टफटकमा अर्थतन्त्रको बहस : ‘गणतन्त्र आएपछि १५ वर्षमा १७ वटा सरकार फेरिए’

चैत्र १५, २०७९
टफटकमा अर्थतन्त्रको बहस : ‘गणतन्त्र आएपछि १५ वर्षमा १७ वटा सरकार फेरिए’

काठमाडौं । गणतन्त्र आएपछि १५ वर्षमा १७ वटा सरकार फेरिए । अर्थमन्त्री पनि त्यति नै चोटि फेरिए । तर, ११ पटक नै अर्थतन्त्रबारे सामान्य ज्ञान पनि नभएको, कहिले अर्थशास्त्र नपढेको, कुनै शिक्षा पनि नलिएको व्यक्ति अर्थमन्त्री बनेको अर्थविदको आरोप छ ।

कान्तिपुर टेलिभिजनको नियमित साप्ताहिक कार्यक्रम टफटकमा प्रधानसम्पादक दिलभुषण पाठकसँग अर्थविद् अच्युत वाग्लेले र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रबारे कुराकानी गरेका छन् ।

प्रस्तुत छ वाग्ले र गोल्छासँग टफटकमा गरिएको कुराकानीको संक्षेप :

पछिल्लो समय देशको अर्थतन्त्र साह्रै जोखिमपूर्ण अवस्थामा पुगेको छ । श्रीलंका, अफगानिस्तान पाकिस्तानको जस्तो अवस्थामा पुगेको छ भनेर भनिन्छ । तपाईंको बुझाइमा हामी कहाँ छौं ?

अच्युत - हामी संकटमा छौं । सन् १९८४ पछि पहिलोपटक देशमा उठेको राजस्वले साधारण खर्च भनेको कर्मचारीलाई तलब खुवाउने बजेट पुगिरहेको छैन । कतिले पुगिरहेको छैन । आजको मितिको तथ्यांक के हो भने हामीले अहिलेसम्म जम्माजम्मी राजस्व ६ खर्ब ६ अर्ब रुपैयाँ उठायौं । ८ खर्ब १२ अर्ब खर्च गरिसक्यौं । २ खर्ब ६ अर्ब रुपैयाँ घाटा देखियो । राजस्वको ६ खर्ब ६ अर्बको कुरा गर्दा साधारण खर्च मात्रै ६ खर्ब ३१ अर्ब रुपैयाँ आजको दिनसम्म हामीले खर्च गर्‍यौं । २५ अर्ब रुपैयाँ साधारण खर्चमै पनि हामी अपुग भएको अवस्था छ । यो कुनै सामान्य अवस्था होइन । अहिले पनि केही ऋण उठ्न थालको छ । अब तलब दिनलाई पनि ऋण उठाउनुपर्ने अवस्थामा छौं ।

नेपालको अर्थतन्त्र अहिले कुन अवस्थामा देख्नुहुन्छ ?

शेखर - पक्कै पनि हामी संकटमा छौं । अहिले सबै पक्षमा संकट देखिएको छ । एकातिर जति राजस्व उठेको छ त्यसले साधारण खर्च धान्न पनि गाह्रो भइरहेको छ । यो कुरा सत्य नै हो । तर अर्को पक्ष पनि के हो भने, अहिले जुन गतिले नेपालका युवाहरु देशमा रोजगारी नपाएर अहिले विदेशिन थालेका छन् । यो गति पहिला कहिल्यै पनि थिएन । यसको दूरगामी असर देशमा पक्कै पनि हुनेछ । देशमा रोजगारी सिर्जना गर्न नसक्नु यो दुभाग्य नै रहेको छ । अहिले औपचारिक क्षेत्रका पनि धेरैले राजगारी गुमाउनुपर्ने अवस्था पनि छ । महँगी पनि धेरै नै बढेको छ । राष्ट्र बैंकको तथ्यांक मान्ने हो भने ८ प्रतिशतको हाराहारीमा हामी छौं । तर उपभोक्तहरुको जुन फिडब्याक छ त्यसलाई हेर्ने हो भने योभन्दा धेरै बढेको गुनासो हामी पाउन सक्छौं । यसका बाह्य कारणहरु पनि छन् । बढेको ब्याजदरलगायत अन्य कारणहरु पनि हुनसक्छन् । त्यस्तै गरेर उद्योग व्यवसायको र निजी क्षेत्रको कुरा गर्ने हो भने म आफैं पनि ३० वर्षभन्दा बढी उद्योग व्यवसायमा लागेको व्यक्ति हुँ । मैले अहिलेजस्तो निराशा र अहिलेजस्तो स्थिति पहिला कहिल्यै पनि देखेको थिएनँ ।

