काठमाडौं । यस वर्ष पनि तीन चलचित्रले प्रदर्शनका लागि तिहारको मौका छोपेका छन् ।
अनमोल केसीको मुख्य भूमिका रहेको जेरी अन टप शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ भने सोल्टिनी र वरिष्ठ बलराम भाइटीकाको दिनदेखि हलमा लाग्दैछन् । विल्सनविक्रम राईको मैझारो पनि कात्तिक ७ देखि प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनका लागि चाडबाडको मौका छोप्ने गरिए पनि अपवादबाहेक उल्लेख्य रूपमा व्यापार गर्न सकेको पाइँदैन ।
अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। टिजर र ट्रेलरबाटै राम्रो हाईप बनाएको यस चलचित्रले दर्शक र समीक्षकबाट प्रशंसा पाइरहेको छ । चलचित्रले हालसम्म उत्साहजनक व्यापार गरिरहेको छ । हलहरूमा बिहानैदेखिका शोमा समेत दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। चलचित्रको कथावस्तु, विशेषगरी भीएफएक्सको दर्शकहरूले खुलेर प्रशंसा गरेका छन्।
पर्वतीय यात्राका क्रममा विकसित प्रेम सम्बन्धमा आधारित यस चलचित्रमा अनमोल केसीसँग आचल शर्मा र जसिता गुरुङबीचको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ, जुन दर्शकले मन पराइरहेका छन्। फिल्ममा भुवन केसी, केदार घिमिरे माग्ने बुढा, उषा खड्गी लगायत कलाकारको समेत शीर्ष अभिनय रहेको छ। विभिन्न हलहरूमा दर्शकको सकारात्मक प्रतिक्रियाबाट कलाकारहरू पनि उत्साही छन्।
भाइटीकाको दिन प्रदर्शनमा आउन लागेको अर्को चलचित्र हो ‘सोल्टिनी’ । सामाजिक विभेद र समुदायबीचको असमानताका कारण उत्पन्न अन्तरजातीय प्रेमको संघर्षपूर्ण कथावस्तुमा आधारित यो चलचित्रले ट्रेलरबाटै दर्शकको ध्यान तानेको छ । चलचित्रमा प्रकाश सपुत, परीक्षा लिम्बु, विल्सनविक्रम राई, रवीन्द्र झा लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र ‘वरिष्ठ बलराम’ पनि भाइटीकाको दिनदेखि नै प्रदर्शनमा आउन लागेको छ । चलचित्रमा समावेश न्याउली बनैमा बोलको गीतले सामाजिक सञ्जाल र टिकटकमा लोकप्रियता पाएको छ भने ट्रेलरले पनि दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ।
निर्माण पक्षका अनुसार समाजमा स्थापित व्यक्ति र उदाउँदै गरेका व्यक्तिबीचको टकराव चलचित्रको मुख्य कथावस्तु हो । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरूङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
हास्यकलाकार विल्सन विक्रम राई तक्मेबुढाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मैझारो’ कार्तिक ७ गते प्रदर्शनमा आउने तयारीमा छ भने निर शाह, महेश त्रिपाठी, केकी अधिकारी र अन्जना बराइलीको मुख्य भूमिका रहेको चलचित्र परान पनि कात्तिक १४ देखि प्रदर्शनमा आउँदैछ ।
दशैँको छेकोमा प्रदर्शनमा आएका चलचित्र बलिदान, माइतिघर र हरिबहादुरको जुत्ताले अपेक्षा अनुसारको व्यापार गर्न सकेनन् । अब भने तिहारलक्षित ‘जेरी अन टप’ ‘सोल्टिनी ‘वरिष्ठ बलराम’ र ‘मैझारो’ को व्यापार कस्तो हुन्छ, प्रतीक्षाको विषय बनेको छ ।