टफटकमा हरि बुढामगर : अपाङ्गता भएकालाई सचेत गराउन कानुन उल्टाएर सगरमाथा चढेको हुँ

जेष्ठ १०, २०८०
टफटकमा हरि बुढामगर : अपाङ्गता भएकालाई सचेत गराउन कानुन उल्टाएर सगरमाथा चढेको हुँ

काठमाडौं । ‘शारीरिक रुपमा अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् । यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपांगता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ ।’

सगरमाथाको सफल आरोहणपछिको यो अभिव्यक्तिले हरि बुढामगरको साहस स्पष्ट पार्छ ।

रोल्पाको थबाङ गाउँपालिका मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा अफगानिस्तानमा सन् २०१० मा आफ्ना दुबै खुट्टा गुमाएका हुन् । सगरमाथाको सफल आरोहण गर्नुपूर्व उनले ४ हजार ८ सय १० मिटर उचाइको मोन्ट ब्लाङ्क, ६ हजार ५९ मिटर अग्लो चुलु सुदूरपूर्व, ५ हजार ८ सय ९५ मिटर उचाइको किलिमन्जारो र ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिक लगायतको सफल आरोहण गरिसकेका छन् ।

हरिको नाममा सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोव नी’ को विश्व रेकर्ड पनि छ ।

दुबै खुट्टा गुमाएका हरि बुढामगरको सगरमाथा चढ्ने र विश्वसामु सन्देश दिने चाहना कसरी भयो पूरा ? कस्तो रह्यो आरोहण अनुभूति ? यो बीचमा के कस्ता परिस्थितिको सामना गर्नुप¥यो ? दुवै खुट्टा गुमेपछिको मनोदशा र आत्मविश्वासको यात्रा कस्तो रह्यो ? यी र यस्तै प्रश्नको जवाफ खोज्न कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम टफटकमा विश्व कीर्तिमानी आरोही, पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई निम्त्याइएको छ ।

हरिजी, सबैभन्दा पहिले त यहाँलाई सगरमाथाको सफल आरोहणका लागि बधाई छ ।

धन्यवाद ।

मान्छे विचित्र प्राणी हो है । अचम्म लाग्दैन ? संसारलाई अचम्मित पार्नुभयो नि ।

मलाई लाग्छ, संसारमा धेरै अचम्मित चिजहरु भएका छन् । अहिले हामी मंगल ग्रह पुग्न सक्छौं ।

तपाईं जति खुसी हुनुहुन्छ, त्यतिनै म खुशी छु र मुलुक नै हर्षले गदगद छ । तपाईंले पनि भन्नुभयो, संसारमा धेरै अचम्मित चिजहरु भएका छन् भनेर । यसका लागि के चाहिन्छ ?

विश्वस्त हुनुपर्छ अनि साहस आउँछ ।

म सम्झन्छु– आजभन्दा चार वर्षअघि अर्थात्, २०७५ साल माघ ११ गते तपाईंसँग मैले अन्तर्वार्ता गरेको थिएँ । जतिबेला तपाईं सगरमाथा चढ्ने तयारीमा हुनुहुन्थ्यो । तर, त्यो बेलासम्म नेपालको सगरमाथा आरोहणसम्बन्धी ऐनले दुवै हात नभएका, दुवै खुट्टा नभएकालाई र दुबै आँखा नदेख्ने मानिसलाई सगरमाथा आरोहण गर्न बञ्चित गरेको थियो । तर त्यसविरुद्ध अनेक अभियान चलाएर, मुद्दा सर्वोच्चसम्म पु¥याएर, जितेर पाँच वर्षपछि सगरमाथाको सफल आरोहण गर्नुभयो । अर्को चुनौती थपिदिनुभयो होइन ?

