला ? बलियो नेतृत्व र बलियो सरकार हुँदा पनि पार्टीले भोली अस्तित्वको संकट व्यहोर्नु पर्ने अवस्थामा पुग्यो भने यसको जिम्मा कसले लिने ? 

भोलि पार्टी हाँक्छौ भन्ने पुस्ता बोल्ने की नबोल्ने ? बोल्नेलाई कारवाही भएको देखेर पुच्छर लुकाउने की गल्ती सच्याउन एकजुट भएर आवाज उठाउने ? एक बोले कारवाही दुई बोले कारवाही । तर कारवाही खाने धेरै हुँदै गए भने कारवाही गर्ने नै सच्चिनु पर्छ । अर्को तर्फ विद्या रोक्ने र ओली बोक्ने तथा विद्या बोक्ने र ओली पछार्ने रणनीतिले अन्तत: पार्टीलाई पुग्ने क्षतिका बारेमा एमाले जनले सोच्ने की नसोच्ने ?

एमालेको मंगलबार मध्यरातसम्म चलेको केन्द्रीय समिति वैठकको निर्णयले अहिले म साँच्चै असमञ्जसमा छु । एमालेले पूर्व राष्ट्रपति पार्टि राजनीतिमा किन आउनु हुँदैन भनेर अहिले दिएको सुझावका बारेमा उहाँ राष्ट्रपति हुँदा किन सोचेन होला । 

राष्ट्रपति हुँदा कार्यकर्ता जस्तो प्रयोग गरेर पटक-पटक संसद् विघट्नसम्म गराउने एमालेले अहिले बाँडेको ज्ञान कता कता नमिलेको जस्तो देखिन्छ । त्यतिबेला आफुले तयार पारेको हतियार अहिले आफैतिर फर्किँदा एमाले अध्यक्षलाई कस्तो लागिरहेको होला ।

नेपाली राजनीति र मिडिया तथा नागरिक समाजमा उठेको मुद्दा के हो भने पूर्व राष्ट्रपति उपराष्ट्रपति पार्टी राजनीतिमा फर्कनु हुँदैन । त्यो आलोकमा हेर्दा अहिलेको एमालेको निर्णय सहि देखिन्छ । तर पार्टी राजनीतिमा फर्कने गरि राष्ट्रपति हुँदा समेत दलिय हिसाबले प्रयोग गरेर महत्वाकांक्षा जगायो कसले ? अनि पार्टिमा भएको बहुमतको निर्णय हरेक केन्द्रीय सदस्यको अन्तरआत्माको आवाज हो की डरको अभिव्यक्ति ?

एमाले जस्तो आन्तरिक लोकतन्त्र बलियो भएको पार्टी यो स्थितिमा कसरी पुग्यो ? कहिले बाट बोल्नै डरलाग्ने पार्टी भयो एमाले ? विद्या रोक्ने र ओली बोक्ने तथा विद्या बोक्ने र ओली पछार्ने रणनीतिले अन्तत: पार्टीलाई पुग्ने क्षतिका बारेमा कसले कसरी सोच्ने ? एमाले भित्रको लोकतन्त्र खलबलिएको हो ? भावी नेतृत्वको लडाँईमा रहनुभएका वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या देवी भण्डारी कुन हदसम्म जान सक्नुहुन्छ ?

यि विचारोत्त्जक प्रश्नमा नेपाली राजनीतिका वरिष्ठ राजनीतिज्ञ तथा नेकपा एमालेका कुनै बेलाका पिलर तर अहिले त्यो पार्टीमा नरहनु भएका वामपन्थि नेता भिमबहादुर रावलसँग नेकपा एमाले भित्र चुलिएको विवाद र यसको परिणामको विश्लेषण गरेको छु । 


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।