काठमाडौं । जेन-जी आन्दोलनमा तत्कालीन सरकारले गरेको दमन र आन्दोलनका क्रममा भएको घुसपैठबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय न्यायिक आयोगमा उजुरी पर्ने क्रम जारी छ ।
आयोगले उजुरी आह्वान गर्दै विभिन्न पक्षबाट प्रमाणसमेत संकलन गरिरहेको छ । आयोगले ईमेल, हुलाकलगायतका माध्यमबाट उजुरी पर्ने क्रम जारी रहेको जनाएको हो । तर कति उजुरी परेका छन् भन्ने खुलाइएको छैन । प्राप्त उजुरीहरूको अध्ययन गरिरहेको आयोगले अहिलेसम्म कसैलाई बोलाएर बयानका लागि भने बोलाएको छैन ।
कान्तिपुर टीभीसँग कुरा गर्दै आयोगका प्रवक्ता विज्ञानराज शर्माले कतिपय निकायमा प्रमाण संकलनका लागि पत्राचार भइरहेको बताउनुभयो । विशेषगरी आयोगले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग तथ्यांक र प्रमाणहरु मागेको छ ।
प्रवक्ता शर्माले राजनीतिक दलहरूले पनि तथ्यांकहरू पठाइरहेको जानकारी दिनुभयो । सरकारले तीन महिनाको समयसीमा दिएर छानबिन गर्न असोज ५ गते आयोग गठन गरेको थियो । आयोगले असोज ९ गतेदेखि काम थालेको थियो । काम सुरू भएको एक महिना हुन लाग्दा पनि आयोगले अहिलेसम्म उजुरी नै संकलन गरिसकेको छैन ।
यही गति कायम हुने हो भने तोकिएको समयमा काम सक्न मुस्किल पर्ने देखिन्छ ।