काठमाडौं । आजको एक साताभित्र नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाउँदैछ । चैत २८ र २९ गते हुने ५७ औं वार्षिक साधारण सभाले महासंघको नेतृत्व चयन गर्न लागेको हो । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधानको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि उद्योगी व्यवसायीहरुमा प्रतिस्पर्धा देखिएको छ ।
आगामी साता महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छाको कार्यकाल पूरा हुँदैछ भने वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानअनुसार स्वतः अध्यक्ष बन्ने छन् । वरिष्ठ उपाध्यक्षमा भने नयाँ नेतृत्व चयन हुनेछ ।
यसपटक उद्योगी–व्यवसायी अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ प्यानल नै बनाएर वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा छन् । यिनै तीन प्रतिस्पर्धी कान्तिपुर टेलिभजनको साप्ताहिक कार्यक्रम टफमा अथितिका रुपमा उस्थिति छन् ।
वरिष्ठ उपाध्यक्षका तीन प्रत्याशीलाई आन्सन्न महासंघको निर्वाचन, उनीहरुका चुनावी एजेन्डा, वर्तमान अर्थतन्त्र र यसको सुधारका लागि गर्ने प्रयास र वर्तमान परिस्थितिमा निजी क्षेत्रको दायित्व कस्तो हुन्छ भन्ने विषयमा प्रश्न सोधिएको छ ।
प्रस्तुत छ– महासंघको वरिष्ठ उपाध्यक्ष पदका तीन आकांक्षीसँग प्रधानसम्पादक दिलभुषण पाठकले गरेको चुनावी बहसको मुख्य अंश–
तपाईं को हो ? उद्योग वाणिज्य महासंघका मतदाता, उद्योगी व्यवसायी र आम दर्शकसामु आफूलाई कसरी चिनाउनुहुन्छ ? २ मिनेटमा जवाफ दिनुहोस् ।
उमेश श्रेष्ठ– म एउटा सामान्य नागरिक हो । म नेपालको ३ करोड जनतामध्ये एक हुँ । मेरो केही पनि विशेषता छैन । त्यो कुरा सबैले बुझ्नुपर्छ । म यस्तो परिवारमा जन्मिएँ कि त्यो परिवार राजनीतिमा लिप्त थियो । मेरो ठूलोबुबा शहिद गंगालाल हुनुहुन्थ्यो, मेरो बुबा पुष्पलाल श्रेष्ठ र मुमा सहाना प्रधान ।
म अत्यन्त सामान्य परिवेशमा हुर्किएको मान्छे । सामान्य स्कुलमा पढेको मान्छे । करिब १९ वर्षको उमेरमा मैले व्यवसायिक जीवनको सुरुवात गरेँ । ४५ वर्षअघि मैले सामान्य जागिरबाट आफ्नो जीवनको सुरुवात गरेँ । जागिर खाँदा खाँदै मलाई के आभाष भयो भने– न पेट चल्छ, न घर चल्छ, न सायद देशै चल्छ । मैले सोचेँ केही न केही गर्नुपर्यो । जागिर छोडेर व्यापार सुरु गरेँ ।
यो सायद सन् १९८१–८२ तिरको कुरा होला । त्यसपछि मैले के सोचेँ भने यो व्यापरबाट त केही पनि हुँदैन । नेपालमा केही न केही गर्नुपर्छ उद्योग राख्नुपर्छ भन्ने मैले सोचेँ । मैले जानेको बुझेको औषधि बनाउन होइन बेच्न । म मेडिकल प्रतिनिधिको काम गर्थेँ । मलाई लाग्यो, उद्योग खोल्नुपर्छ । विसं २०४१ मा मैले उद्योग खोलेँ । त्यसपछि उद्योगको सिलसिला जारी भयो । त्यसपछि १९९५ सालमा मैले अर्को उद्योग खोलेँ । त्यो पनि औषधिकै हो तर आयुर्वेद । त्यस्तै आएर चार वर्ष अगाडि मैले रबर उद्योग खोलेँ । यो नै मेरो परिचय हो ।