० कोही चढोस् नचढोस्, कसैको अधिकार हनन गर्न मिल्दैन । यो मानव अधिकार हो । त्यसमा धेरै साथीहरु, संघसंस्था र मिडियाहरुले सहयोग गर्नुभयो । त्यसमा भुल्नै नहुने नाम हो माधव चौलागाईं । उहाँको रिट परेको थियो । मैले उहाँलाई क्याम्पेनलगायत सबै कुराबाट साथ दिएकोे थिएँ । अनि कानुन उल्टाउन सफल भयौं । यो मेरो विचारमा सगरमाथा चढेको भन्दा पनि धेरै महत्वपूर्ण छ । किनभने, यो १ अर्ब ३० करोड (विश्वका अपांगता भएका ) मानिसको अधिकारको कुरा हो ।

तपाईं सगरमाथा आरोहणका लागि प्रस्थान गर्नुअघि मैले भेटेको थिएँ । तपाईं त्यसबेला के भन्दै हुनुहुन्थ्यो भने– संसारका कोही पनि अपाङ्गता भएका मानिसहरु आफूलाई कमजोर ठान्नु पर्दैन । अरु सपाङ्ग सरह उसका जति धेरै सपना, विश्वास हुन्छन् त्यति धेरै नै सक्षम पनि हुन्छन् । त्यति धेरै काबिल पनि हुन्छन् । त्यसकारण कोही हिच्किचाउनु पर्दैन । अझ तपाईंले सगरमाथा चढ्ने बित्तिकै के भन्नु भयो भने– अपाङ्गता भए पनि जो कोही आफ्नो सपना पूरा गर्न सक्छ । जसरी मैले सगरमाथाको शिखर टेकेँ...

किनभने संसारमा कोही पनि पूर्ण छैन । हामी सबैको कुनै न कुनै ठाउँमा कमजोरी छ । मेरा लागि मेरो खुट्टा कमजोरी भयो । कसैको हात कमजोरी होला । कसैको दिमाग कमजोरी होला । कसैको केही कमजोरी होला । तर त्यो कमजोरीलाई हामीले ‘फोकस’ गर्‍यौं भने हामी कमजोर हुन्छौं । हामीले हाम्रो ‘स्ट्रेन्थ’लाई फोकस ग¥यौं भने बलियो हुन्छौं ।

हामीले धेरै असम्भव कुरा सम्भव बनाएका छौं । मैले जीवनमा एउटा नारा बनाएको छु– हामीले जीवनलाई अनुकूल बनाउन सक्यौं भने हामी जे पनि गर्न सक्छौं । यो मैले प्रमाणित गरेको होइन, यो एउटा मानव क्रान्तिले प्रमाणित गरेको कुरा हो ।

हुन त तपाईं सन् २०१९ देखि नै सगरमाथा आरोहणका लागि निकै तयारी गरिरहनुभएको थियो । त्यसैका लागि लाङटाङमा पाँच हजार मिटरको हिमाल कसैलाई थाहै नदिई सुटुक्क चढिसक्नुभएको थियो । आज म तपाईंले साहस गरेको त्यो सगरमाथा आरोहणको अनुभव आम दर्शकसामु प्रस्तुत गर्न चाहान्छु । सगरमाथा चढ्नुअघि तपाईंले कस्ता–कस्ता तयारी गर्नुभयो ?

खासमा २०१८ मा सगरमाथा चढ्ने योजना बनाएको हुँ । २०१७ को डिसेम्बरमा प्रतिबन्ध भयो । मैले नेपालको कानुन र संयुक्त राष्ट्र संघको अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी अभिसन्धिबारे सिक्ने मौका पाएँ ।

त्यो कानुन फरक क्षमता भएका लागि संरक्षण गर्ने भए पनि त्यो आजको दिनमा सान्दर्भिक थिएन ?

