टफटकमा उपेन्द्र यादव : खास गठबन्धन चार दलको हो, संसदले अब नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउँछ

चैत्र ८, २०७९
टफटकमा उपेन्द्र यादव : खास गठबन्धन चार दलको हो, संसदले अब नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउँछ

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लड्ने चर्चा उपराष्ट्रपतिको निर्वाचन सुरु नहुँदैदेखि चलेको हो । अहिले उपराष्ट्रपतिमा जसपा नेता रामसहाय यादव निर्वाचित भइसकेका छन् र बारा २ मा वैशाख १० गते उपचुनाव हुँदै छ । प्रश्न यथावत् छ- के अब बारा- २ मा उपेन्द्र यादव उपचुनाव लड्लान् ?

पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव गत मंसिरमा सप्तरीबाट चुनाव लडेका थिए । तर, उनी जनमत पार्टीका अध्यक्ष सीके राउतसँग चुनाव हारे । अहिले संसद्‌मा जसपाको ११ सिट छ । सरकारमा मन्त्री कसलाई पठाउने भन्ने पार्टीले टुंगो लगाएको छैन । बालुवाटारमा शीर्ष नेताहरुको छलफल चलिरहेको छ । मन्त्रीको टुंगो नलागे पनि जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन जनाइरहने यादव बताउँछन् ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम टफटकमा प्रधानसम्पादक दिलभुषण पाठकसँग कुराकानी गर्दै नेता यादवले अहिलेको खास गठबन्धन चारवटा पार्टीबीचको भएको बताउँदै यो सरकार टिकिरहने दाबी गरे ।

जसपा अध्यक्ष यादवले नागरिकता विधेयक अब संसदले पारित गरेर राष्ट्रपतिकहाँ पठाउने बताए ।

प्रस्तुत छ, यादवसँगको कुराकानीको सारांश–

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकियो । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनेको तीन महिनाभित्रै दोस्रोपटक संसदबाट विश्वासको मत लिए पनि उहाँ अझै ढुक्क देखिनुहुन्न । अझै पनि यो विश्वासको मत लिने श्रृंखला जारी रहन सक्छ भनेर भन्नुको अर्थ के हो ? प्रधानमन्त्रीलाई तपाईंहरुले विश्वास दिलाउन नसक्नु भएको कि प्रधानमन्त्रीको अलि अविश्वास गर्ने बानी ?

प्रधानमन्त्री पहिला नेकपा एमालेसहितको सरकारमा हुनुहुन्थ्यो । उहाँ अलि खोला पारि हुनुहुन्थ्यो । एमालेसँगको यात्रा उहाँले असहज पाउनुभयो । एमालेसँगको मित्रता, सहकार्य उहाँले कठिन अनुभव गर्नुभयो र उहाँ खोला तरेर वारितिर आउनुभयो । त्यसपछि नयाँ समीकरण बन्यो । प्रधानमन्त्री चाहिँ उही तर समीकरण चाहिँ अर्को बनाउने दिशातर्फ उहाँ लाग्नुभयो । यो स्वाभाविक हो ।

हाम्रो संविधानले गरेको व्यवस्थाअनुसार जुन दलको समर्थनमा सरकार निर्माण भएको छ, सो दलले आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले संसदसमक्ष विश्वासको मत लिने प्रावधान रहेको हुँदा त्यो लिनुपर्ने नै थियो, उहाँले लिनुभयो । यो प्रावधान संवैधानिक हो । समर्थन फिर्ता लिँदा प्रधानमन्त्री रहिरहन संसदमा विश्वासको मत छ छैन देखाउनु पर्ने हुन्छ । यस्ता कुरा भइरहन्छन् ।

मेरो प्रश्न के भने तपाईंहरुले राजनीति यति विकृत बनाउनुभयो कि कुनै सरकार दुई महिना टिक्दैन । कुनै सरकार तीन महिना टिक्नसक्ने वातावरण तपाईंहरुमा छैन ?

