सजिलो छैन दल दर्ता, यस्तो छ प्रक्रिया

दर्ताका लागि कुन–कुन प्रक्रिया पूरा गर्नुपर्छ त ?
कार्तिक १, २०८२ |अञ्जना लामिछाने
सजिलो छैन दल दर्ता, यस्तो छ प्रक्रिया

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने प्रक्रिया जारी छ । 

नयाँ दल खोल्ने भए कात्तिक ३० गतेसम्म निर्वाचन आयोगमा दर्ता गरिसक्नुपर्ने छ । जेन-जी आन्दोलनपछि तीन वटा दलले मात्र दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । के तपाईं पनि निर्वाचनमा भाग लिन नयाँ दल दर्ता गर्दै हुनुहुन्छ ? यदी हो भने के-के कागजात चाहिन्छ त ?

जेन-जीको आन्दोलनपछि घोषणा भएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन दल दर्ताका लागि निर्वाचन आयोगमा दिनदिनै जसो कोही न कोही व्यक्ति पुगिरहेका भेटिन्छन् । तर तोकिएको प्रक्रिया पूरा नगरी जाँदा धेरै निवेदन दर्ता नै नगरी आयोगले फर्काइदिने गरेको छ ।

त्यसो भए दल दर्ताका लागि कुन–कुन प्रक्रिया पूरा गर्नुपर्छ त ?

सबैभन्दा पहिले दलको विधान लेख्नुपर्नेछ । राजनीतिक दल विधानअनुसार मात्रै सञ्चालन हुने भएकाले यो अनिवार्य छ । त्यसगरी दलले आफ्नो सिद्दान्त र विचार प्रष्ट हुने गरी घोषणापत्र पनि बनाउनुपर्छ । दलको खोल्नुको उद्देश्य घोषणापत्रमा समावेश गर्नुपर्छ । दलको झन्डा र निर्वाचन चिन्हसमेत प्रस्ताव गर्नुपर्छ ।

यसबाहेक दलमा आबद्ध हुन चाहने ५ सय नेपाली नागरिकको हस्ताक्षरसहितको प्रतिबद्धतापत्र चाहिन्छ । हस्ताक्षर गर्नेहरू नेपाली नागरिक हुन् भन्ने पुष्टि हुने परिचयपत्रसमेत आयोगमा बुझाउनुपर्ने छ । यति मात्रै होइन, दल दर्ता गर्न जाँदा आफू कुनै पनि दलको सदस्य नरहेको र स्वतन्त्र रहेको घोषणा गर्नुपर्छ । 

त्यसैगरी कम्तिमा २१ जना सदस्य भएको केन्द्रीय समितिको टिम बनाउनुपर्छ । यी सबै प्रक्रिया पूरा गरेपछि मात्र आयोगमा दल दर्ताका लागि निवेदन योग्य हुन्छ । यी त नयाँ दल दर्ताका लागि चाहिने कागजात हुन् । यसअघि नै आयोगमा दर्ता भएका दलहरूले भने निर्वाचन प्रयोजनका लागि यी सबै प्रक्रिया पूरा गर्नुपर्दैन । 

उनीहरूले समयमै महाधिवेशन गरेको र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण गरेको कागजात बुझाएर निर्वाचन प्रयोजनका लागि दर्ताको निवेदन दिए पुग्छ । यसका लागि भने आयोगले मंसिर १ गतेदेखि १० गतेसम्मको समय दिएको छ । अहिलेसम्म निर्वाचन आयोगमा १ सय २४ वटा दल दर्ता छन् ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।