हजुर । मलाई लाग्छ– जो हाम्रो कानुन निर्माता हुनुहुन्छ, नेपालमा मात्र होइन, पूरा विश्वमा नै । म यो कीर्तिमानी राख्नभन्दा पनि अपाङ्गता भएकालाई सचेत गराउन लागि म चढेको हो । हामी हाम्रो समाजको अपाङ्गता भएकालाई हेर्ने एउटा आँखा छ, कानुन निर्माताको सायद उनीहरुसँग दुईवटा पीएचडी छ । त्यो भए पनि के छ भने– ‘एजुकेसन इन नट जस्ट एमेडेमिक’ । हामी कुन संस्कारमा हुर्कियौं, हामी कुन वातावरणमा हुर्कियौं, हामीले कुन शिक्षा लियौं, त्यसले हामीलाई धेरै असर पार्दछ ।

त्यसैले, अपाङ्गता भएका व्यक्तिलाई हेर्ने आँखामा प्रतिबन्ध लगाइएको थियो । मलाई सोचाइ अलिकति परिवर्तन गर्न सके जस्तो लाग्छ । हामीले अपाङ्गता भएका व्यक्तिलाई हेर्न धारणाहरु परिवर्तन गर्नुपर्छ । उनीहरुले जे पनि गर्न सक्छन् ।

सगरमाथा आरोहणको ऐनमा प्रतिबन्ध थियो । तर तपाईंले यो भन्दा अगाडि ‘मोन्ट ब्लोङ्क’ त्यसपछि चुलु सुदूरपूर्व चढ्नुभयो । त्यसपछि पनि विभिन्न हिमाल चड्नु्भयो...

मेरो त्यो चढ्ने योजना थिएन । मेरो योयना के थियो भने– म मेरापिक चढ्छु । त्यसपछि अर्को सात हजार अथवा आठ हजारको अर्को हिमाल चढ्छु र सगरमाथा चढ्छु भन्ने योजना थियो । तर प्रतिबन्ध र सन २०१९ मा हामीले पैसा उठाउन सकेनौं, २०२१–२०२२ मा कोरोना आयो । त्यसले गर्दा मैल धेरै हिमाल चढ्ने मौका पाएको हो । यति धरै हिमाल चढ्छु भनेर मैले सोचेको थिइन ।

ती हिमालहरु चढ्नका लागि कानुन बाधक थिएन ?

छैन । यो कानुन नेपालमा मात्र हो ।

सगरमाथा चढ्नका लागि मात्र हो ?

होइन । साढे ६ हजार उचाई भन्दा माथिको हिमाल चढ्नका लागि मात्र ।

चाखलाग्दो चाहिँ के रहेछ भने पर्वतारोही सम्बन्धी नियामावली २०५७ को ३ को उपनियम २ को गमा दुवै हात वा खुट्टा नभएको वा दुवै आँखा देख्न नसक्ने मानिस सगरमाथा चढ्न नपाउने व्यवस्था तर नेपालको संविधानको धारा १८ को २ मा अपाङ्गता भएकै कारण कानुनको प्रयोगमा विभेद गर्न नपाउने भन्ने त रहेछ नि त । त्यसलाई टेकेर अदालतले तपाईंलाई बाटो खोलिदियो ...

त्यो पनि हो । अर्को कुरा चाहिँ युनाइटेड नेसनको कन्भेन्सनले पनि भेदभाव गर्न पाउँदैन । त्यसका लागि म एनएफटीएनसँग राष्ट्रिय अपाङ्ग महासंघसँग म जिनिभा पनि पुगेको थिएँ, यही कुरा उठाउन । तर समस्या के हुँदो रहेछ भनेको युनाइटेड नेसनको चाहिँ उनीहरुले कुनै पनि देशलाई यो कानुन लागु गर भनेर दबाब दिन पाउँदैन ।

उनीहरुले सिफारिस लेख्छन् । तर, दबाब दिन सक्दैनन् ।

हरिजी, अब हामीलाई सगरमाथातर्फ लैजानु । तपाईं चैत २३ गते काठमाडौंबाट सगरमाथा आरोहणका लागि प्रस्थान गर्नुभएको थियो । सगरमाथाको आधार शिविरसम्मका लागि ट्रेकिङ जान १९ दिनको यात्रा हुन्छ । सगरमाथा चढ्ने दिनसम्मलाई हिसाब गर्ने हो भने ४०–५० दिन लाग्छ । त्यसमा पनि मौसम परिवर्तन हुनसक्छ । यस्ता कुराले यात्रा लामो हुनसक्छ । २३ गते काठमाडौं छोडेपछिको यात्रा सुरु गरौं, कति जनाको टिम थियो कसरी निस्कनुभयो ?

