हमासद्वारा पहिलो चरणमा ७ बन्धक रिहा, विपिनको स्थिति अज्ञात

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
हमासद्वारा पहिलो चरणमा ७ बन्धक रिहा, विपिनको स्थिति अज्ञात

काठमाडौं। प्यालेस्टिनी समूह हमासले बन्धकहरु रिहा गर्न थालेको छ । हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकमध्ये पहिलो चरणमा ७ बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रससमक्ष हस्तान्तरण गरेको इजरायली अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । उनीहरुलाई हमास लडाकुहरुले उत्तरी गाजाबाट रिहा गरेका हुन् ।

यससँगै बन्धकको रिहाइका लागि तेल अभिभको होस्टेज स्क्वायरमा पर्खिरहेका हजारौं नागरिकले खुसीयाली मनाउन थालेका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले हमास र इजरायलबीचको सहमतिअनुसार बन्धकहरुलाई विभिन्न चरणमा रिहाइ गरिने जनाएको छ ।

दुई वर्षभन्दा लामो संघर्षपछि हुने यो रिहाइलाई शान्ति र आशाको संकेतका रूपमा हेरिएको छ।

इजरायली अधिकारीका अनुसार बन्धकहरूलाई तीन चरणमा रिहा गरिनेछ। यीमध्ये धेरैजसो बन्धकहरू इजरायली नागरिक हुन्, तर केही विदेशी नागरिक पनि छन् । हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने सूचीमा छैनन् ।

सीएनएन लगायत अन्तर्राष्ट्रिय संचार संस्थाले प्रकाशित गरेका समाचारमा विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको उल्लेख गरेका छन् । इजरायलस्थित नेपाली अधिकारीहरूले पनि विपिन जोशीको अवस्थाबारे अझै अनिश्चितता रहेको जनाएका छन्।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजै इजरायल पुग्दै हुनुहुन्छ। उहाँले बन्धकका परिवारसँग भेट गर्ने, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग छलफल गर्ने र त्यसपछि गाजा संकटका विषयमा इजिप्टमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ।

हमासद्वारा बन्धकहरूको रिहाइ शान्ति प्रक्रियाको निर्णायक कदमको रूपमा हेरिएको छ। तर विपिन जोशीसहितका अन्य बेपत्ता व्यक्तिहरूको अवस्था अझै अनिश्चित रहँदा, परिवार र आफन्तहरू अझै पनि प्रतीक्षामा छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.