पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणासँगै राजनीतिक वृत्त तातिएकै बेला नेकपा एमालेले उहाँको पार्टी सदस्यता नवीकरण नै रोकिदियो । एमालेले तर्क गरेको छ– राष्ट्रप्रमुख भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किनु गणतन्त्रको मर्यादाविपरीत हो ।
भण्डारीको राजनीतिमा फर्किने चाहना भने हठात् होइन भन्ने उहाँकै पटक पटकका अभिव्यक्तिले स्पष्ट भइसकेको छ । राष्ट्रपतिको दोस्रो कार्यकाल सकिएदेखि नै भण्डारी राजनीतिमा फर्किने उपयुक्त समयको खोजीमा हुनुहुन्थ्यो । भण्डारीकै भनाइअनुसार यसबारे एमालेका अध्यक्ष केपी ओली र अन्य नेताहरूसँग उहाँले यसबारे सल्लाह गर्नुभएको थियो । भण्डारीअघि राष्ट्रपति हुनुहुन्थ्यो- डा. रामवरण यादव । यादवले भने सक्रिय राजनीतिमा फर्किने इच्छा राख्नुभएको सुनिएको थिएन । तर यादव स्वयंलाई भने पार्टी राजनीतिमा फर्किने इच्छा थियो ।
सोमबार कान्तिपुर टेलिभिजनमा प्रसारित कार्यक्रम फायरसाइडलाई अन्तर्वार्ता दिने क्रममा यादवले यसबारे खुलासा गर्नुभएको हो । लामो समय नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीति गर्नुभएका यादव पार्टीमा महामन्त्रीसम्म बन्नुभएको थियो भने पटक पटक मन्त्री पनि रहिसक्नुभएको थियो ।
राष्ट्रपतिमा निर्वाचित भएपछि संविधानले दिएको जिम्मेवारी सम्हाल्दै चुरे संरक्षण र पर्यावरणका पक्षमा वकालत थाल्नुभएका यादव कार्यकाल सकिएपछि पार्टीमै सक्रिय हुने इच्छा थियो । तर व्यवस्थाको मर्यादाका लागि आफू राजनीतिमा नआएको उहाँले बताउनुभयो ।
'तपाईंलाई राजनीतिमा फर्किने किञ्चित चाहना भएन ?' प्रस्तोताको प्रश्नमा यादवले भन्नुभयो, 'इच्छा हुँदाहुँदै पनि परम्परा निर्वाह गरें ।'
आफू निवृत्त भएपछि केही समय बिरामी भएको स्मरण गर्दै डा. यादवले त्यस बेला कतिपयले राजनीतिमा पुनरागमन गर्न सल्लाह दिएको पनि बताउनुभयो । 'मलाई केहीले राजनीतिमा फर्किन सल्लाह दिएका थिए,' उहाँले भन्नुभयो, ‘तर जुन सिस्टम हामीले ल्याएका छौं, त्यसले पर्मिट गर्दैन ।'
पूर्वराष्ट्रपति डा. यादवले आफूलाई राजनीतिमा फर्किन प्रणालीले नै अनुमति नदिएको दाबी गर्नुभयो । 'जुन प्रणाली हामीले बनाएका छौं, त्यसले राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा प्रवेश गर्ने अनुमति दिँदैन ।'
पूर्वराष्ट्रपति डा. यादवले त्यस बेला संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यताका कारण र मानक स्थापना गर्ने दायित्वका कारण पनि आफूले पार्टी राजनीतिमा फर्किने कसरत नगरेको बताउनुभयो । 'परम्पराको निर्वाह गर्नुपर्ने थियो, संविधानमा लेखिएको नभए पनि परम्परा बसाउनुपर्ने थियो', उहाँले भन्नुभयो ।
डा. यादवले राजनीतिमा फर्किने चाहना नभएको चाहिँ बताउनुभएन ।
संसारका कतिपय कम्युनिस्ट व्यवस्था अपनाएका मुलुकमा राष्ट्रपति भइसकेका व्यक्ति फेरि प्रधानमन्त्री बनेका उदाहरण रहेको भन्दै पूर्वराष्ट्रपति डा. यादवले लोकतन्त्रमा भने यस्तो नहुने बताउनुभयो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उदाहरण दिँदै उहाँले लोकतन्त्रिक व्यवस्थामा यस्ता विषय शोभनीय नहुने तर्क गर्नुभयो ।
विद्या भण्डारीलाई पौडिन दिनुपर्थ्यो : पूर्वराष्ट्रपति डा. यादव
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगरेको विषयमा पूर्वराष्ट्रपति डा. यादवले मुख खोल्नुभएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले एमालेले भण्डारीलाई पार्टी प्रवेशमा रोक्नु सही नभएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, 'उहाँ जान हुँदैन थियो, तर उहाँ गइसकेपछि रोक्नु हुँदैन थियो ।'
एमालेले भण्डारीको सदस्यता नवीकरण रोकेको विषयमा टिप्पणी गर्दै डा. यादवले पार्टीले व्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने आशयसहित भन्नुभयो, 'पौडी खेल्न दिनुपर्थ्यो। परीक्षा दिन खुला छाड्नुपर्थ्यो।'
व्यक्तिले चाहन्छ भने पार्टीमा प्रतिस्पर्धा गर्ने छुट दिनुपर्ने उहाँको भनाइ थियो । ‘राष्ट्रपति भएको व्यक्ति राजनीतिमा फर्किन रोक्ने प्रावधान संविधानमा छैन,’ उहाँले भन्नुभयो– ‘कतिपय विषय संविधानमा नलेखिए पनि मर्यादाको विषय हुन्छ ।’
हेर्नुहोस् कार्यक्रम फायरसाइड :