
काठमाडौं । इजरायली आक्रमणबाट गाजामा सबैभन्दा बढी महिला र बालबालिका मारिएका छन् । विशेषगरी बालबालिका पढ्ने विद्यालय ध्वस्त भएका छन् भने अस्पतालहरू समेत इजरायली निशानामा पर्दा प्यालेस्टिनीहरू स्वास्थ्य सुविधाबाट समेत वञ्चित भइरहेका छन् ।
यसले गाजामा ठूलो मानवीय संकट सिर्जना भएको छ । युद्धका कारण गाजाको एउटा पुस्ता नै प्रभावित भएको छ ।
हालैको तथ्यांक अनुसार युद्धको १४ महिनाको अवधिमा ११ हजार बालबालिका र ६ हजार महिलाको मृत्यु भइसकेको छ । यति हुँदा पनि इजरायलले हमासलाई पूर्ण रूपमा पराजित नगरेसम्म गाजामा आक्रमण जारी रहने स्पष्ट पारेको छ । इजरायली आक्रमणले गाजाको शरणार्थी शिविर, विद्यालय, अस्पताल तथा मानवीय सहायता केन्द्रहरूमा सबैभन्दा धेरै क्षति पुगेको छ ।
इजरायली आक्रमणबाट क्षतिग्रस्त गाजा पुनःनिर्माण गर्न कति समय लाग्छ, यकिन छैन । जसले गर्दा गाजाको नयाँ पुस्ताले थुप्रै समस्या झेल्नुपर्ने देखिन्छ । खासगरी, बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन्, कैयौं घाइते भएका छन् । बाँचेकाहरू पनि विद्यालय जान पाएका छैनन् भने उनीहरू उचित स्वास्थ्य उपचारबाट समेत वञ्चित भएका छन् । रोग र संक्रमण फैलने समेत अवस्था सिर्जना हुँदै गएको छ ।
बालबालिकाले युद्ध, आक्रमण, विस्फोट झेलेका छन्, आफ्नै आँखा अगाडि आफन्त गुमाएका छन् । यस्तोमा उनीहरू कस्तो मानसिक अवस्थामा छन् भन्ने लेखाजोखा नै छैन । जसले गर्दा यो युद्धले गाजाको एउटा पुस्ताकै भविष्यमाथि नै प्रश्न खडा भएको छ ।
अन्तर्राष्ट्रिय समुदायले इजरायललाई कारबाही बन्द गर्न बारम्बार खबरदारी गरे पनि आक्रमण भने रोकिएको छैन । अमेरिका, कतार र इजिप्टको पहलमा पुनः वार्ता भइरहेको छ । युद्धविराम भए पनि त्यहाँको दैनिक जीवन सामान्य अवस्थामा आउन वर्षौं लाग्ने अनुमान गरिएको छ ।