काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमाथि गरेको प्रहार एक अन्तर्वार्ताको अभिव्यक्ति मात्र होइन ।
यो एकीकृत समाजवादीको जग, वर्तमान र भविष्यमाथि नै प्रश्न उठाउने शक्तिशाली राजनीतिक दस्तावेज हो । यसले पार्टीभित्र लामो समयदेखि गुम्सिएको वैचारिक द्वन्द्व, सांगठनिक गतिहीनताप्रतिको निराशा र नेतृत्वप्रतिको अविश्वासलाई विस्फोटको संघारमा ल्याइपुर्याएको छ । खनालको विश्लेषणले पार्टीलाई इतिहासको यस्तो मोडमा उभ्याइदिएको छ, जहाँबाट यसको अस्तित्वकै लागि गम्भीर आत्मसमीक्षा र पुनर्गठन अनिवार्य देखिएको छ ।
विद्रोहको औचित्यमाथि ऐतिहासिक प्रश्नः ‘पुष्टि नभएको विद्रोहको अर्थ के ?’
खनालको विश्लेषणको सबैभन्दा धारिलो प्रहार पार्टी स्थापनाको वैधानिकतामाथि नै छ । उहाँले विद्रोहलाई ‘दक्षिणपन्थी अवसरवाद’ विरूद्धको लडाईं भनिए पनि त्यसलाई सैद्धान्तिक र राजनीतिक रूपमा पुष्टि गर्न नेतृत्व पूर्णरूपमा असफल भएको तर्क अघि सार्नुभएकाे छ । उहाँको ‘पुष्टि नभएको विद्रोहको अर्थ रहेन’ भन्ने अभिव्यक्तिले पार्टीको जन्मलाई एक वैचारिक आवश्यकताभन्दा पनि तत्कालीन सत्ता-संघर्ष र व्यक्तिगत टकरावको प्रतिक्रियाको रूपमा चित्रित गर्दछ । यसले हजारौँ कार्यकर्ताको त्याग र बलिदानमाथि नै प्रश्न खडा गर्छ । जसले एक स्पष्ट वैचारिक दिशाको अपेक्षामा विद्रोहलाई साथ दिएका थिए । जब विद्रोहको जग नै कमजोर र अस्पष्ट हुन्छ तब त्यसबाट बनेको संरचनाको भविष्य पनि अनिश्चित हुनु स्वाभाविक हो । खनालले यही वैचारिक खोक्रोपनालाई पार्टीको मूल समस्याको रूपमा औँल्याउनुभएकाे छ।
नेतृत्वको असक्षमताः ‘सांगठनिक पक्षाघात र दिशाहीन पार्टी’
खनालले पार्टीको आन्तरिक जीवन र सांगठनिक अवस्थाको निराशाजनक चित्र प्रस्तुत गर्नुभएकाे छ । महाधिवेशन भएको १३ महिनासम्म पनि त्यसका निर्णयहरू कार्यकर्तासम्म नपुग्नु, अन्तरपार्टी निर्देशन (अपानि) जस्ता न्युनतम सांगठनिक गतिविधि ठप्प हुनु र पार्टीको मुखपत्रसमेत बन्द हुनुले एकीकृत समाजवादी एक जीवन्त राजनीतिक शक्तिभन्दा पनि एक निष्क्रिय र दिशाहीन समूहमा परिणत भएको उहाँको आरोप छ । यो अवस्थाले पार्टीभित्र चरम अन्योल, निराशा र पलायनको स्थिति सिर्जना गरेको छ । नेतृत्वले कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्ने, राजनीतिक रूपमा परिचालन गर्ने र सांगठनिक रूपमा एकतावद्ध गर्ने आफ्नो आधारभुत दायित्व पूरा गर्न नसकेको उहाँको निष्कर्ष छ । यो ‘सांगठनिक पक्षाघात’ले पार्टीलाई जनताबाट मात्र होइन, आफ्नै कार्यकर्ताबाट समेत टाढा बनाउँदै लगेको उहाँको विश्लेषण छ ।
अध्यक्षको राजीनामा मागः ‘पार्टी हाँक्न नसकेपछि पदमा बस्ने अधिकार छैन’
यो अन्तर्वार्ताको सबैभन्दा महत्वपूर्ण अंश अध्यक्ष माधवकुमार नेपालको प्रत्यक्ष राजीनामा माग हो । न्युज एजेन्सी नेपालसँगको अन्तरवार्तामा खनालले अध्यक्ष माधवकुमार नेपालको प्रत्यक्ष राजीनामा माग गर्नुभएको छ । पार्टीको वैचारिक र सांगठनिक दूर्दशाको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि थोपर्दै उहाँलाई पदबाट हट्न सार्वजनिक रूपमा चुनौती दिनुभएकाे छ । ‘तपाईंले यो पार्टी हाँक्न सक्नुभएन, पार्टी हाँक्ने योग्यता र क्षमता पनि रहेनछ’ भन्ने उहाँको कठोर अभिव्यक्तिले दुई नेताबीचको सम्बन्ध व्यक्तिगत टकरावबाट शक्ति संघर्षको चरणमा प्रवेश गरेको देखाउँछ । यो केवल असन्तुष्टि होइन, यो नेतृत्व परिवर्तनका लागि गरिएको खुला आह्वान हो । यसले पार्टीको आगामी केन्द्रीय कमिटी वा कुनैपनि तहको बैठकमा ठूलो राजनीतिक भुइँचालो ल्याउने निश्चित छ । अध्यक्ष नेपालमाथि पद त्यागका लागि चौतर्फी दबाब सिर्जना गरेको छ ।
