टफटकमा क्रिकेट क्षेत्रका तीन हस्ती : आगामी चार वर्षको यात्रा कस्तो होला ?

चैत्र २९, २०७९
टफटकमा क्रिकेट क्षेत्रका तीन हस्ती : आगामी चार वर्षको यात्रा कस्तो होला ?

काठमाडौं । के सबैलाई एकै पटक, एकै समयमा खुशी बनाउन सम्भव छ ? प्रश्न तपाईलाई अलि दार्शनिक लाग्यो होला । अनि मनमा केही प्रश्नहरु पनि आइरहेका होलान् । यो सम्भव छ र यो क्षमता खेलकुदले राख्छ ।

जब अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालले जीत हात पार्छ, राजनीतिज्ञदेखि नागरिकसम्मको छाती गर्वले फुल्छ । संसार जितेजस्तो महसुस हुन्छ । सारा निराशालाई जीतको ओजले थिचिदिन्छ । पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमले प्राप्त गरेको उपलब्धि यसैको उदाहरण हो ।

विश्व क्रिकेट लिग टु मा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहँदा टियु मैदानले दर्शकको भार थेग्न सकेन । प्रधानमन्त्री पुष्मकमल दाहालदेखि उच्च पदस्थ व्यक्तिहरु मैदानमा नै पुगे । बधाइ र शुभकामनाले सामाजिक सञ्जालहरु भरिए । नेपालले लिग टु का पछिल्ला १२ खेलमध्ये एघारमा जीत हात पार्यो ।

अविश्वसनीय प्रदर्शन गरेको नेपालले अन्तिम खेलमा युएइलाई पराजित गरेपछि सिधै विश्वकपको ग्लोबल छनोटमा स्थान बनायो । आगामी चार वर्षका लागि ओडीआईले पनि निरन्तरता पाएको छ ।

अहिलेको वातावरणले भन्छ– नेपालको क्रिकेटले अब पछाडि फर्किएर हेर्नुपर्दैन । तर, यसमा विश्वास गर्न सक्ने आधार छन् त ? सन् २०१४ मा टि ट्वान्टी विश्वकपमा नेपालले डेब्यु गरेपछि पनि यस्तै लागेको थियो, अब क्रिकेटको कायापलट हुन्छ ।

नौ वर्षपछि हामी कहाँ छौं सबै सामु छर्लङग छ । हरेक खेलाडीको मनमा जबसम्म ‘ह्वाट नेक्स्ट’ भन्ने प्रश्न हट्दैन, तबसम्म खेलकुदको विकास हुन सक्दैन र खेलाडी विदेश पलायन हुने क्रम पनि रोकिने छैन ।

नेतृत्वमा बसेकाहरुले राति देखेको सपना भन्दा छिटो खेलाडीको सफलतालाई बिर्सिदिन्छन् । के यसरी नै चल्छ खेलकुद ? आजको टफटकमा हामी क्रिकेटको सफलतालाई सेलिब्रेट गर्नेछांै । साथमा अबको योजना के हुनुपर्दछ ? प्रशिक्षकबाट बुझ्नेछांै । खेलाडी के चाहन्छन् ? जिम्मेवार निकाय, नेपाल क्रिकेट संघ क्यानको अबको भुमिका कस्तो हुनु पर्दछ ? जवाफ खोज्ने छांै ।

हामीसँग हुनुहुन्छ, राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई, राष्ट्रिय क्रिकेट टिमका सदस्य आरिफ शेख र नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक । कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक दिलभुषण पाठकले क्रिकेट क्षेत्रका तीन हस्तीसँग गरेको कुराकानीको भिडियो लिंक– youtube.com/watch?v=jLKfHHdCxiA