सम्भवतः हामीभन्दा तपाईंहरुको अझ बढी राजनीतिज्ञहरुसँग, सरकारमा बस्ने मान्छेहरुसँग अलि बढी पहुँच हुन्छ होला । त्यो चेत पाउनुहुन्छ तिनमा ? यो अवस्थाका बारेमा ?

शेखर - मैले उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै गर्दा राजनीतिक नेताहरुसँग अहिलेको समस्याहरु मैले छलफल नगरेको होइन । सबैसँग अहिले रहेका समस्या छलफल पनि गरेको छु । र धेरैपटक मैले के पाएको छु भने अहिले बाह्य क्षेत्र सुध्रिएको स्थिति छ । नेताहरुले महँगी नियन्त्रणमा रहेको कुरा गरिरहनुभएको छ । उहाँहरुले भन्ने गर्नुभएको अझै पनि हाम्रो करेन्सी स्टेबल छ । हाम्रो आन्तरिक र बाह्य ऋणहरु एउटा सीमाभित्रै रहेको छ । त्यसलाई हामीले धान्नसक्ने तहमा रहेको छ भन्ने कुराहरु गरेर अलि सकारात्मक सन्देशहरु दिन खोज्नुहुन्छ । तर अहिलेको तरलताको अवस्थाले गर्दा जुन एउटा निराशा छाएको छ । उच्च ब्याजदर र तरलताको अवस्थाले गर्दा जसले धेरै जस्तो क्षेत्रमा एउटा ठूलो असर परेको छ । यो एकदमै गम्भीर विषय रहेको छ ।

राजनीतिक दलहरु राजनीतिका अलावा अहिलेको नेपाली अर्थतन्त्रलाई लिएर कति सचेत पाउनुभएको छ ?

अच्युत - छैनन् । यसमा मलाई भन्न कुनै असजिलो छैन । मैलै अस्ति प्रधानमन्त्रीकै उपस्थितिमा के भने- भने गणतन्त्र आएपछि १५ वर्षमा १७ वटा सरकार फेरिएछन् । त्यति नै चोटि अर्थमन्त्री फेरिएछन् । ११ पटक अर्थतन्त्रबारे सामान्य ज्ञान पनि नभएको, कहिले अर्थशास्त्र नपढेको, कुनै शिक्षा पनि नलिएको, यो ऊ नाम भन्नु परेन । लगेर राखिदिनुभयो उहाँलाई । अब यो अर्थतन्त्र विकसित भएन भनेर कारण खोज्न कहाँ जानुहुन्छ ? भनेर मैले प्रधानमन्त्री पनि त्यतिखेरको अर्थमन्त्री पनि दुईजना भएको ठाउँमा भनें । उहाँहरु बडो राम्ररी हो कि नराम्ररी हाँसिदिनुभयो भनेपछि त्यो कुरा उडाइयो भन्ने मैले बुझें । तैपनि मैले भन्न छोडेको छैन ।