यो दुर्भाग्यको कुरा हो २००७ सालदेखि अहिलेसम्म आइपुग्दा करिब करिब ७०–७२ वर्ष भयो । चाहे त्यो पञ्चायतकाल होस्, चाहे बहुदलीय काल होस्, चाहे कुनै काल खण्ड होस् या अहिले आएर गणतन्त्र होस् । कुनै एउटा सरकारले आफ्नो कार्यकाल पूरा गरेन ।

इतिहासलाई दोष नलगाउनुन । वर्तमानको समीक्षा गरौं । म तपाईंहरुको स्वभाव र प्रवृतिको कुरा गर्दै छु । सधै इतिहासलाई सरापेर हुन्छ त ?

इतिहासलाई सराप्ने होइन । इतिहास हेर्नु त पर्छ । अहिलेसम्म आइपुग्दा राजनीतिक स्थायित्व भएन । सरकारहरुले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् ।

कसले दिएन ? मुख्य ‘प्लेअर’ तपाईंहरु हुनुहुन्छ ?

त्यसको दोष हामी नै लिउँला । राजनीतिक नेताहरुले यसको जिम्मेवारी लिने, गम्भीरतापूर्वक बढ्ने र समीक्षा गर्ने कुरा त छदैछ ।

मेरो प्रश्न आजको दिनमा प्रधानमन्त्री ढुक्क हुन नसक्नुका कारण के हो ? तपाईंहरुको सर्त हो ? तपाईंहरुको मोलमोलाई हो ?

हामी भन्छौं, प्रधानमन्त्रीज्यू ढुक्क हुनुहोस् । सरकार चलाउनुस् । जनतालाई ‘डेलिभरी’ दिनुस्, मुलुकलाई अगाडि बढाउनुस् ।

हामीलाई मन्त्री दिनुस्, खोजेका मन्त्रालय....। त्यही मोलमोलाई भइरहेको छ हैन ?

हाम्रो के छ भने- अस्ति पनि मन्त्रालय छोडेरै बसेको हो । हामी साथ दिन्छौं, मन्त्रालय राख्नुहोस् नै भनेको हो । हामीले सरकारलाई निरन्तर समर्थन गरिरहेका छौं तर के भने सरकार चलाउने नेतृत्व गर्ने पार्टी वा व्यक्तिले त्यसलाई निरन्तरता दिएर अगाडि बढाउनुपर्ने हुन्छ । अब कुनै पनि पार्टीको बहुमत नभएको ठाउँमा जहाँ धेरै पार्टी जोडेर सरकार बनाउनुपर्ने बाध्यता छ । ती सबै पार्टीलाई समान रुपले सन्तुष्ट गरिराख्ने कुरामा सरकारको भविष्य निर्धारण भएको यो अप्ठयारो अवस्थामा हामी अगाडि बढिरहेका छौं ।

आखिर सबैलाई सत्तामा जानुपर्ने रहेछ । सबैलाई मन्त्री नै बन्नुपर्ने रहेछ । अहिले तपाईंहरु त्यही भागबन्डामा हुनुहुन्छ । अझ स्पष्ट पारौं प्रधानमन्त्री दाहालले कांग्रेसले ७–८, आफूले ४–५, रविजीको राष्ट्रिय स्वतन्त्र पार्टीले २–३ वटा, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २–२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १–१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह (आम जनता पार्टी) र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रस्ताव अघि सारेको भन्ने बुझिएको छ । यो लेनदेन नमिल्दा र नमिल्ने अवस्था देखेर प्रधानमन्त्रीलेसंकेत गरेका हुन् कि– म फेरि पनि तिनको माग पुरा गर्न नसकौंला र मैले फेरि विश्वासको मत माग्नुपर्ने अवस्था आउन सक्छ । आसय यही हो ?