हाम्रो टिम यतिजनाको भनेर ठ्याक्कै थाहा भएन । किनभने हाम्रो अप्रेसन दुई फेजमा थियो । एउटा चाहिँ मेरापिक भएर गएर ‘क्लामटाइज’ हुने । ता कि हामी खुम्बु आइमा धेरै पटक जान नपरोस् र हामीलाई जोखिम कम होस् भनेर ।

अर्को चाहिँ आफैं सगरमाथा चढ्नु थियो । हाम्रो मुख्य लक्ष्य भनेको मेरापिक जाने यो झन्डै साढे ६ हजार मिटर छ । कम्तिमा ६ हजार मिटरसम्ममा दुई–चार रात सुतेर आउने भन्ने थियो । त्यसपछि हाम्रो ‘क्लामटाइज’ हुन्छ त्यसपछि सिधै बेस क्याम्प उडान गर्ने भन्ने थियो । अनि हामी मेरापिक गएपछि सबै कुरा जमिनमा गिरेजस्तै भयो । हामी लुक्लामा गएर दुई रात बस्यौं । त्यहाँबाट हेलीका थाङनाक भन्ने ठाउँमा गयौं, ४ हजार २ सय मिटर । त्यसबाट चाहिँ हिँड्न सुरु भयो ।

थाङनाकबाट खहरेमा हिड्यौं । त्यहाँ दुई रात बस्यौं । त्यसपछि बेसक्याम्प गयौं । त्यसपछि हाई क्याम्प गयौं । अनि अपर हाई क्याम्प गयौं । हामीले ६ हजार ४ सय मिटरमा क्याम्प लगायौं । त्यही सुत्यौं । मौसम राम्रो भयो अनि मैले दोस्रो पकट मेरापिक भेटें ।

पहिलो पटक म घुँडाभन्दा माथिबाट खुट्टा नभएको पहिलो मान्छे थिएँ भने अहिले दोस्रो पटक चढें । डबल । मेरापिक कसैले चढेको छैन ।

अर्को कीर्तिमान राख्नुभयो ?

हजुर । एउटै पिकमा दुईवटा कीर्तिमान भयो ।

त्यसपछि....

त्यसपछि हामी तल झर्यौं । बेसक्याम्प उड्यौं । बेसक्याप उड्दाखेरि १७ अप्रिल २०१० मा म घाइते भएको थिएँ । त्यही दिन चाहिँ म बेसक्याम्प पुगेको हो ।

सगरमाथा आरोहणका लागि ६ वटा क्याम्प छन् । आरोहीले पाँचवटा प्रयोग गर्छन् । त्यसमध्ये चारवटा क्याम्प निकै जोखिमपूर्ण हुन्छ भनिन्छ । तपाईं जब पहिलो दिन पहिलो क्याम्पतिर लाग्नुभयो, मनमा के खेल्यो ?

बेसक्याम्प पुगेपछि बाटो खुलेन । मौसम बिग्रियो । त्यसपछि हामी १८ दिनसम्म बेसक्याम्पमा बस्नुपर्यो । हाम्रो क्याम्प खुम्बु आइसफलको ठ्याक्कै अगाडि थियो । टेन्टको पर्दा खोलेपछि हाम्रो आँखा ठ्याक्कै खुम्बु आइसफलतर्फ जान्थ्यो । १८ दिनसम्म त्यो देख्दा आफूलाई मोटिभेट गर्न सहज बन्थ्यो । मैले कसरत गर्ने, दैनिक अनुशासनमा बस्ने कार्यतालिका भए पनि त्यो निकै कठिन हुन्थ्यो । तर, पनि कसरी जाने होला भनेर जहिल्यै योजना बनाउँथें । त्यहाँबाट हेर्दा सानो–सानो मकैको फूलजस्तै देखिन्छ हिँउ (खुम्बु आइसफल) ।

