टफटकमा अर्थमन्त्री : समयमै मन्त्रीहरु नआउँदा बजेटको गृहकार्य प्रभावित भयो

वैशाख १३, २०८०
टफटकमा अर्थमन्त्री : समयमै मन्त्रीहरु नआउँदा बजेटको गृहकार्य प्रभावित भयो

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट बनाइरहेको छ । यसका लागि सरकारले अर्थ मन्त्रालयमा तीन अर्थशास्त्रीलाई सल्लाहकार पनि नियुक्त गरेको छ । कसरी बनाइँदै छ त बजेट ? के के छन् प्राथमिकता ? पुँजीगत अर्थात् विकास खर्च बढाउने योजना के छ ? अघिल्ला वर्षहरुमा जस्तै परम्परागत रुपमा आउँछ वा आशा जगाउने गरी आउने छ ?

प्रतिनिधि सभाअन्तर्गतको उपनिर्वाचनले ठूला भनिएका दललाई दिएको सन्देश के हो ? यो सरकार कहिलेसम्म र कसरी चल्छ ? यी र यस्तै प्रश्नको जवाफ खोज्न आजको टफटकमा अर्थमन्त्री प्रकाशशरण महतसँग कुराकानी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र अमेरिकाको इलिनोइस विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. महतले यसअघि नै उर्जा तथा परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महत सभापति शेरबहादुर देउवाको विश्वासपात्र मानिन्छन् ।

यो उपनिर्वाचनमा तनहुँ– १ र चितवन–२ मा कांग्रेसका उम्मेदवार निकै ठूलो अन्तरले पराजित भए । कांग्रेस र सत्ता गठबन्धनले उपनिर्वाचनको समीक्षा कसरी गरेको छ ?

अवश्य पनि आउँदो दिनमा हामी समीक्षा गर्छौं नै । अब यो अहिले सामाजिक सन्जाल प्रभाव अत्यन्तै बढी देखिएको छ । हामी मूलतः पार्टी र पार्टीको कार्यकर्ता पक्तीमार्फत् जनतामा सिधै सम्बन्ध, आफूले गरेका काम र गर्ने काम राखेर हामी चुनावी क्याम्पेन अगाडि बढाउने हाम्रो परम्पारा हो । हामीले यो जुन अहिले सामाजिक सन्जालको प्रभाव छ । यसलाई संगठित रुपमा उपयोग गर्नमा हामी पछाडि छौं । र, समग्रमा हाम्रो पार्टी मात्र होइन, अन्य स्थापित पार्टीहरु छन्, समग्रमा हाम्रो आवश्यकता थुप्रै छन्, महत्वकांक्षा पनि धेरै छन् । यो सूचना क्रान्तिले सहज भएको छ । संसार हरेकले मोवाइलमा हेर्न सक्छ, कहाँ के भइरहेको छ, त्यहीअनुसार नेपालमा पनि हुनुप¥यो, किन भएको छैन ? भनेर तुलना गर्ने युवा पिँढी बढी छ ।

भनेपछि पुराना परम्परागत ठूला दलहरु यसै पनि लोकतन्त्र र प्रजातन्त्रप्रति जवाफदेही नभएको, जनता आकांक्षा पूरा गर्न नसकेको, साह्रै धेरै सत्ता केन्द्रित भएको भन्ने आक्षेप त छदै थियो । पछिल्लो समय यो सूचनाको क्रान्ति भनिरहँदा ‘कम्युनिकेसन’मा पनि तपाईंहरु चुक्नु भएको हो ?

अवश्य पनि दलहरुको कमि कमजोरी छ । कमिकमजोरीविहीन त कोही पनि छैन । विकशित देशमा सम्पूर्ण चिज भएर पनि त्यसपछि अरु हुनुपर्छ भन्ने महत्वाकांक्षा स्वभाविक आउँछ ।

अब चेतचाहिँ कहिले आउँछ त ? अस्तिको निर्वाचनमा पनि त्यही खालको पराजय र यो उपनिर्वाचनमा पनि त्यही खालको पराजय । कहिले समीक्षा कहिले महसुस गर्नुहुन्छ ?