पहिलो कुरा तपाईंले जुन डाटा भन्नुभयो, यो उहाँले कहाँ प्रस्ताव गर्नुभएको छ ? प्रस्ताव गर्ने छलफल गर्ने अहिलेसम्म भएकै छैन ।

यति धेरै ढाकछोप पनि नगर्नुहोस् । जनतालाई यति धेरै गुमराहमा पनि नराख्नुहोस् । सबैको सबैसम्म स्रोत छ । तपाईंहरु जो जहाँ कुरा गर्दै हुनुहुन्छ तिनीसँग हाम्रो पनि केही स्रोत छ । तिनीहरुले हामीलाई अपडेट गरिरहेका हुन्छन् तर अंक ठ्याक्कै नमिल्न सक्छ ।

तपाईंको स्रोत अलि एडभान्स छ । वास्तवमा यथार्थ के हो भने सरकारमा मन्त्रिपरिषद् विस्तार गर्नका लागि बस्ने कार्य आजदेखि पारम्भ हुँदै छ । अहिलेसम्म भएकै छैन ।

ल सिधा भन्नुस् तपाईंको पार्टीले कति मन्त्रालय दाबी गर्छ ?

हामी ‘कम्प्रोमाइज’ गर्न तयार छौं । सरकारको स्थायित्व होस् । स्थिरता रहोस् ।

तपाईंलाई दुई मन्त्रालय प्रस्ताव गरिएको छ । तपाईंहरुसँग ११ सिट छ....

हामी ‘कम्प्रोमाइज’ गरेर अगाडि बढ्न तयार छौं ।

तीन महिना बित्न लागिसक्यो । प्रधानमन्त्रीले यति धेरै मन्त्रालय सम्हालेर बसेको यति दिन भइसक्यो । तपाईंले मागेको मन्त्रालय भन्नुस् न ?

हामी कठोर छैनौं त्यसमा ।

इतिहासमा तपाईंले एउटा उपप्रधान र एउटा मन्त्रालय नलिई सरकारमा नगएको अवस्था नै छैन । भन्नुस न एउटा उपप्रधान र अर्को के ?

के छ भने गठबन्धनको बैठकमा समझदारीको आधारमा हामी अगाडि बढ्ने पक्षमा छौं । यतिवटा, उतिवटा, यो सर्त त्यो सर्त भन्ने छैन । हाम्रो चाहना के हो भने– सरकार चलोस्, काम गरोस् ।

उपेन्द्र यादवले उपप्रधानसहित कुनै आकर्षक मन्त्रालय पाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहालसँग मोटामोटी सहमति भइसकेको छ । म यो भन्दा सही भएँ कि गलत ?

म सरकारमा गइरहेको छैन नम्बर एक । हामीले कुन मन्त्रालय सम्हाल्ने हो, त्यो तय भएपछि पार्टीले निर्णय गरेर अरु व्यक्ति सरकारमा जानुहुन्छ । म सरकारमा जानेवाला छैन ।

तपार्ईं र तपाईंको पार्टी सरकारमा जाने मोलमोलाई गर्न कति जान्ने छ, त्यो त विगतले देखाउँछ नि होइन ?

त्यही बुद्धि भएन हामीसँग । अरुको तुलनामा हेर्छु । वास्तवमा हामीसँग ढंगै पुगेको छैन ।

नेपाली राजनीतिमा अरु ‘स्मार्ट’हरुको प्रवेश भयो ?

अरु नै बढी ‘स्मार्ट’ छन् । हामी त सोझा साझा हौं यस मामलामा । तर, पनि हामी सहज गरेर अगाडि बढाउने पक्षमा छौं ।

यो समीकरण चाहिँ कति बलियो छ ?

खास यो गठबन्धन चारवटा पार्टीबीचको हो । अरुहरुसँग पनि सहकार्य गर्ने गरी अगाडि बढेको छन् । चारवटा पार्टी अहिले एक ठाउँमा छन् र बलियो नै लाग्छ ।

सरकार टिक्छ ?

