काठमाडौं । कला यस्तो चिज हो, जसले मानिसलाई आकर्षित मात्रै गर्दैन, अरु सबै थोक बिर्साइदिन्छ र त्यसैमा मन्त्रमुग्ध बनाइदिन्छ । कल्पना भन्नेलाई त्यही सही, तर, वास्तविकतालाई कलामा उतार्न सक्नेहरुको क्षमता भने अद्भूत मान्नैपर्छ ।
आजको टफटकमा हामीले फरक विषयबस्तु र पात्र लिएर आएका छौं– पौभा चित्रकला । ‘पौभा’ चित्रकला धर्मशास्त्रमा उल्लेख विषयवस्तुको अध्ययन गरी क्यानभासमा उतारिन्छ । पौभा बनाउन चित्रकारमा गहन अध्ययन, विचार र धार्मिक नियम अति जरुरी हुन्छ । विभिन्न शास्त्रमा लेखिएको विषयलाई आफ्नै सिर्जनशीलतामा उतार्न सक्ने ।
जन्म र कर्मले चित्रकार । एउटै चित्र बनाउन २५ वर्षसम्मको लगानी । आफैँ क्यानभास बनाउने, पत्थर र बनस्पतिबाट रङ निकाली एउटै क्यानभासमा सयौं चित्र कोर्ने लोक चित्रकार आजको टफटकका अतिथि हुनुहुन्छ ।
सन् १९६१ मा कलाकृतिको सहर पाटनमा जन्मनुभएका लोक चित्रकारले १२ वर्षको उमेरमै गणेश शीर्षकमा चित्र बनाउनुभयो । चार दशकदेखि यही कर्ममा सक्रिय उहाँका चित्रकलाको प्रदर्शनी नभएका काठमाडौंका कुनै आर्ट ग्यालरी छैनन् । उहाँका कला संसारका थुप्रै देशमा पुगिसकेका छन् ।
प्रस्तुत पौभा’ चित्रकार लोक चित्रकारसँग कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक दिलभुषण पाठकले गरेको टफटक कुराकानी :
आज हामी तपाईंको चित्रकला हेर्न स्टुडियो बाहिर आएका छौं । आजको संवाद सुरु गरौं– तपाईंले थाहा पाएको पहिलो चित्र भन्दा के स्मरण गर्नुहुन्छ ?
वाल्यकाल सम्झँदा मेरा बुबाले कहाँबाट हो कुन्नि, एउटा सर्कल–सर्कल भएको पेपर ल्याइदिनुभएको थियो । त्यो च्यातेर गणेश बनाउँदै जो–जो घरमा आयो, उसलाई एउटा–एउटा दिने गर्थें । लिने आफन्त केहीलाई सम्झना रहेछ ।
त्यसबेला कति वर्षको हुनुहुन्थो ?
वर्ष त थाहा भएन । स्कुल जानुभन्दा पनि अगाडि हो । निकै सानोको बेलामा । घर परिवारमा चित्रको वातावरण थियो । त्यसैले होला मलाई थाहा छैन, कसरी ।
पारिवारिक पृष्ठभूमि कस्तो थियो ?
त्योबेलाको समाज, आजभन्दा ६० वर्ष अगाडिको समाज सम्झनु न । त्यो बेलाको समाजमा चित्रकारले चाहिँ ‘रिचुअल आर्ट’ गर्थे । अहिले पनि ‘रिचुअल आर्ट’ चित्रकारले नै गर्छ । मेरो घरमा चाहिँ वरपरका छरछिमेकदेखि पूजाआजा गर्न कुनै पनि चित्र लेखाउन आउने । त्यो चाहिँ चित्रकारले मात्रै लेख्थ्यो । जनै खटिरा आयो भने सिंह लेखाएर उपचार गर्ने पद्दति थियो । त्यो पनि चित्रकारले नै गर्थ्यो ।
भन्नु न, जनै खटिरा आउँदा कसरी उपचार गरिन्थ्यो ?
सुरुमा जनै खटिरा कहाँबाट सुरु भयो ? त्यो त जनै जसरी घुमेर जाने हो । शरीरमा एक चक्कर घुम्यो भने मर्छ भन्ने जनमानसमा विश्वास थियो । सुरु भएको ठाउँ र अन्तिम ठाउँ खोजेर दुई वटालाई बीचमा पारेर दुईवटा सिंह लेख्नुपर्छ ।
सिंहको मुखमा खटिरा पार्नुपर्छ ?
सिंहले बाटो छेक्ने हो । आक्रामक किसिमको । यो सन्दर्भमा चाखलाग्दो कुरा– हाम्रो पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका लागि पनि मैले भैंसेपाटीमा गएर बनाइदिएको थिएँ ।
उहाँको शरीरमा ?
उहाँको टाउकोबाट खटिरा आएको थियो ।
प्रजातन्त्रको स्थापनापछि पहिलो अन्तरिमकालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शरीरमा जनै खटिरा आउँदा लोकचित्रकारजीले उहाँको शरीरमा सिंह बनाइदिनुभयो । के–ले बनाउनुहुन्छ ? रङ के प्रयोग गर्नुहुन्छ ?