बाहिरबाट हेर्दा त्यहाँ मान्छे हिँडेको पनि कमिलाहरु हिँडेको जस्तो देखिन्छ । त्यो हेर्दा कसरी जाने होला भन्ने लाग्थ्यो । अझ बेसक्याम्पबाट पहिलो क्याम्प जान धेरै चुनौती हुन्छ । ल्याडर, क्रबसेस क्रस गर्नुपर्ने हुन्छ । जतिबेला पनि ज्यानजान सक्ने अवस्था हुन सक्छ ।

यो सिजनको सुरुवातमै सगरमाथा आरोहीहरूका लागि शेर्पाहरूले गएर बाटो बनाउने काम गर्छन् । त्यो बाटोमा आइसफल डाक्टरहरुले डोरी टाँग्छन् । र त्यही डोरी समाएर, त्यही डोरीको सहारामा सर्वोच्चको चुचुरोमा पुग्नुपर्ने हो । त्यही रोपवे निर्माणका क्रममा तीनजना हाम्रा शेर्पा दाजुभाइले ज्यान गुमाए । जुनबेला तपाईं जाँदै हुनुहुन्थ्यो, सुरुमै । सुरुकै त्यो घटनाले मनमा चिसो पसेन ?

पस्यो । तर त्यस्तो परिस्थितिमा म धेरैपटक परिसकेको थिएँ । बेलायतको सेनामा त्यस्तो अवस्थामा धेरै मान्छेहरू मरिसकेको, जसलाई दैनिक कामका रुपमा बुझेको छु । यसमा म पूर्ण तयार थिएँ । म मर्न सक्छु । म नआउन सक्छु । मेरो परिवारलाई अब भेट नहुन सक्छ भन्ने म थिएँ ।

सगरमाथा चढ्नका लागि मानसिक र शारीरिक रूपमा तयारी गराउनका लागि कति गाह्रो हुन्छ ?

मान्छेमा आत्मविश्वास छ भने डर भाग्छ र तपाई आफ्नो काममा केन्द्रित हुनुहुन्छ । हामी क्याम्प थ्रीबाट क्याम्प फोरमा जाँदा दुईवटा लास देख्यौं । आरोहणका क्रममा लासलाई बाटो दिँदा आरोहीहरूको लाम लागेको हो । हामी माथि गयौं । माथिबाट तल झर्दा पनि जाँदा मरिरहेका दुईजना थिए । त्यसैले तपाईं मानसिक रूपमा तयार हुनुहुन्छ भने हरेकको सम्भव हुन्छ । तपाईं मानसिक रूपमा तयार हुनुहन्न भने ज्यान लल्याकलुलुक भइहाल्छ । मैले आफ्नो काममा ‘गिभअप’ गरिनँ । विशेष गरी चुचुरोमा पुग्ने दिन एकदमै गाह्रो भयो । २५ घण्टा १० मिनेट लागेको थियो । अक्सिजन सकिएको थियो । हिउँ र हावा चलेको थियो । मैले आरोहण सफलतापूर्वक पूरा गरेर आएँ भन्दा पनि बाँचेर आएँ ।

