काठमाडौं । पाकिस्तानी र अफगान सेनाबीच सीमा क्षेत्रमा भिषण संघर्ष चर्किएको छ ।
सीमा क्षेत्रमा गरिएको कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै अल-जजिराले जनाएको छ । यसै साताको सुरूमा काबुलमा भएको हवाई आक्रमणको जवाफमा यो कारबाही गरिएको तालिबानी अधिकारीहरूले जनाएका छन् । त्यसक्रममा ठूलो संख्यामा पाकिस्तानी हतियारसमेत कब्जा गर्न सफल भएको प्रवक्ता मुजाहिदले जनाउनुभएको छ ।
अफगानी सेनातर्फ भने २० सैनिक मारिएका छन् । तालिबानको दाबीका बारेमा भने पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन । यसअघि तालिबानले कुनार र हेलमन्ड प्रान्तका कैयौं सीमा विन्दुमा आक्रमण गरिएको र तीन पाकिस्तानी सैनिकलाई समेत नियन्त्रण लिएको जनाएको थियो ।
पाकिस्तानी सरकारी टेलिभिजनले भने अफगानिस्तानका १९ वटा बोर्डर पोस्ट नियन्त्रणमा लिएको दाबी गरेको छ । अफगानिस्तान र पाकिस्तानबीच सुरू भएको तनावलाई लिएर इरान, कतार, साउदी अरेबियाले चिन्ता व्यक्त गर्दै कूटनीतिक संवादलाई अघि बढाउन आग्रह गरेका छन् ।