टिक्छ । १०-११ वटाले समर्थन गरेका छन् त्यो अलग कुरा हो । कोही रहला कोही नरहला त्यो फरक कुरा हो । तर चारवटा पार्टी हाम्रो, नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी एक साथ छ । र अबसँगै यात्रा अगाडि गर्ने मानसिकतामा हामी छौं । त्यसकारण हामीबाट चाहिँ यताउता दाँया बाँया हुने सम्भावना कम छ ।

तपाईंहरुलाई बढो संयोग, आम जनतालाई के हो थाहा छैन । प्रधानमन्त्रीलाई तानतुन, यो त्यो गरेर बहुमत पुर्याउनुपर्ने अवस्था छ । तपाईंहरुलाई एउटा हैसियत दाबी गर्ने अवस्था छ । कुनै एउटा समय थियो जहाँ संविधान संशोधनको एजेण्डा थिए होलान्, नागरिकताको एजेण्डा थियो होला, यो पटक तपाईंको पार्टीको एजेण्डा के छ ?

नागरिकताको समस्या छँदैछ । अब संसदमा पेस हुन्छ ।

मैले स्पष्ट सोध्न खोजेको, यो पटक तपाईंको एजेण्डा के ?

अब नागरिकता, संविधान संशोधनका कुरा अब त्यसका लागि दुईतिहाइ चाहिन्छ । त्यो अप्ठयाराहरु छन् । तर त्यो सँगसँगै के छ भने– अहिलेको हाम्रो मुख्य एजेण्डा भनेको मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको छ । वित्तिय संस्था डुब्दै गएका छन् । यसलाई रोक्ने ।

यो त राजनीतिक नारा होइन र ?

यसलाई राजनीतिक नारा नभनौं । यो जीवनसँग जोडिएको कुरा हो ।

एउटा कुरामा विश्वास दिलाउनुहुन्छ ? जसरी विपक्षी दलले भनेअनुसार अहिलेको समीकरणमा केही फेरबदल हुन सक्छ र फेरि वैशाखमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनपर्ने अवस्था आउन सक्छ । उनीहरु जुन दाबी गर्दै छन् नि, प्रधानमन्त्रीले रोस्टममा उभिएर खुट्टा कमाएर भाषण गर्नुभएको छ । यसलाई मैले अलिकति चिर्न खोजेँ । तपाईंले त्यसको कुनै आभाष पाउनुभएको छैन ? कि म जोडिएपछि स्थिर भइहाल्छ ।

चार दलको समझदारी अहिले राम्रो छ । यो समझदारी निरन्तर चल्ने गरी सरकार दायाँ बायाँ हुँदैन । तर, के हो भने ८–१० वटा दलको समर्थन छ । भोलि धेरैको अन्दाज यो पनि छ कि- मन्त्रालय बाँडफाँटमै नमिल्ला । मिले पनि त्यहाँ काम गर्न अप्ठयारो होला भन्ने अन्दाजका आधारमा यी कुराहरु भएका होलान् । गठबन्धन यही रुपमा नरहन पनि सक्छ, भोलि अर्को हुन सक्छ, यी सम्भावनाका कुरा हुन् । यो सम्भावनालाई पूरै इन्कार त गर्न सकिँदैन । तर, चारवटा पार्टीहरुको बीचको आपसी समझदारीले निर्धारण गर्छ ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ । अब सबैको आँखा बारा क्षेत्र नं २ मा पुगेको छ । तपाईंहरुले जितेको यो क्षेत्र अब खाली भएको छ । उपनिर्वाचनमा जसपाले उम्मेदवार उठाउँछ कि उठाउँदैन ?

उठाउँछ । हाम्रोचाहिँ गठबन्धनकै उम्मेदवार हुन्छ । समझदारीकै आधारमा हामी उम्मेद्वार तय गर्छौं ।

को हुन्छ ?

अहिले तय भइसकेको छैन ।

तपाईंलाई संसदीय राजनीतिको चतुर खेलाडी नै मानिन्छ । यो सबै सेटिङ नै उपेन्द्र यादवको लागि भएको भनिन्छ नि ?