किनभने म बेसक्याम्पमा हुँदा एउटा वाचा गरेको थिएँ कि मेरो सानो छोरा १० वर्षको छ । ऊ एकदम डराउँछ म हिमाल आउँदा । किन डराएको जस्तो लाग्छ भने– जति पनि पहिलेको किताब, मुभी हेरेको छ । जसले यो हिमाल एकदमै खतरा छ भन्ने भएको छ । यसले युवाहरूलाई र डर पैदा गराइदिएको छ । फ्रम टेकिङ दी च्यालेन्ज । मैले त कहिल्यै पनि उसलाई हिमाल खतरा छ भनिनँ । भन्ने कुरा पनि भएन । तर उसको स्कुल, साथीभाइ अरूहरूबाट उसले सुनेको हुनुपर्छ । अनि मलाई एउटा सानो लेखेर दिएको थियो– ड्याड प्लिज डन्ट फल, डन्ट ट्रिप । बेसक्याम्पमा हुँदा मैले उसलाई के भनेको थिएँ कि– म छोराका लागि मात्र भए पनि फर्किनुपर्छ ।

रोल्पाको एउटा गाउँमा तपाईं खाली खुट्टा हिँड्नहुन्थ्यो । आमाको च्यातिएको लुंगीले लाज ढाकेर स्कुल जान्थेँ, यसअघिको अन्तर्वार्तामा भन्नुहुन्थ्यो । तपाईं एउटा ‘सार्प स्नाइपर’ हुनुहुन्थ्यो । बेलायती सेनाको एउटा अब्बल योद्धा हुनुहुन्थ्यो । अफगानिस्तानमा तपाईं अकल्पनीय बममा टेक्न पुग्नुभयो त्यसपछि केही सेकेण्डमा तपाईंका खुट्टा गुमे । त्यसपछि तपाईंले अस्पतालमा उपचारका क्रममा लागेको समय र त्यो बीचमा तपाईंको मनमा गुज्रेको पीडालाई पुनः प्राप्त गर्न झेल्नुभएको तनाव सम्भवतः कसैले सोच्न सक्दैन होला । आज संसारलाई चकित पार्दै सगरमाथा चढेर आउनुभयो । तपाईंले सगरमाथा चाहिँ बिम्बको रुपमा प्रयोग गर्नुभयो । तर आँट गर्न, साहस बनाउन र लक्ष्य राख्नका लागि चाहिँ हामी भयहरु सिर्जना गर्छौं । चुनौतीपूर्ण कुरा असम्भव छ भन्छौं र हार स्वीकार गर्छौं । सगरमाथा पनि त्यस्तै हाउगुजी बनाइएको छ । त्यहाँ जाने बित्तिकै ज्यान जान्छ । सकिँदैन, असम्भव छ भन्छन् । मलाई त्यो पुष्टि गर्नु थियो भन्दै हुनुहुन्छ ?

मलाई लाग्छ– त्यो पुष्टि गर्नुभन्दा पनि हामीले डर नदेखाउनुहुँदैन । हामीले अहिलेसम्म चुनौतीले सिकेका हौं । चुनौतीबाट हामीले धेरै सिकेका छौं । हामीले युवापुस्तालाई चुनौती लिनका लागि प्रोत्साहन गर्नुपर्छ ।

हामीले युवा पुस्तालाई हिमाल खतरा छ भनेर सिकाउनुपर्छ । तर के के चिज हुनसक्छ ? त्यसको बारेमा ज्ञान दिनुपर्छ । हामी डरायौं भने त केही पनि गर्न सक्दैनौं । घरकै भ¥याङ पनि झर्न सक्दैनौं । यति म डराएको भए सगरमाथा चढ्न सफल हुने थिएनँ ।

यस्तो सपना देख्नेलाई त मजाक बनाइन्छ नि समाजमा । असफल भइयो भने जीवनभर ‘मैले भनेको थिएँ नि’ भनिन्छ । सफलताका लागि समर्थन गर्ने होइन । यो पटक तपाईंलाई साथ भएको हो नि ? हरिजी दुईवटा खुट्टा छैन । यो सम्भव नै छैन कानुनले पनि भनेको कुरा भनेर कसैले भनेको भए एउटा सपना तुहाउने काम हुने रहेछ ?

