काठमाडौं । सन् २०२३ को अक्टोबर ७ देखि सुरू भएको इजरायल–गाजा युद्ध सन् २०२४ भर जारी रह्यो । युद्धले गाजालाई तहसनहस बनाइसकेको छ ।
युद्ध अन्त्य हुने कुनै सम्भावना देखिएको छैन भने गाजालाई भयावह अवस्थामा पुर्याउने यो युद्धले इजरायललाई पनि कतै न कतै मानसिक र आर्थिक तवरबाट बिथोलेको छ । यो युद्ध कहिलेसम्म र कहाँसम्म जान्छ यकिन छैन । गाजासँगै यसले पश्चिम एसियालाई समेत तनावग्रस्त अवस्थामा पुर्याएको छ ।
इजरायल–गाजा युद्धले अहिलेसम्म ४५ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ । लाखौं घाइते भएका छन् । यस्तै युद्धका कारण लाखौं नागरिक विस्थापित भएका छन् । गाजामा रहेको प्यालेस्टिनी लडाकु समूह हमासले अप्रत्याशित रूपमा इजरायल लक्षित आक्रमण गरेपछि सुरू भएको युद्धले गाजालाई भने झन्डै सय वर्ष पछाडि धकेलिसकेको छ । गाजाकै अवस्था भयावह बन्दा त्यहाँ बसोबास गर्दै आएका नागरिकको जीवन दयनीय हुँदै गएको छ ।
हमास प्रमुख इस्माइल हानिया, अक्टोबर ७ का मास्टर माइन्ड मानिने याह्या सिनवर लगायतको हत्या गरेपछि हमास कमजोर बने पनि इजरायलको आक्रमण आजसम्म जारी छ । नागरिक सुरक्षित स्थान खोज्दै शरणार्थी शिविरमा बसोबास गर्दै आएका छन् । शरणार्थी शिविर, अस्पताल र विद्यालयमा शरण लिएर बसेकाहरूमाथि पनि इजरायलले आक्रमण गरिरहेको छ । यसले त्यहाँको अवस्थालाई झन् कठिन बनाएको छ ।
सुरूआती चरणमा संयुक्त राष्ट्रसंघका विभिन्न निकायले आवश्यक मानवीय सहायता दिँदै आए पनि इजरायलले सीमामा कडाइ गरेपछि पछिल्ला दिनमा राष्ट्रसंघले समेत सहायता पुर्याउन सकेको छैन । विगतदेखि नै इजरायलद्वारा चारैतिरबाट घेरिएको गाजालाई विश्वकै ‘ओपन एअर प्रिजन’ (खुला कारागार) भनेर चिनिन्छ ।
यो युद्धले पश्चिम एसिया सहित विश्वलाई चिन्ता थपिदिएको छ । अमेरिका लगायत मध्यपूर्वका प्रभावशाली राष्ट्रहरूले युद्धविरामका लागि निरन्तर पहल गरे पनि इजरायल र हमासको आ–आफ्नै अडानका कारण निष्कर्षमा पुग्न सकिएको छैन ।
युद्धविराममा दुवै पक्ष संवेदनशील नभएपछि मुख्यमध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतार पनि युद्धविरामको विषयबाट पछि हटेको थियो । तर, अमेरिकामा भएको राष्ट्रपति चुनावमा डनल्ड ट्रम्पले ऐतिहासिक जित निकालेपछि कतारले पुनः युद्धविरामका लागि पहल सुरू गरिसकेको छ । ट्रम्पले युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएकाले नयाँ आशा जगाएको भन्दै कतार पुनः युद्धविरामको पहलमा अघि बढेको हो । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने तत्काल युद्धविराम नहुने भन्दै अडान राख्नुभएको छ ।
गाजामा युद्धविराम भए हमास पुनः स्थापित हुने र इजरायलमाथि पुनः आक्रमण गर्न सक्ने भय इजलायलका प्रधानमन्त्रीमा देखिएको छ । सन् २०२५ को सुरूआती दिनमै अमेरिकाको नयाँ नेतृत्व र कतार तथा इजिप्टको पहलमा एक वर्षभन्दा लामो समयदेखि चल्दै आएको युद्धमा पूर्णविराम लाग्ने आशा भने जिवित नै छ ।
यो पनि हेर्नुहोस :
वर्ष २०२४ : आक्रामक विद्युतीय कारबाहीका अगाडि टिक्न नसकेको असदको शासन
गाजाका महिला र बालबालिका लागि कहालीलाग्दो त्यो १४ महिना
फर्केर हेर्दा सन् २०२४ : शेख हसिनालाई देश छोड्न बाध्य बनाउने विद्यार्थी आन्दोलन
इजरायल–हमास युद्धमा सबैभन्दा बढी महिला र बालबालिका मारिए
सन् २०२४ मा ककसले जिते नोबेल पुरस्कार ?
वर्ष २०२४ लाई फर्केर हेर्दा : अन्तरीक्ष अभियानमा के-के भयो ?
वर्ष २०२४ : निर्वाचनमय बनेको विश्व
सन् २०२४ : हवाई क्षेत्रका लागि दुखद् वर्ष
वर्ष २०२४ : टेनिसका लागि कस्तो रह्यो ?
सन् २०२४ मा विश्व फुटबलमा के के भयो ?
वर्ष २०२४ : विश्व क्रिकेटका लागि कस्तो रह्यो ?
वर्ष २०२४ : प्राकृतिक विपत्तिले कहाँ, कस्तो क्षति पुर्यायो ?