त्यस्तो त भन्न मिल्दैन । किनभने अहिले पनि सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो । सबैभन्दा ज्यादा समर्थक भएको पार्टी हामी नै हौं । तर पनि अहिलेको ‘इमर्जिङ ट्रेन्ड’ छ त्यसलाई हामीले गम्भीरताका साथ हेर्नुपर्छ । हामीले प्रचार रणनीतिमा परिवर्तन ल्याउनु पर्छ र हाम्रो कार्यशैलीमा पनि परिवर्तन ल्याउनुपर्छ ।

कांग्रेसको गढ मानिएको तनहुँ– १ मा पाँच दलीय गठबन्धनको साथ रहँदा पनि तपाईंका उम्मेदवार पराजित भए । तपाईंको पार्टीमा नअटाउनु भएको स्वर्णिम वाग्ले विजयी हुनुभयो ?

होइन पार्टीले उहाँलाई जिम्मेवारी नदिएर, उहाँको योग्यताअनुसार दिनुपर्ने नदिएर उहाँलाई मत हाले भन्ने कुरा होइन ।

कहाँ जिम्मेवारी दिनुभयो त ? अघिल्लो निर्वाचनमा उहाँ विदेशमा भएको त्यति राम्रो जागिर छोडेर चुनाव लड्न आउनुभयो टिकट दिनुभएन । यो पटक पनि पाउने छाटकाँट नदेखेपछि उहाँले रहर गरेपछि अर्को दलले दियो जितेर आउनुभयो...

जागिर त अहिले नेपालीहरु विश्व बैंक, एसियन डेभलवमेन्ट बैंक, यूएनडीपीमा थुप्रै उहाँभन्दा पनि योग्य साथी काम गर्नुहुन्छ । तर उहाँले राजनीतिक महत्पकांक्षा देखाउनु भयो आउनुभयो, त्यसलाई हामी अस्वाभाविक ठान्दैनौं र पार्टीले उहाँको योग्यताअनुसार जिम्मेवारी दिएको हो नि ।

पछिल्लो समयचाहिँ डर लागेर पार्टीको टिकट लिनुभएन ?

होइन । एकदम गलत कुरा हो । उहाँ योग्यताअनुसार योजना आयोगको उपध्यक्षसमेत बन्नुभयो । धेरैले एकैचोटी त्यसरी जिम्मेवारी पाएका छैनन् । पार्टीका अरु पनि जिम्मेवारी उहाँलाई दिएको हो । के बुझ्नुपर्छ भने– नेपाली कांग्रेस ठूलो पार्टी हो । यसमा असंख्यक पार्टीका कार्यकर्ता र नेताहरु छन् । धेरै खुन पसिना बगाएका मान्छे छन् । योग्य मान्छे पनि छन् । ग्रासरुटमा सिधै भिडिरहेका मान्छे पनि छन्, काम गरेका मान्छे छन् । त्यसमध्ये गोविन्द्र भट्टराई त्यस्तो मान्छे थिए जसले त्यहाँ दैनिकरुपमा जनताका आवश्यकताहरु प्रति काम गरिरहने, विद्यार्थीको नेतृत्व गरेका व्यक्ति थिए ।

तपाईं कांग्रेसको प्रवक्तासमेत हुनुहुन्छ । मुलुकको अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । सरकार र पार्टीको नीतिमा आमुल परिवर्तन गर्नुपर्छ भन्ने सन्देश यो उपनिर्वाचनले दिएको हो ?

कुरा के भने हामी ‘कम्युनिकेसन’मा कमजोर छौं । ‘पर्सेप्सन’ भन्ने कुरा सबैभन्दा ठूलो हुँदो रहेछ हेर्नुहोस् । अहिले नयाँ पार्टीका नेताहरु भन्नुभएको छ, जुनखाले आरोपहरु उहाँले बेहोर्नु भयो । त्यही आरोप, त्यहीखाले निर्णय हामीले गरेको भए खेदो खनिन्थ्यो । त्यसले टिक्न सक्ने अवस्था हुँदैन थियो । तर उहाँले संखाको फाइदा पाइरहनु भएको छ । होइन यिनीहरुलाई चाहिँ यो स्थापित दलहरुले जानी जानी खेदेका हुन्, केही पनि गरेका थिएनन् होला, नगरी पनि गरेको भनिदियो भन्ने किसिमको संकाको फाइदा उहाँहरुले पाइरहनुभएको छ । यो शंकाको फाइदा सधैं पाइँदैन । यो चाहिँ हेक्का रहोस् । यो भनेर हामीमा कमजोरी नै छैन, हामीले सुधार गर्नुपर्ने नै छैन भन्ने कुरा होइन ।

पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएको वैशाख १० गते चार महिना पुग्यो । पुस १० गते प्रधानमन्त्री नियुक्त दाहालले ११ गते पहिलो पटक मन्त्रिपरिषद विस्तार गरे । त्यसयता ८ पटक मन्त्रिपरिषद विस्तार भइसक्यो । आजसम्म सरकारले पूर्णता पाएको छैन । यो शैलीले नेपाली राजनीतिमा अझै पनि टिकिन्छ जस्तो लाग्छ ?

अवश्य पनि तपाईंले ठीक कुरा उठाउनु भएको छ । समस्याहरु छन् । यसै पनि धेरै पार्टीहरु मिलाएर सरकार बनाउनुपर्ने अवस्था छ । समयमा निर्णय हुन सक्दैन ।

होइन सरकार बन्न कति समय लाग्छ भन्नुहोस् न...

यो लामो समय लाग्नु नपर्ने हो । अब केही समयमै पूर्णता पाउँछ ।

नेता शेखर कोइराला समूहले मन्त्रीको नाम किन नदिएको ?

सल्लाह भइसकेको छ । त्यो टुंगिसकेको छ । अब सपथ ग्रहण गर्न मात्र बाँकी छ ।

तपाईंहरुको शैली के भयो भने आवश्यकताका आधार, प्रधानमन्त्रीलाई भारत जाने तयारी गर्नु छ, अस्ति परराष्ट्रमन्त्री नियुक्त गरियो । अर्थमन्त्रालय एक महिना रिक्त भयो । दबाब आयो । त्यसपछि तपाईं मन्त्री बन्नुभयो । कुनै ‘डेडलाइन’ छ तपाईंहरुले कहिले सरकारलाई पूर्णता दिनुहुन्छ ?

यो शैलीलाई परिवर्तन गर्नुपर्छ । भनें नि– समय यसरी लम्ब्याउनुहुँदैन । तर अब मलाई लाग्छ, केही दिनमै सरकारले पूर्णता पाउँछ, यसमा दुई मत छैन ।

यसअघि नै उर्जा र परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । अरु मन्त्रालयको मन्त्री बन्दा र अर्थमन्त्री बन्दा कतिको फरक हुँदो रहेछ ?

म अर्थमन्त्रीको हैसियतले बजेट निर्माण प्रक्रियाको धेरै नजिक छु । तीन हप्ताभन्दा बढी भयो म मन्त्री भएको । जेठ १५ गते हामीले बजेट ल्याउनैपर्छ । कतिपय मन्त्रालयले अझै पूर्णता पाएका छैनन् । मन्त्रीहरु समयमा नआउँदा चाहिँ त्यहाँको कर्मचारीतन्त्रले नेतृत्व आएको छैन भनेर समयमै गृहकार्य गरेको अवस्था छैन । त्यसले गर्दा अवश्य पनि बजेट निर्माण प्रक्रियामा जुन गहिराईमा गएर हुन सकेको छैन । कहाँ–कहाँ सुधारको आवश्यकता छ, बजेट बढी वैज्ञानिक बनाउनुपर्ने छ, थोरै स्रोत छ, कम राजस्व उठेको छ, थोरै आम्दानीलाई बढी प्रभावकारी क्षेत्रमा कसरी प्रयोग गर्ने, कहाँ हामी असफल भयौं, कहाँ हाम्रा लगानी उत्पादनमुलक भएनन्, यसको समग्र मूल्यांकनका आधारमा बढी प्रभावकारी कार्यक्रम र उत्पादनशील क्षेत्रमा लगानी गर्नका लागि समय हामीलाई अत्यन्तै कम भएको छ । त्यसकारण मेरो क्षमता, योग्यताले भ्याएसम्म म रातदिन लागिरहेको छु । तर अत्यन्तै दबाब छ ।