अब हाम्रो ३ वटा नेपाल भइसक्यो– डा. अंगराज तिमिल्सिना

भाद्र २, २०८२ |रुपेश श्रेष्ठ
अब हाम्रो ३ वटा नेपाल भइसक्यो– डा. अंगराज तिमिल्सिना

‘अब हाम्रो ३ वटा नेपाल भइसक्यो ।’ 

सोमबार राति प्रसारण हुने फायरसाइडका लागि अन्तर्वार्तामा सुशासन तथा दिगो विकासका अन्तर्राष्ट्रिय विज्ञ डा. अंगराज तिमिल्सिनाले आफूले देखेका नेपालबारे बताउनुभयो ।

झण्डै २ दशकदेखि विश्वका विभिन्न अन्तर्राष्ट्रिय निकायमा रहेर ४० भन्दा बढी देशका राष्ट्रप्रमुखलाई सुशासन, नीति निर्माण तथा दिगो विकासका बारेमा सल्लाहकारका रुपमा काम गरिसक्नुभएका डा. तिमिल्सिना भन्नुहुन्छ, ‘नेपालबाहिर एउटा नेपाल छ। नेपाल भित्रचाहिँ दुइवटा नेपाल छ ।’

आफूले देखेका ३ थरि नेपालबारे उहाँ भन्नुहुन्छ,‘देशका दुर्गम भेगबाट बसाइँसराइ गरेर आएका नेपालीहरुले काठमाडौंको सय९दुइसय किलोमिटर वरिपरि एउटा नेपाल बनाएका छन्।’ अर्कोथरि नेपाल भने त्यसभन्दा बाहिर छ जहाँ विकास र अवसर न्युन मात्रामा पुगेको छ । ‘ठूलो मात्रामा परिवर्तन त भएको छैन तर बाटोबाटो पुगेका छन्, हातहातमा मोबाइल पुगेको छ। त्यो नेपालबाट पनि हरेक घरको एकजना नेपालबाहिर रहेको नेपाल पुगेका छन् ।’

‘तपाईँ जन्मिएको बाजुरा र संसारको सबैभन्दा बढी विकसित देशबीचको दुरी कति छ ?’ 

प्रस्तोताको प्रश्नमा डा. तिमिल्सिना भन्नुहुन्छ,‘हाम्रा कतिपय दुर्गम गाउँहरु त १७औं वा अठारौं शताब्दीमा छन् ।’ नेपालका कतिपय भूगोल विश्वका विकसित शहरभन्दा २ सय वर्षभन्दा पछाडि रहेको उहाँको बुझाइ छ ।

बाजुरामा जन्मेर एसएलसीमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं आएर क्याम्पस अध्ययन गर्नुभएका डा. तिमिल्सिनाले छात्रवृत्तिमा जापानमा पोलिसि एनालाइसिसमा पिएचडी गर्नुभयो । 

हाल संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको भ्रष्टाचार बिरोधी परियोजनामा ‘ग्लोबल प्रोग्राम एड्भाइजर’ को रूपमा कार्यरत तिमिल्सिनासँग विश्वका १०५ भन्दा बढी देशका शान्ति, समावेशी तथा दिगो विकासका लागि संचालित परियोजनाहरूका लागि काम गरेको अनुभव छ। 

साना राष्ट्रको स्थिति, राष्ट्रिय आकांक्षा र विश्वव्यापी शक्ति सन्तुलनलाई नजिकबाट मूल्याङ्कन गर्ने तिमिल्सिनासँग फायरसाइडमा नेपालमा सुशासन स्थापना र भ्रष्टाचार न्युनीकरणका उपाय, असफलताहरूका बीचमा नेपालले हासिल गरेका प्रगतिहरू र आगामी दिनमा देखिने सम्भावना, छिमेकी मुलुक र विश्वसँग सम्बन्ध र सन्तुलन तथा विश्वमा विकसित नयाँ राजनीतिक व्यवस्था एवं बहुध्रुवीकरण लगायतका विषयमा कुराकानी गरिएको छ।

डा. अंगराज तिमिल्सिनासँगको पूरा अन्तर्वार्ता कार्यक्रम ‘फायरसाइड’मा आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ भने कान्तिपुर टिभीको युट्युब च्यानल र कान्तिपुर टिभी एममा पनि हेर्न सकिनेछ । 


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।