गाजा युद्ध विराममा सहयोग गर्न अमेरिकी सैनिकहरु इजरायल पुग्ने क्रम सुरु

गाजाको भविष्यबारे ट्रम्पले सोमबार मध्यपूर्वका नेताहरुसँग छलफल गर्ने
आश्विन २५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजा युद्ध विराममा सहयोग गर्न अमेरिकी सैनिकहरु इजरायल पुग्ने क्रम सुरु

काठमाडौं । गाजा युद्ध विराममा सहयोग गर्न अमेरिकी सैनिकहरु इजरायल पुग्ने क्रम सुरु भएको छ । 

अमेरिकी सेनाको मध्य कमान्डका प्रमुख एडमिरल ब्राड कुपर इजरायल पुगेका छन् । यसै साताको अन्त्यसम्म २ सय सैनिकको टोली इजरायल पुगिसक्ने बताइएको छ । अमेरिकी सैनिकहरुले संयुक्त नियन्त्रण केन्द्र निर्माणमा सहयोग गर्ने र गाजामा प्रवेश गर्ने अन्य सुरक्षा बलहरुलाई समन्वय गर्ने टाइम्स अफ इजरायलले जनाएको छ । 

इजिप्ट, कतार, टर्की र संयुक्त अरब इमिरेट्सका सैन्य अधिकारीहरु पनि उक्त टोलीमा समावेश हुने बताइएको छ । यसैबीच, युद्धविरामसँगै हजारौं विस्थापित प्यालेस्टिनीहरु घर फर्कन थालेका छन् भने इजरायली सेनाले सैन्य फिर्तिको पहिलो चरण सकिएको जनाएको छ। तर, डनल्ड ट्रम्पको शान्ति योजनाअन्तर्गत हमासको निशस्त्रीकरण र गाजा प्रशासनको भविष्यबारे भने अझै टुंगो लागिसकेको छैन । 

ट्रम्पले सोमबार कायरोमा थुप्रै नेताहरुलाई भेटी गाजाको भविष्यबारे छलफल गर्ने जनाउनुभएको छ । तर, कुन-कुन नेतासँग भेट गर्ने भन्नेबार भने स्पष्ट भइसकेको छैन । ट्रम्पले हमासले रिहा गर्ने बन्धकहरुलाई एकत्रित गर्ने काम जारी राखेको बताउनुभएको छ ।