यो मान्छेको अनुमान होला । म त सोझो मान्छे हो । चतुर होइन । तर, पनि के हो भन्दा– साथीहरुले ठाउँ ठाउँमा मान्छे उठाइरहेको कुरा पनि छ । तर अहिलेसम्म के हो भने म चुनाव लड्न मानसिकरुपमा तयार छैन । म के चाहन्छु भने अब चार–पाँच वर्ष पार्टी निर्माण गरौं, मेरो काम त्यो हो ।

अब तपाईंले यो भन्न बाँकी होला गठबन्धनबाट, पार्टीबाट, साथीहरुबाट र सबैतिरबाट आग्रह भयो भने जनताको बीचमा जानै पर्छ म चुनाव लड्छु । यो भन्न बाँकी छ ?

भन्न खोज्नुभन्दा पनि यहाँले भनि हाल्नुभयो नि । यहाँको कुरालाई कसरी इन्कार गर्ने तर म मानसिकरुपमा अहिले तयार छैन । मेरो यथार्थ त्यो हो ।

स्पष्ट भनिदिनुहोस् । रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा जिताउनु भनेकै धेरै मत प्राप्त गरेर जित्न सक्ने ठाउँ तपाईंले आफ्ना लागि राख्नु हो । तपाईं त्यहाँ चुनाव लड्न जाँदै हुनुहुन्छ । जितेर आएर संसद छिर्ने तपाईंको सोच छ हो कि होइन ?

मैले अघि नै भने यो धेरैको सोच छ तर म तयार छैन ।

यो सारा सेटिङ यो सारा परिस्थिति तपाईंले बनाएको होइन ?

भन्ने काम तपाईंले पनि भन्नुभयो । भोलि गठबन्धन, मोर्चा, पार्टी लगायतहरुले निर्णय गर्छन् । त्यो निर्णय हेरौं । तर व्यक्तिगत मलाई भन्नुहुन्छ भने म इच्छुक छैन । अर्को कुरा, हामीले उपराष्ट्रपति उठाउँदा हाम्रो पार्टीका रहनुभएका एउटा इमानदार र स्वच्छ छवि भएका व्यक्तिलाई त्यो सम्मानित ठाउँमा निर्वाचित गरेर पुर्याउने सोचका आधारमा रामसहाय यादवलाई पठाएका हौं ।

मेरो प्रश्न के हो भने त्यो निर्वाचन क्षेत्र खाली गरिएको उपेन्द्र यादवजीका लागि हो भनेर टिप्पणी भइरहेको छ । यसलाई तपाईं किन नकार्नु हुन्छ ?

त्यो हल्ला बढी भयो ।

भोलि त्यो सत्य भयो भने के हुन्छ ?

भोलिको कुरा छोडिदिनु । रामचन्द्र पौडेलजीले कसका लागि खाली गरेका हुन् ? फलनाका लागि खाली गरेका हुन् त भन्नु भएन नि । आजसम्म म मानसिकरुपमा तयार नभएको अवस्था हो ।

यो शो सकिएपछि तपाईं निर्वाचन क्षेत्र जान सक्ने अवस्था आउनसक्छ ?

प्रचार प्रसारमा लाग्नुपर्छ, मेरो कर्तव्य पनि हो ।

धेरै दिन छैन किन झुट बोल्नुहुन्छ ? तपाईंको त्यहाँ उम्मेदवारी दर्ता हुन्छ, प्रचारप्रसारमा जानुहुन्छ, भोट माग्न जानुहुन्छ, जितेर आउनुहोला अथवा प्रतिस्पर्धा होला । यति धेरै ढाकछोप किन ? अनुमान गर्न थालिसके जनता सचेत छन् ।

तपाईंको पनि अनुमान नै हो ।

मेरो अनुमान सत्य भए के गर्नुहुन्छ ?

आजसम्मको कुरा म भन्छु । भोलिको भविष्यवाणी त म गर्न सक्दिनँ ।

मैले थाहा पाउने तपाईंले थाहा नपाउने भन्ने हुन्न नि । लुकाउनको पनि हद हुन्छ नि....

त्यस्तो लुकाउने पर्ने जरुरी छैन ।

भोलि गठबनधनले अरु साझा उम्मेदवारका बारे छलफल गरौं भन्यो भने तपाईं तयार हुनुहुन्छ ?