हो । मैले यसमा कति संघर्ष गरें, मलाई मात्र थाहा छ । कतिवटा कम्पनीहरुले, प्रायोजक खोज्दा कसैले पनि मलाई विश्वास गरेन । मेरो परिवार र साथीहरुले पनि विश्वास गरेनन् । एकजना दाइ नेता हुनुहुन्थ्यो । यो अपाङ्गको कुरा आयो, दाइ मुद्दामा सहयोग गर्नु न भन्दा सायल तिमी फिर्कन्नौ होला भन्नु भयो । उहाँले यो गयो भने मर्छ, त्यो भन्दा यो नै ठीक भयो । नचढेकै राम्रो भन्ने कुरा गर्नुभयो ।

धेरै कम्पनीले मलाई रिजेक्ट गरे । मुख्यतः ठूला कम्पनीहरुले । यदि केही भइहाल्यो भने त उनीहरुको इमेज बिग्रन्छ । उनीहरुले मलाई मर्न लगाएको जस्तो हुन्छ । तर पछि दुई–चारवटा हिमाल चढेपछि कोही कोही चाहिँ आएर मलाई सहयोग गरे ।

प्रत्येक पाइलामा संघर्ष गर्दा मलाई मेरा छोराको याद आयो । अर्को कुरा तपाईंले मेरो पछाडि हेर्नुभयो भने जो जोले मलाई सहयोग गरेको छ, उहाँहरुको नाम मेरो पछाडि लेखेको छ । मैले झण्डा लगेको थिएँ । ९५ प्रतिशत मान्छे मैले चिन्दिनँ, मलाई सहयोग गर्नलाई त्यो झण्डा र मेरो पछाडि पट्टी लेखिएको छ । म उनीहरुलाई ‘लेट डाउन’ गर्न चाहन्नँ ।

सगरमाथा चढ्ने त्यो तपाईको सपना हो, तर तपाईले घरमा छाडेर आएको श्रीमती, छोरा, बुवाआमाहरुले कठोर दिन बिताउनुपर्यो होला । तपाई सफल भएर फर्केको दिन सुन्न पनि सबभन्दा कठीन घडी हुँदोरहेछ हैन ? तपाई सगरमाथाको पिकमा पुगे पछि सफल भयौं भनेर चिच्याउनुभयो ?

० अब त पुगिन्छ है, एक सय मिटरजति छ भनेपछि मेरो आँखामा आँशु आयो । अलि भावुक भएँ । एकदम स्पिडमा हिउँ र हावा चलेको थियो । एकदम चिसो थियो । मेरो आँशु पनि आइस भयो । माथि गइसकेपछि केही देखिएको छैन, म रोएँ । सबैको फोन निकालेको सबै अफ । दुईवटा गोप्रो (क्यामेरा) लगेको थियो, एउटाले काम गरेन । हाम्रो डकुमेन्ट्रीको क्यामेरामेन वीचैमा फर्किनुभयो । पहिले मैले स्टाटेलाइट फोन निकालें र मिसेसलाई फोन गरें । फोन उठेन । त्यसपछि मेरो म्यानेजरलाई फोन गरें । हामीसँग अक्सिजन कम थियो । बेसक्याममा मेनेजर दाइलाई फोन गरें । हामीसँग रेडियो थिएन । क्याम्पपोस्टमा म्यासेज पुर्याइदिन र अक्सिजन पठाइदिन भनें । हामीले त्यहाँ पाँच÷दश मिनेट बितायौं । हावा एकदमै तेजले चलेको थियो । ग्लोब्स निकाल्दा मेरो हातमा हिउँ जम्यो । ग्लोब्समा हिउँ भरियो । अनि अर्को ग्लोब्स भरियो । हामी हिलारी स्टेपमाथितिर पुगेका थियौं । एकजना मान्छे मास्कबिना आयो । पछि थिएन । पछि सुनेको, हाम्फाल्यो रे ।

तपाईंलाई कुन ठाउँमा चाहिँ गाह्रो भयो ?

