सन् २०२४ : हवाई क्षेत्रका लागि दुखद् वर्ष

पुस १६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
सन् २०२४ : हवाई क्षेत्रका लागि दुखद् वर्ष

काठमाडौं । वर्षको अन्त्यतिर दक्षिण कोरिया र कजाखस्तानमा भएका दुई ठूला विमान दुर्घटनाले हवाई उडान कति सुरक्षित छ भन्ने प्रश्नलाई एक पटक फेरि ब्युँताएको छ । त्यसमाथि रूसी क्षेप्यास्त्र लागेर अजरबैजानी विमान दुर्घटना भएको आशंकाले युद्धको मार क-कसले बेहोर्नु पर्ने हो भन्ने अर्को प्रश्नचिह्न खडा गरिदिएको छ । वर्षको उत्तरार्धमा भएका दुई ठूला विमान दुर्घटनामा २१७ जनाले ज्यान गुमाए ।

डिसेम्बर २९ मा दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बोइङ विमान दुर्घटनामा विमानमा सवार १८१ जनामध्ये १७९ जनाले ज्यान गुमाए भने चालक दलका दुई सदस्य मात्र बाँच्न सफल भए ।

त्यस्तै डिसेम्बर २५ मा अजरबैजानको राजधानी बाकुबाट रूसको चेचन्या क्षेत्रको राजधानी ग्रोज्नीतर्फ गइरहेको विमान कजाखस्तानको अक्ताउ शहरमा दुर्घटना भयो । दुर्घटनामा विमानमा सवार ६७ जनामध्ये ३८ जनाले ज्यान गुमाए भने ३९ जना बाँच्न सफल भए । रूसी क्षेप्यास्त्र प्रहारबाट यो विमान दुर्घटना भएको भन्ने अपुष्ट आरोप यो विमान दुर्घटनाको सबैभन्दा दुखद् र विडम्बनापूर्ण पक्ष रह्यो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो दुखद् घटनाका लागि अजरबैजानका राष्ट्रपतिसँग क्षमा याचना गर्नुभयो तर यसका लागि रूस जिम्मेवार रहेको कुरा भने स्विकार्नु भएन । रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जारी गरेको विज्ञप्तिमा युक्रेनी ड्रोन आक्रमणलाई असफल पार्न ग्रोज्नी नजिकै रूसी रक्षा प्रणालीले हवाई आक्रमण गरिरहेको उल्लेख गरिए पनि तीमध्ये कुनै क्षेप्यास्त्र अजरबैजानी विमानलाई लागेको हुन सक्ने प्रसंग भने उल्लेख छैन ।

२०२४ वर्षको अर्को प्रमुख विमान दुर्घटना ब्राजिलको भिनहेडोमा भयो । ९ अगस्टमा भएको उक्त विमान दुर्घटनामा विमानमा सवार सबै ६२ जनाले ज्यान गुमाए । नेपालमै २४ जुलाई भएको सौर्य एअरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भयो भने चालक बाँच्न सफल भएका थिए ।



Enter Kantipur TV HD
Advertisement