अन्जन श्रेष्ठ– म अन्जन श्रेष्ठ । समान्य परिवारले आजभन्दा ४९ वर्ष अगाडि तीन सय रुपैयाँबाट व्यवसाय सुरु गरेको थियो । त्यो परिवार आज लक्ष्मी समूह भनेर चिनिन्छ । लक्ष्मी समूह चाहिँ उत्पादनमुलुक उद्योग, कृषिमा, निर्माण उद्योगमा, अटोमोवाइल ट्रेडिङमा संलग्न छ भने भविष्यमा पर्यटमा पनि लगानी गर्न तयार भएर बसेको छ । त्यो संस्थाको म कार्यकारी निर्देशक छु ।
म विगत २० वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा संलग्न छु । पछिल्लो समय महासंघको वस्तुगततर्फको निर्वाचित उपाध्यक्षका रुपमा कार्यरत छु । आसन्न निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षमा मैले दाबी गरेको छु । अहिले अर्थतन्त्रमा समस्या छ, व्यवसायीहरु समस्यामा छन् । हाम्रा थुप्रै व्यवसायिक समस्या छ त्यसलाई चिर्नुपर्ने छ । त्यो समस्या चिर्न सक्छु भनेर नेतृत्व उन्मुख भएर अगाडि बढेको व्यक्ति हुँ ।
रामचन्द्र संघाई, वरिष्ठ उपाध्यक्षका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ
रामचन्द्र संघाई– म कपडा व्यवसायबाट आएको हुँ । मेरा स्वर्गीय बुबाले कपडा पसलबाट व्यवसाय सुरु गर्नुभएको थियो । हामी पाँच दाजुभाइमा म चौथो नम्बरको हुँ । कपडा पसलमा काम गर्दा–गर्दा आफ्नो उद्योग विस्तार गर्न लागेँ । आज म विभिन्न उत्पादनमुलक, सेवामुलक र कृषिमुलक उद्योगमा आवद्ध छु ।
म त्रिवेणी समूहको सञ्चालक छु । करिब १८ हजार श्रमिक यो समूहमा आवद्ध छन् । देशको जीडीपीमा अढाइदेखि तीन प्रतिशतको योगदान हामीले गरेका छौं । म उद्योग वाणिज्य महासंघमा २० वर्षदेखि आवद्ध छु । अहिले म यसको एसोसियटतर्फको उपाध्यक्ष पदमा छु ।
म रोजगारदाता परिषदको सभापति पनि भएकाले मेरो मुख्य कर्तव्यचाहिँ उद्योगी र रोजगारदाताबीच कसरी सम्बन्ध सुधार हुन सक्छ र कसरी यहाँ उत्पादन बढ्न सक्छ भन्ने कुरामा ध्यान रहन्छ । म अहिले वरिष्ठ उपाध्यक्षको दाबेदार छु । मैले टिम बनाएर हिँडेको छु । मलाई लाग्छ कि म देशका जनता र उद्योगीको दिल जित्न सक्छु ।
तपाईंहरु त उद्योगी व्यवसायी, नाफा घाटाको हिसाब–किताब गर्नुपर्ने हुन्छ, व्यवसायमा समय दिइएन, प्रवद्र्धन गरिएन भने घाटा हुन्छ भन्ने आम बुझाइ छ । तर, तपाईंहरु वर्षौंदेखि महासंघको राजनीतिमा लागिरहनुभएको छ । नेतृत्वमा पुग्न के कुराले प्रेरित गर्छ ? तपाईंले उम्मेदवारी दिएको पद वरिष्ठ उपाध्यक्षसँग के–कस्ता अधिकार र अवसर हुन्छन् ? तपाईंको उम्मेदवारी किन ? तपाईंका एजेन्डा–मुद्दा के छन् ? अहिलेको महासंघमा के–कस्तो परिवर्तन जरुरी छ ? २ मिनेटमा जवाफ दिनुहोस् ।
उमेशलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्षका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ
उमेश श्रेष्ठ– दुई मिनेटमा यत्रो प्रश्नको जवाफ दिन त गाह्रो होला । म घडी नलगाउने मान्छे, त्यही पनि म प्रयास गर्छु । सर्वप्रथम महासंघमा उम्मेदवार किन भने– हामी कुनै वाद अथवा विचार बोकेका मान्छे होइनौं । हाम्रो एउटै वाद छ अर्थतन्त्र । देशको अर्थतन्त्रलाई कसरी सुधार गर्ने । विगतका केही वर्षमा नेपाल उद्योग वाणिज्य महासंघ र सरकारबीच खासै राम्रो संवाद नभइ रहेको अवस्था र मेरो ४५ वर्षको करिअरमा अहिलेको जस्तो खराब अवस्था मैले देखेको छैन ।
मलाई थुप्रैले भन्छन्– यस्तो अवस्थामा किन कोसिश गरिरहेको ? जहाजमा अब आँधी आउँछ तब कप्तानी गर्नेमा केही चुनौती हुन्छ । म त्यही चुनौती स्वीकार गर्न जान लागेको हो, अरु केही पनि होइन । महासंघका विगतका लिडरलाई म गाली गर्न होच्याउन चाहन्नँ तर महासंघ सीमित भयो । सीमित केमा भयो भने– ज्ञापन पत्र बुझाउन, फोटो खिचाउन यति मात्रमा सीमित भयो । यसले गर्दा महासंघमा समस्या आइरहेको छ ।
महासंघको आफ्नो विशाल संयन्त्र छ । जुन देशभरि फैलिएको छ । हामी यो देशमा सरकारपछिको ठूलो सन्जाल उद्योग वाणिज्य महासंघको भन्छौं । तर यसको प्रभाव घट्दै गएको छ । प्राइभेट सेक्टरले ७५ प्रतिशत अर्थतन्त्र धान्छ । यो कुरा हामीले सरकारलाई बुझाउन नसकेको अवस्था रहेको अवस्थामा महासंघले अझै पनि राम्रो लिडरसिप दिन सकेन ।
हुन त म अहिले अध्यक्षमा जान चाहेको होइन, वरिष्ठ उपाध्यक्षमा जान लागेको हो । तर पनि वरिष्ठ उपाध्यक्षको ठूलो भूमिका हुन्छ । अहिले बैंक ब्याजका बारे थुप्रै आन्दोलन भइरहेको छ । यसमा महासंघले नेतृत्व नै लिन सकेन । अपनत्व नै लिन सकेन । मेरो यसमा मान्यता के छ भने– हामीले बैंकको विरोधमा आन्दोलन होइन, राष्ट्र बैंकको विरोधमा आन्दोलन अथवा राष्ट्र बैंकविरुद्ध केही कदम उठाउनुपथ्र्यो ।
जुन तरलता थियो, राष्ट्र बैंक सुतिरहेको थियो । जथाभावी बैंकले ७ प्रतिशतमा ऋण बाँड्दै हिँड्यो । सरकार र राष्ट्र बैंकबीचको सम्बन्ध पनि यसमा आउँछ । यसमा पनि महासंघले ध्यान दिन सकेन । किनभने महासंघको नेतृत्व र हामी पनि सस्तो ब्याज लिन दौडिराख्यौं । यो कुरालाई हामीले परिवर्तन गर्नुपथ्र्यो । तर त्यो भएन ।
अन्जन श्रेष्ठ– म विगत तीन महिनादेखि विभिन्न जिल्ला उद्योग वाणिज्य संघ भ्रमण छु । वस्तुगत संघको पनि भ्रमण गरेर आएको छु । यो भ्रमणमा मैले व्यवसायीहरुको धेरै आवाज सुनेको छु । चुनौतीको कुराहरु बुझेको छु । उहाँहरुले भोग्नुभएका समस्याहरुका बारेका कुरा भएको छ ।
यो भ्रमण सिलसिलमा कस्तो परिस्थिति आयो भने– कपिलवस्तुमा एउटा चिया गफमा थिएँ, उद्यमीहरुको भेटघाटमा क्रममा एकजनाले गहभरि आँशु पारेर भन्नुभयो– मेरा दुईवटा छोरालाई यहाँ व्यवसाय गर्ने वातावरण नभएर भारतमा सेटल गराउने, भारतमै व्यवसाय गराउने प्रयास गरिरहेको छु । डडेलधुरामा पनि त्यस्तै भयो । धनगढीका एक व्यवसायीले के भन्नुभयो भने– तीन महिनादेखि मेरो पसल बन्द गरेर बसिरहेको छु । मोबाइल पनि अफ छ । मैले केही गर्न सकिरहेको परिस्थिति छैन ।