रङ चाहिँ परम्परागत हो । काँचो सिम्रिक । रातो, कालो चाहिँ ध्वाँसो । अहिले गाजलको प्रयोग गर्छौं । सेतो रङ चुनढुंगा हो ।
पौभा चित्रकलाका लागि तपाईंका विषयवस्तु के हुन् ? आधार के हुन् ?
पौभाका विषय अनगिन्ती छन् । यति धेरै विषय छन् कि– एउटा मात्र विषय हामीले अध्ययन गर्यौं भने एउटा जीवनले पनि पुग्दैन । यो पौभा चाहिँँ नेपालको परम्परा हो । यो हाम्रो जीवित सम्पदा हो । यो बनाउन शिल्प मात्र भएर त पुग्दैन । शिल्प त अति जरुरी छ । यसमा विशेषता हासिल गर्नुपर्छ । साथै, कुनै विषयमा आफूले के चित्र बनाउने ‘थिम’ छानेपछि त्यसका लागि गहन अनुसन्धान गर्नुपर्छ । गहन अध्ययन गर्नुपर्छ । कमसेकम अध्ययन गरेर मात्र सही ढंगको आउँछ । चित्र बनाएर बजारमा बेच्ने मात्र हो भने चाहिँ केही समस्या भएन । त्यो गर्न सकिन्छ ।
तपाईंले बसुधारा, आर्यतारा, लोकेश्वरको १०८ वटा ‘पोट्रेट’ छन् अथवा गणेशका चित्र । तपाईंले आफ्नो चित्रका विषय कसरी चयन गर्नुहुन्छ ? कि आम विषय हुन् पौभाभित्र गरिने ?
ती आम विषय नै हुन् । तर मैले चाहिँ त्यो विषय चयन गर्दा मन पर्यो भने खोज्ने हो । कुनै सन्दर्भमा त्यो आउँछ । पहिला मलाई पेन्टिङ बेचेर जीविका चलाउनुछ भन्ने मात्र थियो । मनभित्र सधै एउटा प्रश्न रह्यो, म यो के गर्दैछु ? के लेख्दै छु म ? किन बुझ्ने मैले ? त्यो देवताको नाम थाहा छ मलाई, त्यसको मूर्तिकला सबै थाहा छ मलाई, त्यहाँभित्र के हो भन्ने थाहा भएन । त्यसपछि मलाई जन्मँदा नै ‘बुद्धिस्ट’ भए पनि बौद्ध शिक्षाको जरुरी भयो भन्ने कुरा बुझेँ । मीनबहादुर शाक्यले नागर्जुन इन्स्टिच्युट खोल्नुभएको थियो । त्यसको पहिलो ब्याच हो हामी । त्यहाँ पढेर केही ज्ञान भएपछि यसरी पढ्नुपर्छ, यसरी बुझ्नुपर्छ भनेर उहाँले बाटो देखाएजस्तै विभिन्न किताब जोडेर पढ्न थालेँ । त्यो पढेर मात्र नपुग्ने रहेछ । किताब पढ्यो, पढ्यो किताबको ज्ञान त भयो तर त्यसको अर्थ के त ? अझै पनि मैले बुझिसकेको छैन । बुझ्ने बाटोमा नै छु । त्यही भएर यो लामो समय लाग्छ । शिल्पको मात्र कुरा भएन । म छिटो लेख्न सक्छु । शिल्पकै कुराले मात्र मलाई सन्तुष्टि भएन ।
म के गर्दै छु भन्ने प्रश्न सधैं मलाई आइरहने । मैले ठीक गर्दै छु कि छैन ? यो कुरा अझैसम्म पनि रहिरहन्छ ।
हेबज्रमण्डल, यो बनाउँदै गर्दा २५ वर्ष लाग्यो तर अझै पूरा भएको छैन है ? यो पेन्टिङ केसँग सम्बन्धित छ ? यो पनि कुनै तन्त्रसँग सम्बन्धित छ हो ?
यसको कम्पोजिसन चाहिँ कतिपय पुराना पेन्टिङहरु छन् । हेबज भन्ने पेन्टिङ पनि छ । तर हेबज भनेको चाहिँ के हो त ? कसरी चाहिँ यसलाई अध्यास गर्ने ? त्यो पेन्टिङ गरेर मात्र मलाई पुगेन । मैले आर्थिक आर्जन गरेर मात्र पुगेन । मलाई त्यो पेन्टिङ गरेर आनन्द आउनुपर्यो । यसको सुरुवातमा चाहिँ अब तन्त्र बुझ्न विभिन्न तहहरु छन् । त्यो बुझ्न चाहिँ अझै पनि सकिरहेको छैन । यसमा मण्डलको कुरा बुझ्नुपर्यो, मसानको कुरा बुझ्नुपर्यो, १७ वटा मण्डलको एक आपसको कुरा के हो त्यो पनि बुझ्नुपर्यो ।
सुरुमा चाहिँ मैले चित्र बनाउने धारणाले मैले कोरेँ । अध्ययन गरेँ । जब यसका लागि डिटेल बुझ्न किताब पढ्न थालेँ, अहिलेसम्म त्यो किताब बुझेकै छैन । तपाईं अंग्रेजी, संस्कृत बुझ्ने भए पनि कतिपय कुरा बुझ्न सकिँदैन ।