काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नफर्किन सुझाव दिँदै नेकपा एमालेले तत्कालका लागि उहाँलाई पार्टीमा फर्किनबाट रोक लगाएको छ । यसै सन्दर्भमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवलाई कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडका लागि गरिएको अन्तर्वार्तामा सोधियो - के तपाईंलाई राष्ट्रपति पदबाट बिदा भएपछि सक्रिय राजनितिमा फर्किन मन भएन ?
पूर्वराष्ट्रपति यादवले आफूलाई सक्रिय राजनीतिमा फर्किनबाट गणतन्त्रको मर्यादाले नदिएको जवाफ दिनुभयो । राष्ट्रप्रमुख भइसकेको व्यक्तिले संविधानमा नलेखिएको भन्दै सक्रिय राजनीतिमा फर्किनु उपयुक्त नभएको उहाँको भनाइ थियो । तर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीतर्फ इंगित गर्दै यादवले कसैले सक्रिय राजनीति गर्छु भन्छ भने उसलाई रोक्नु भने गलत भएको टिप्पणी गर्नुभयो ।
पूर्वराष्ट्रपति यादवले चुरेको पहाड र जंगलको संरक्षणमा जनप्रतिनिधिहरूले ध्यान नदिएकोमा चिन्ता व्यक्त गर्नुभयो । तराई मधेशमा खडेरीले सिँचाइ तथा पिउने पानीकै अभाव भइरहेका बेला सरकारले विज्ञहरूको सल्लाहमा तत्कालिक र दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नुपर्नेमा यादवले जोड दिनुभयो । साथै उहाँले भूमिगत पानीको स्रोत संरक्षणमा ध्यान नदिई बोरिङ र डीप ट्युबवेलबाट पिउने पानी र सिँचाइको लागि पानीको व्यवस्था गर्ने उपाय सफल हुनेमा शंका व्यक्त गर्नुभयो ।
डा. यादवसँगको पूरा अन्तर्वार्ता आज राति ९ बजे प्रसारण हुने कार्यक्रम फायरसाइडमा हेर्न सकिनेछ । कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब च्यानल तथा कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।