यी आवाजहरु नै हामीले बोकेर अगाडि बढ्नुपर्ने छ । यी आवाजकै प्रतिनिधित्व गर्नुपर्ने छ । जिल्ला–जिल्लामा वस्तुगत संघमा धेरै समस्या छन् । ब्याजदरको कुरा त आफ्नै ठाउँमा भयो, । बैंकले लगानी गर्न सकेको छैन । व्यवसायीले पैसा नपाएर बजार सुकेको छ । अहिले बजार चलायमान छैन । यो अवस्था छ । यो आवाज कसले सुनिदिने ? कसले सुनाउने ? यो सुन्ने, सुनाउने गर्नका लागि परिस्कृत नेतृत्व चाहिएको छ । त्यो नेतृत्वका लागि मैले गर्न सक्छु भनेर सरकारसँग बहस पैरवी गर्न सक्छु भनेर मैले आफूलाई अगाडि बढाउन खोजेको छु ।
रामचन्द्र संघाई– मेरा चुनावी एजेन्डा तीनवटा छन् । एउटा–एफएनसीसीआईको संगठनात्मक र समन्वयको सुधार गर्ने । अर्को–आजको देशको आर्थिक स्थितिलाई सबल बनाउने । एफएनसीसीआईको संगठनात्मक र समन्वयको सुधार कसरी गर्न सकिन्छ भने आज हाम्रा प्रदेश च्याप्टरहरु पनि छन् । त्यसको जिल्ला उद्योग वाणिज्य संघ र महा संघसँग कसरी समन्वय गर्ने भन्ने हो ।
म जिल्ला भ्रमणमा पनि गएको छु । अहिलेको आर्थिक सुस्तीले समस्या उत्पन्न भइरहेको छ । सबै व्यवसायीमा ब्याजदर बृद्धिको मार परेको छ । यसका लागि म आफूलाई कसरी प्रस्तुत गर्न चाहान्छु भने– म अहिले पनि नेतृत्वमा नै छु । हामी पटकपटक सरकार समक्ष आफ्ना एजेन्डा लिएर गएका छौं । आवाज पनि उठाएका छौं । मलाई के लाग्छ भने सरकारलाई आह्वान गर्ने हो । कुरा गरेर समस्याको निकास निकाल्ने हो, जस्तो लाग्छ । यसका लागि हाम्रो प्रयास जारी छ । आज पनि छ, भोलि पनि रहने छ । मलाई लाग्छ, म उद्योगी र धेरै रोजगारी सिर्जना गरेकाले अगाडि बढ्न सक्छु ।
अघिल्लो हप्ता मैले टफटकमै महासंघका अध्यक्ष शेखर गोल्छासँग अन्तर्वार्ता गरेको थिएँ । उहाँसँग एकजना अर्थशास्त्री पनि हुनुहुन्थ्यो । अहिलेको मुलुकको अर्थतन्त्र कठिन अवस्थामा छ भन्नुहुन्छ उहाँ । अहिलेको आर्थिक संकट टार्न निजी क्षेत्रबाट तपाईंको पहल के हुनेछ ? अर्थतन्त्र पुनरुत्थानमा यहाँको भूमिका के हुनेछ ? २ मिनेटमा जवाफ दिनुहोस् ।
उमेश श्रेष्ठ– मलाई यसमा सबैभन्दा ठूलो भूमिका सरकार र राष्ट्र बैंकको हुन्छ जस्तो लाग्छ । किनकि हामी कार्यकारी होइनौं, यो सबैले ख्याल गर्नुपर्छ । भूमिका भनेको सरकारको हो, राष्ट्र बैंकको हो ।
सरकारले सबैभन्दा पहिला के निर्देशन दिनुप¥यो भने अहिले व्यापारको अवस्था यस्तो नाजुक भएका बेलामा बैंकहरुलाई पुनःसरचना गर्न आदेश नै दिनुपर्छ । हुनत म फ्री इकोनोमी मार्केटको पक्षधर हुँ । कुनै पनि कुरामा प्रतिबन्ध लागउनुहुँदैन भन्दाभन्दै पनि जब देशको आर्थिक स्थिति नै खतरामा पर्छ, यस्तो अवस्थामा सरकारले हस्तक्षेप गर्नुपर्छ । अहिले राष्ट्र बैंक र सरकारको जुनखालको सम्बन्ध छ, यसले नेपाललाई भलो गरिरहेको छैन । मलाई लाग्छ, यहाँ जुँगाको लडाइँ भइरहेको हो कि ?
