पर्याप्त खेल समय नपाउँदा नेपाली फुटबल खेलाडीलाई रिकभर हुन गाह्राे

आश्विन २७, २०८२ |खेल ब्युरो
पर्याप्त खेल समय नपाउँदा नेपाली फुटबल खेलाडीलाई रिकभर हुन गाह्राे

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भोलि नेपालले भियतनामसँग खेल्ने छ । 

नेपाली टिमका खेलाडीले पर्याप्त खेल समय नपाउने गरेका कारण चार दिनअघिको अवे खेलपछि रिकभर हुन गाह्रो भएको प्रशिक्षक म्याट रसले बताएका छन् । पहिलो खेलमा भियतनामासँग ३-१ ले हारेपछि दुखी भए पनि खेलाडीले राम्रो मेन्टालिटी देखाएको प्रशिक्षक रसको भनाइ थियो । भोलिको खेलमा ९० मिनेट नै ११ खेलाडीमा रहेर खेल्दा फरक नतिजा आउने प्रशिक्षकको विश्वास छ।

पहिलो हाफमा औषत प्रदर्शन गरेको भए पनि १० खेलाडीमा समेटिएपछि दोस्रो हाफमा भियतनामाले नेपाललाई आउटप्ले गरेको थियो। सो खेलमा पहिलो रोजाइका स्ट्राइकर अन्जन विष्ट बेञ्चमा सीमित भएपछि दोस्रो रोजाइका स्ट्राइकरले खेलेका थिए।

रातो कार्ड पाएको कारण भोलिको खेलमा लाकेन लिम्बू भने हुने छैनन् । त्यसैले केही खेलाडी परिवर्तन देख्न सकिने सम्भावना छ। प्रशिक्षकले दुई खेलबीचमा सेट पिसमा राम्रो काम गरेकोसमेत बताएका छन् । छनोटका तीन खेलमा नै हार ब्यहोरेको नेपालले भियतनामसँगको होम गेम पनि उसकै मैदानमा खेल्दैछ । यो खेल नेपाली खेलाडी रोहित चन्दको लागि एक सय औं खेलसमेत हुनेछ । 

अवे खेल पनि आफ्नै मैदानमा खेल्न पाएको भियतनाम भने उच्च मनोबलका साथ मैदानमा आउनेछ। यसअघि लाओस र मलेसियासँग पराजित भएको नेपालले छनोटमा राम्रो प्रदर्शन गर्न सकेको छैन् । पहिलो खेलमा मलेसियासँग २-० ले पराजित भएको नेपालले दोस्रो खेलमा लाओससँग २-१ को हार ब्यहोरेको थियो । 

भियतनाम मलेसियासँग पराजित भए पनि लाओसलाई ५-० ले हराएको छ भने नेपालविरुद्धको पहिलो खेलमा पनि जित निकालीसकेको छ। अहिले ६ अंकसहित भियतनाम समूहको दोस्रो स्थानमा छ भने नौ अंक बनाएको मलेसिया शीर्षस्थानमा छ। तेस्रो स्थानको लाओसको तीन अंक छ भने नेपालले अहिलेसम्म अंक जोड्न सकेको छैन ।