अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका दुई र बेलायतका एक गरी तीन जना अर्थशास्त्रीलाई प्रदान

आर्थिक वृद्धिमा नवप्रवर्तनले पुर्‍याउने टेवाका विषयमा गरेको अध्ययनका लागि पुरस्कार
आश्विन २७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका दुई र बेलायतका एक गरी तीन जना अर्थशास्त्रीलाई प्रदान

काठमाडौं । यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका दुई र बेलायतका एक गरी तीन जना अर्थशास्त्रीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । 

द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अर्थशास्त्रीत्रयलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारका लागि छनोट भएका अर्थशास्त्रीहरुमा अमेरिकको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिर र ब्राउन युनिभर्सिटीका पिटर होविट छन् । यस्तै, बेलायतको द लन्डन स्कूल अफ इकोनोमिक्सका फिलिप अगियोंन छन् ।

दिगो आर्थिक विकासलाई नयाँ प्रविधिले कसरी अघि बढाउन सक्छ अथवा आर्थिक वृद्धिमा नवप्रवर्तनले कसरी टेवा पुर्‍याउन सक्छ भन्ने विषयमा उनीहरुले गरेको अध्ययनका आधारमा उक्त पुरस्कार प्रदान गरिएको बताइएको छ ।

कुल पुरस्कारमध्ये आधा रकम जोएल मोकिर र बाँकी आधा अरु दुई जनालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको छ । समितिले मोकिरलाई 'प्राविधिक प्रगतिमार्फत् दिगो विकासका लागि आवश्यक पूर्वाधारहरू पहिचान गरेकोमा 'पुरस्कारको आधा रकम प्रदान गरिएको जनाएको छ । 

अगियोन र होविटलाई समितिले 'सिर्जनशील विनाशमार्फत् दिगो विकासको सिद्धान्त' का लागि पुरस्कारको आधा अंश प्रदान गरिएको समितिले जनाएको छ ।