वैचारिक द्वन्द्वः ‘वैज्ञानिक समाजवाद र बहुदलीय जनवादको लडाईं’
खनालले आफू र नेपालबीचको मतभेदलाई ‘वैज्ञानिक समाजवाद’ र ‘जनताको बहुदलीय जनवाद’ (जबज) बीचको वैचारिक लडाईंको रूपमा प्रस्तुत गर्नुभएकाे छ । उहाँको तर्कअनुसार, ०६२/६३ पछि जबजको औचित्य समाप्त भइसकेको अवस्थामा पनि अध्यक्ष नेपालले पार्टीको विधान र प्रतिवेदनमा जबजलाई नै स्थापित गर्न खोज्नु वैचारिक प्रतिगमन हो । यो मतभेदले एकीकृत समाजवादीभित्र एउटा साझा र स्पष्ट मार्गदर्शक सिद्धान्तको अभाव रहेको पुष्टि गर्छ । जबज एमालेको पहिचानसँग जोडिएको छ र त्यसलाई नै बोकिरहँदा एकीकृत समाजवादीको स्वतन्त्र र मौलिक पहिचान कसरी स्थापित हुन्छ भन्ने प्रश्न खडा हुन्छ । खनालले यही वैचारिक अस्पष्टताका कारण पार्टीले आफ्नो छुट्टै पहिचान बनाउन नसकेको र कार्यकर्तालाई आकर्षित गर्न नसकेकोतर्फ संकेत गर्नुभएकाे छ।
नैतिकताको संकटः ‘भ्रष्टाचारको मुद्दा र नेतृत्वको जवाफदेहिता’
खनालले अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचारको मुद्दालाई एक रणनीतिक र नैतिक अस्त्रको रूपमा प्रयोग गर्नुभएकाे छ। उहाँले सिधै दोषी नभनीकन ‘राजनीतिक नेतृत्व र नैतिकता अभिन्न हुने’ र ‘गम्भीर मुद्दा लागेपछि सांसद पद निलम्वन हुने नियम पार्टी नेतृत्वमा लागू हुन्छ कि हुन्न ?’ भन्दै नेपाललाई सार्वजनिक नैतिकताको कठघरामा उभ्याइदिनुभएकाे छ । यो एउटा राजनीतिक चाल हो । जसले नेपालमाथि पदमा रहिरहन गम्भीर नैतिक दबाब सिर्जना गर्दछ । यसले पार्टीलाई भ्रष्टाचारजस्तो संवेदनशील मुद्दामा कमजोर देखाउने र जनतामाझ पार्टीको छवि थप धमिल्याउने खतरा बढाएको छ । खनालले यो मुद्दामा पार्टीभित्र औपचारिक छलफल नभएको भन्दै नेतृत्वको अपारदर्शिता र गतिहीनतामाथि पनि एकैसाथ प्रहार गर्नुभएकाे छ।
वामपन्थी एकताको बहसः ‘एमालेको दमनकारी चिन्तन र एकताको आवश्यकता’
खनालले विभाजित वामपन्थी आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने आवश्यकता औँल्याउँदै आफूलाई एक वृहत वाम एकताको पक्षधरको रूपमा प्रस्तुत गर्नुभएकाे छ। तर उहाँले नेकपा (एमाले) नेतृत्वमाथि ‘दमनकारी चिन्तन’ रहेको र पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि भएको व्यवहार त्यसैको उदाहरण भएको भन्दै एमालेसँग तत्काल विलयको सम्भावनालाई नकार्नुभएकाे छ । उहाँको जोड ‘कार्यगत एकता’मा छ । जसले उहाँ वामपन्थी आन्दोलनमा आफ्नो स्वतन्त्र हैसियत र भुमिका खोजिरहेको देखाउँछ । यो अभिव्यक्तिले उहाँ एमाले वा अन्य कुनै दलमा समाहित हुनुभन्दा पनि वामपन्थी ध्रुविकरणमा आफूलाई एक महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गर्न चाहन्छन् भन्ने संकेत गर्छ । जसले भविष्यको वाम राजनीतिको समीकरणमा नयाँ सम्भावनाहरू खोलेको छ ।
पार्टीको भविष्यमाथि कालो बादलः ‘यही नेतृत्व रहे पार्टीको भविष्य छैन’
खनालले अन्तिममा एउटा चेतावनी पनि दिनुभएकाे छ । ‘पार्टीहरू पनि जन्मने र मर्ने गर्छन्’ भन्ने भनाइ उद्धृत गर्दै वर्तमान नेतृत्व र कार्यशैली कायम रहे एकीकृत समाजवादीको भविष्य अन्धकार रहेको उहाँको स्पष्ट निष्कर्ष छ । उहाँले पार्टी र नेतृत्व दुवैको पुनर्गठन अनिवार्य भएको बताउनुभएकाे छ । यो केवल आलोचना होइन । यो पार्टीको अस्तित्वमाथि नै देखिएको खतराको घण्टी हो । यसले पार्टीका इमान्दार कार्यकर्तालाई कि त पार्टीभित्रै विद्रोह गरेर नेतृत्व परिवर्तन गर्न, कि त वैकल्पिक बाटो रोज्न प्रेरित गर्नसक्छ । उहाँको यो भनाइले पुष्टि गर्छ कि, एकीकृत समाजवादी अब एक ऐतिहासिक क्षणमा आइपुगेको छ । जहाँबाट लिइने निर्णयले यसको अस्तित्व रहने वा नरहने कुराको फैसला गर्नेछ ।