हिलारी स्टेपको मुन्तिर गाह्रो भयो । ठूलो ढुंगा भएको ठाउँमा खुट्टा माथि राख्न गाह्रो भयो । लामो स्टेपमा पनि गाह्रो भयो । अहिले पनि गाह्रो भयो । म क्याम्प फोरको भित्तासम्म म घस्रेर आएको । क्याम्प फोरदेखि क्याम्प २ आउँदाखेरि पछाडिबाट सरेर आएको । मेरो घुँडा नभएका कारणले ब्लु आइसमा ड्वाङ कि ड्वाङ लागेर एकदमै दुख्यो । क्याम्प टुको तल आइसकेपछि एकदमै साह्रो भयो । एकदमै दुख्यो । अहिले पनि सुन्निराखेको छ ।

हिमाल चढिराख्दा म उक्लेको उक्लै हुन्छु, तल झर्न नपाई बिलाउँछु कि भन्ने भय पनि हुन्छ ? अचम्मखालका अनुभूतिहरु केके आउँछन् ?

मलाई त्यस्तो भएन । चढेरमात्र पनि भएन नि त । भय भनेको जतिसक्यो छिटो तल जाने भन्ने हुँदोरहेछ । अक्सिजन भएन भने कस्तो हुन्छ भन्ने मलाई अनुभव भयो । हिलारी क्याम्पको मुन्तिर साथीहरुले अक्सिजन चेञ्ज गरिदिए । एउटा सानो १० मिटरजतिको डाँडो चढ्दा म एकदमै थाकें । हात एकदमै गल्यो । सास बढ्यो । साह्रो भयो, फर्कौं भनें । मेरो भाइले अक्सिजन चेक गर्दा अक्सिजन सकिएको रहेछ । अर्को अक्सिजन हालेपछि फेरि बल आयो ।

हामीले हिमाल चढ्दा एकदमै डर देखाएका छौं । गाह्रो छ । तर, जिन्दगीमा नसक्ने भन्ने हुँदैन ।  

यसअघिका टफटक

टफटकमा मन्त्री बस्नेतलाई प्रश्न : लडाकु शिविरको भ्रष्टाचार छानबिन हुन्छ ?
टफटकमा मीनेन्द्र रिजाल : राज्यसत्ताको दुरुपयोग गरेर कसैलाई जोगाउन पाइन्न
टफटकमा लोक चित्रकार : जसले एउटै चित्र २५ वर्षसम्म बनाइरहेका छन् !
टफटकमा अर्थमन्त्री : समयमै मन्त्रीहरु नआउँदा बजेटको गृहकार्य प्रभावित भयो
भारत जान लागेका प्रधानमन्त्री दाहाललाई पी लामाको सुझाव- जलवायु परिवर्तनको असरविरुद्धको लडाइँको नेतृत्व लिनू
टफटकमा क्रिकेट क्षेत्रका तीन हस्ती : आगामी चार वर्षको यात्रा कस्तो होला ?
टफटकमा तीन उद्योगपतिलाई प्रश्न- तपाईंलाई किन जिताउने ?
टफटकमा अर्थतन्त्रको बहस : ‘गणतन्त्र आएपछि १५ वर्षमा १७ वटा सरकार फेरिए’
टफटकमा उपेन्द्र यादव : खास गठबन्धन चार दलको हो, संसदले अब नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउँछ
नयाँ मन्त्रीको नौलो अनुभव : सिंहदरबार ‘सिम्पल’ रहेछ (टफटक)
प्रधानमन्त्री दाहाललाई सुशीला कार्कीको प्रश्न : प्रधानन्यायाधीशलाई हल्लाएर राख्ने ? (अन्तर्वार्ता)
टफटकमा भिक्षु अवधेश : हरेक मानिस बुद्ध बन्ने बाटोमा छ (अन्तर्वार्ता)
टफटकमा सभामुख : कतिपय सांसदबारे प्रश्न खडा भएका छन्, गृहमन्त्रीकै बारेमा देखियो


Enter Kantipur TV HD
Advertisement