फायरसाइडमा शंकर पोखरेल : पूर्वराष्ट्रपतिको पुनरागमनले के ओलीलाई धक्का दिन थालेको हो ?

असार ३०, २०८२ |रुपेश श्रेष्ठ
फायरसाइडमा शंकर पोखरेल : पूर्वराष्ट्रपतिको पुनरागमनले के ओलीलाई धक्का दिन थालेको हो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेको एक वर्ष पूरा भएको छ । नेपाली कांग्रेससँगको यो गठबन्धनले सुशासन, विकास र अर्थतन्त्रमा गतिशीलताको बाचा मात्र होइन, ७ बुँदे सहमति नै गरेको छ, प्रधानमन्त्रीले त्यो सहमति संसद्‌मै वाचन गरेर सुनाउनुभएको छ । त्यो सहमति र प्रतिबद्धता अनुसार कति काम भयो ? सुशासनको अनुभूति नागरिकले गरेका छैनन् । विकासको गति अझै सुस्त छ । 

अर्थतन्त्रका केही सूचक सकारात्मक छन् तर नागरिकको जीवनमा तिनको प्रभाव देखिएको छैन । संविधान संशोधनको मूल उद्देश्यमा कुनै प्रगति छैन, खासमा त्यसतर्फ सत्तारुढ गठबन्धनकै ध्यान छैन । सरकारका मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नभएकैले हुनुपर्छ, त्यसको चर्चा समेत हुन छोडेको छ । उल्टै सरकारका मन्त्रीहरूमाथि बारम्बार प्रश्न उठिरहेका छन्, अझ संयोग– सरकारले एक वर्ष पूरा गरेकै बेला दुई जिम्मेवार मन्त्रीहरूमाथि सरुवा र नियुक्तिका लागि पैसाको मोलमोलाइ गरेको आरोपमा संसद्‌मा राजीनामा माग भइरहेको छ । 

अर्कोतर्फ सरकारलाई राय सल्लाह सुझाव र सहयोग गर्न गठिन संयन्त्र निष्प्रभावी छन् । प्रधानमन्त्रीकै नेतृत्वमा गठित सुशासन आयोग बेखबर छ । सरकारलाई समर्थन गरेका नाउपा र जसपाले समर्थन फिर्ता लिँदा गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसभित्र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि छ । केपी ओली नेतृत्वको सरकारको एक वर्ष कस्तो रह्यो ? फायरसाइडको आजको अंकमा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेसँग यसको उत्तर खोज्नेछौं । साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा फिर्ताको सन्दर्भले एमालेमा हलचल मच्चिएको छ । के अध्यक्ष ओली र उनका समर्थकहरूलाई यसले धक्का दिन थालेको हो ? यिनै सवालको जवाफ दिन आज हामीसँग हुनुहुन्छ नेकपा एमालेका महासचिव शंकर पोखरेल ।

हेर्नुहोस् कार्यक्रम फायरसाइड :


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।