निजी क्षेत्रको भूमिका तब आउँछ, जब सरकारले ऋण प्रवाह गर्छ । आजकल जनताको खल्तीमा पैसा छैन । जनतामा क्रयशक्ति छैन । जनतालाई फेरि एकपटक कसरी पुनःजागृत गर्ने ? हाम्रो बिजनेस, व्यापार केही पनि चलेको छैन । यस्तो अवस्थामा सरकारले हस्तक्षेप गर्नुपर्छ । कुनै पनि सरकारको मुल आधार भनेको अर्थतन्त्र हो । हामीले हातेमालो गर्ने हो । सरकारसँग मिलेर अगाडि बढ्ने हो ।
अन्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ
अन्जन श्रेष्ठ– सबैभन्दा पहिले अहिलेको परिस्थिति कसरी आयो भन्ने कुरा आउँछ । अहिले लगानी र व्यवसायिक वातावरण नै छैन । सरकारले सबैभन्दा पहिले निजी क्षेत्रको विश्वास जित्नुपर्छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । यो भयो भने मात्र रोजगारी सिर्जना हुन्छ ।
नम्बर दुई– नीतिगत स्पष्टता । विजनेस मैत्री नीतिहरु बनाउनुप¥यो । अर्को– पूर्वाधारका कुराहरु गर्नुपर्छ हामीले । हाम्रा औद्योगिक पूर्वाधार निकै कमजोर छन् । उदाहरणका लागि लजिस्टिकको कुरा गर्दा भारतमा ६०–७० किलोमिटरको कुरा गरिन्छ भने हाम्रो जम्मा २३ किलोमिटरको हिसाबको कुरा गरिन्छ ।
विद्युतको कुरा गर्दा सप्लाईको क्वालिटी छैन । पूर्वाधारका कुरामा धेरै समस्या छन् । कच्चा पदार्थ उपलब्ध छैन, यसमा पनि चुनौती छन् । लगानी गर्न पुँजी छैन । पुँजीको व्यवस्थापनका कारण अहिले समस्या आइरहेको छ । विगत दश वर्षदेखि यो समस्या छ ।
विगत १० वर्षदेखि हेर्ने हो भने प्रत्येक वर्षको तीन महिना तरलताको अभाव भएर गइरहेको छ । हिजो यसलाई ‘सर्ट फिक्सिङ’ गरेर ल्याइयो र आज ठूलो समस्या आयो । इकोनोमी नै धस्सिने अवस्थामा आइपुगेको छ । त्यसकारण सरकारले समन्वयकारी भूमिका खेल्नुप¥यो ।
रामचन्द्र संघाई– हामी उद्योगी व्यवसायी उद्योग–व्यवसाय चलाउँछौं, हामी सरकारसँग समन्वय गर्छौं । सरकारसँग समन्वयमा अलिकति ग्याप भएको महसुस गरेको छु, व्यवसायीका रुपमा । अर्थतन्त्र पुनरुत्थानका लागि रोजगारीको सिर्जना गर्नुपर्छ जस्तो लाग्छ । रोजगारी बढाउनुप¥यो, विद्युत सप्लाई हामीसँग बढी छ । तर पनि उद्योग करिडोरमा सरकार गम्भीर भएको मैले देखेको छैन । उद्योग करिडोरमा २४सैं घण्टा विद्युत् आपूर्ति कसरी गर्ने भन्ने कुरामा सरकार अहिलेसम्म गम्भीर छैन ।
एउटा कुराले मात्र अर्थतन्त्र सुधार हुन सक्दैन, त्यसमा धेरै पक्षहरु हुन्छन् । यसतर्फ सरकारको पनि ध्यान जानुपर्छ ।
महासंघ छाता संगठन छ । हामीले पटक–पटक पैरवी गरिरहेका छौं तर सरकारले त्यसलाई विश्वास गरेर हाम्रो कुरालाई विश्वास गरेर कार्यान्वयमा जान जरुरी छ । हामी लगेर एजेन्डाहरु दिन्छौं त्यसलाई विश्वास गरेर यसलाई फास्ट ट्रयाक्टमा सम्बोधन गर्नुपर्छ जस्तो मलाई छ ।
(पूरा अन्तर्वार्ताका लागि माथिको भिडियो हेर्नुहोला)