तपाईंले भन्याजस्तो आर्टिकलमा, सोमा, कतिजना भन्छन्- यति कडा भन्छस् तेरो जागिर त भोलि धरापमा पर्ला भन्छन् । ठीकै छ मैले भएकै कुरा भनेपछि धराप परे पनि ठीकै छ । तर, समस्या हुनु ठूलो कुरो होइन । अहिले हाम्रो बाह्य अवस्था, युक्रेनको वारदेखि हाम्रो आन्तरिक व्यवस्थापन हुन नसकेर समस्याहरु हुनु ठूलो कुरा होइन । जब तपाईं समस्यालाई नीति निर्माणको तहमा संवाद गराउन नसकेर, नीति निर्माणको तहमा जहाँनेर समस्या छ त्यसलाई बुझाउन नसकेर समस्या समाधानको बाटोमा उन्मुख गराउन सक्नुहुन्न । मैले अघि जुन इंगित गरेको हो । सबैभन्दा ठूलो चुनौती त्यो हो । अब तपाईंले भनेको कुरामा के हो भने- अज्ञानी हुनु र ज्ञानी बेइमान हुनु दुइटै कुरा राज्यका लागि ठूलो-ठूलो घातक कुरा हो । फलानो युनिभर्सिटीको डिग्री छ । पदमा बसुन्जेलसम्म सबैतिर रोजै रोज फुलेको छ । निस्किएको बाहिरपट्टि रोज एउटा पनि छैन । काँडै-काँडा छ भन्ने विद्वानहरु नीतिगत कुरामा- कहाँ अल्पकालीन, मध्यकालीन, दीर्घकालीन जुन-जुन समस्याहरु छन् त्यसलाई त्यसैगरी सम्बोधन गर्नुपर्छ भन्ने अन्डरस्टयान्डिङ नहुँदा त्यो ग्यापलाई अहिलेसम्म ब्रिज गर्न सकिएको छैन । सुनाउन सकिएको छैन ।

आज आमनागरिक महँगीको चपेटामा छन् । सरकारले यो वर्ष महँगीलाई सात प्रतिशतमा राखौं भन्छ । तर नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले के भन्छ भने यो त नाघिसक्यो । ७.८८ प्रतिशत पुगिसक्यो । आमनागरिक कसरी बच्ने महँगीबाट ?

अच्युत - राज्यले ठूला-ठूला कुरा नगरेर, के उत्पादन गर्न सकिन्छ । त्यो औद्योगीकरणलाई सघाउने कच्चा पदार्थको उत्पादनबाट सुरु गर्नु पथ्र्यो । उदाहरणका लागि तपाईं कपडाको आयात कम गर्ने हो भने- कम्तिमा २-४ हजार हेक्टर जमिनमा कपास खेती सुरु गर्न सकिन्थ्यो । यसलाई मैले उदाहरणका लागि मात्रै भने । यसको के हुन्थ्यो भने- कपास खेतीमा काम लगाउनेलाई एमए पास गराउनु पर्दैन नि । हामी सीप विकासका कुरा गर्छौं, अहिले जे खालको सीप छ त्यसलाई थोरै २ महिना ४ महिनाका हिसाबले त्यो भटमास खेतीमा हुन सक्ला । त्यो जुनार खेतीलाई व्यावसायीकरण गर्नेमा हुन सक्ला । भनेपछि हाम्रो उत्पादन के-के गर्न सक्ने हो । जसको कच्चा पदार्थ र श्रम हाम्रो लागु हुन्छ, प्रयोग हुन्छ, त्यहाँबाट सुरु गर्नुपर्छ । त्यसपछि अर्को एकदमै महत्त्वपूर्ण कुरा के हो भने हाम्रो केही सिस्टमहरु पूर्ण रुपमा थला परे । म शिक्षा क्षेत्रसँग सम्बद्ध छु । उच्च शिक्षा पूर्णतः थला पर्‍यो । अब उठाउनलाई धेरै ठूलो मिहिनेत गर्नुपर्छ । उच्च शिक्षा पूर्णतः थला पर्यो, विश्वासका हिसाबले पनि थला पर्यो । नेपालमा १२ कक्षा पास गरेपछि कोही ब्याचलर्स डिग्री कोही पनि भर्ना गरेर पढ्न इच्छुक छैनन् । हामीले १२÷१८ वटा युनिभर्सिटी दियौं होला । त्यसको अर्थ छैन । र सरकारको लगानी भइराखेको छ । शिक्षा कोल्याप्स गरेको भनेको यो आजको चिन्ता होइन । आज नर्सरी क्लास पढेको मान्छे २५ वर्षपछिको रोजगार हो र ५० वर्षपछि यो देशको सचिव हो । त्यो इन्जिनियर हो २५ वर्षपछिको । २५ वर्षपछिको डाक्टर हो । त्यो सबै सिस्टम कोल्याप्स गरिदिएपछि त यो देशको विकास गर्छु भनेर त भएन । मैले भनेर, सुनाउन खोजेको कुरा यही हो ।

(अन्तर्वार्ताको पूर्णपाठ माथिको भिडियोमा हेर्न सक्नुहुनेछ)