हामी छलफलका लागि तयार छौं ।

बारा क्षेत्र नम्बर २ मा गठबन्धनले तपाईंको पार्टीभन्दा बाहेकको साझा उम्मेदवारलाई उम्मेदवारी दिन लगाउ र जिताउ भन्यो भने तपाईं तयार हुनुहुन्छ ?

त्यसका लागि छलफल गर्न तयार छौं ।

छलफल भनेको के ? बहस गरेर आफ्नै मुद्दा अगाडि पार्ने कि तपाई सहमत हुनुहुन्छ ?

सहमत पनि हुन सकिन्छ । असहमत पनि हुन सकिन्छ । तर म खुला छु । हाम्रो पार्टी खुला छ त्यसमा ।

६ महिना पनि भएको छैन । प्रतिनिधिसभाको निर्वाचनमा तपाईंले जनताले पराजित गरे । जतनले ठिक छ तिमी संसदमा जानु पर्देन अरु केही काम गर भने । आजसम्म तपाईंले सोच त बनाउनु भएको छैन । जनताको संदेश नेपाली राजनीतिज्ञले किन आत्मसाथ गर्दैनन् ? अर्थात् संसद र सरकारमाबाहेक आफ्नो भविष्य देख्दैनन् । मैले तपाईंलाई मात्र भनेको होइन नेपाली राजनीतिको प्रवृतिको कुरा गरेको...

मेरो कुरालाई भन्नुहुन्छ भने मैले मलाई जनताले दिएको मतलाई सम्मान गरेर बसेको छु ।

तपाईंलाई धुमधाम मतका साथ जिताएको हो नि होइन एकपटक ?

जनता हुन्, कहिले जिताउँछन्, कहिले हराउँछन् । चुनावमा जित हार भइरहन्छ । यसलाई मैले स्वभाविकरुपमा नै लिएको छु । यो ‘स्पोस्र्टम्यानसिप’ जस्तै हो । कहिले एउटाले कहिले एउटाले गोल गर्छ । कहिले जित हुन्छ कहिले हार । यसलाई मैले स्वभाविकरुपमा नै लिएको छु । तपाईंले भनिहाल्नु भयो, यो कुरा मसँग नजोड्नु होला । एउटा खेलाडीले खेल खेल्यो, हार्यो । त्यहाँदेखि खेल त रोक्दैन अर्को खेलका लागि तयार हुन्छ । त्यहाँ पनि हार्यो भने अर्को खेलका लागि तयार हुन्छ । बढ्दै अगाडि जान्छ ।

राम्रो उदाहरण हो । तर यो जनताको अभिमतको सम्मान होइन नि...

जनताको अभिमतलाई सम्मान गर्नुपर्छ, गरेकै छौं । तर के भने जनताले अभिमत परिवर्तन गरिरहेका हुन्छन् । कुनै जमानामा कसैलाई बहुमत दिएको हुन्छ, कुनै बेला कसैलाई ।

अस्तिको निर्वाचनमा जनताले देखाएको मत पाँच वर्षका लागि हो नि । पाँच वर्षका लागि जनताले तपाईंलाई त्यो क्षेत्रबाट पराजित गरे, हराए । संसदमा हामी कुनै योग्य मानिस पठाउँछौं तिमी अरु कुनै काम गर भनेर । यही होला नि पराजित भएर आउने भनेको त होइन ? त्यसको समय अवधि हुन्छ त्यो पाँच वर्षलाई दिएको म्याण्डेड हो । त्यो जनमतको त कदर गर्नुपर्छ होला । पाँच महिना नबित्दै तपाईं अर्को बाटो अपनाएर, फेरि सेटिङ मिलाएर तपाईं संसदमा आउन खोज्दै हुनुहुन्छ ?

जनताको म्यान्डेड फेरिरहन्छ । जनताले पटक पटक टेस्ट गरिरहन्छन् । अर्को, अब चुनावमा को जान्छ को जाँदैन, त्यो अहिले निश्चित भइसकेको छैन ।