
काठमाडौं । सन् २०२४ मा जलवायु परिवर्तनले निम्त्याएको बाढी, पहिरो, खडेरी, आँधीजस्ता प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भयो । बाढीले मध्य एसिया, पूर्वी अफ्रिका, पश्चिम अफ्रिका, दक्षिणपूर्व एसिया र मध्य युरोपका मुलुकमा अत्याधिक असर गर्यो । काजकिस्तानमा हिउँ पग्लिएर बाढी आयो, जबकि गेमी र यागीजस्ता आँधीले फिलिपिन्स र दक्षिणपूर्व एसियामा ठूलो वर्षा निम्त्यायो । भारत र बंगलादेशमा मौसमी मनसुनले नराम्रो असर गर्यो । नेपालको सोलुखुम्बुमा हिमताल बिस्फोट हुँदा ठूलो जनधनको क्षति भयो ।
यस वर्ष प्राकृतिक विपत्तिले कहाँ, कस्तो क्षति पुर्यायो ?
जलवायु परिवर्तनले निम्त्याएको बाढी, पहिरो, खडेरी, आँधीजस्ता प्राकृतिक विपत्तिका कारण वर्ष २०२४ मा विश्वले ठूलो क्षति बेहोर्नुपर्यो, जसबाट हजारौं मानिसको ज्यान गयो भने लाखौं मानिस घरवारविहीन भए । बाढीका कारण बंगलादेशका ५८ प्रतिशत, पाकिस्तानमा ३१ प्रतिशत, इजिप्टमा ४० प्रतिशत र चीनमा २७ दशमलब ५ प्रतिशत नागरिक प्रभावित भएको तथ्यांकले देखाएको छ ।
युरोपेली मुलुक जर्मनीले समेत अप्रत्याशित बाढीको सामना गर्नुपर्यो । जसकारण त्यहाँका करिब १८ प्रतिशत नागरिक प्रभावित भए । यस्तै सयौं वर्षमा पनि नपर्ने पानी एकै दिन पर्दा स्पेनमा त्रासदी सिर्जना भयो, जसबाट करिब ११ प्रतिशत स्पेनी नागरिक प्रभावित भए । यस्तै रुसमा करिब १३ प्रतिशत र श्रीलंकामा १९ प्रतिशत नागरिक प्रभावित भए ।
छिमेकी मुलुक भारतमा जुन महिनामा आएको बाढीले थुप्रै राज्य र क्षेत्रलाई प्रभावित पार्यो । चिडा नामक चक्रवातले फ्रान्सको अधिनमा रहेको सानो टापु मैयोटमा विनाश नित्यायो । नोभेम्बरमा अजरबैजानको बाकुमा भएको विश्व जलवायु सम्मेलनमा विश्वभर जलवायु परिवर्तनले निम्त्याएको विनाशको क्षतिपूर्तिका विषयमा बहस भयो ।
सम्मेलनमा विश्वका धनी देशहरूले गरिब देशहरूलाई ३ खर्ब डलर दिने वाचा गरे । जलवायु परिवर्तनको तयारी र यसको असरबाट बाँच्नका लागि उक्त रकम उपलब्ध गराउने सहमति कप २९ मा भयो । तर जैविक इन्धनको प्रयोग कम गर्दै जाने भनेर गत वर्षकै मागमा सबै सदस्य देशहरूलाई एकजुट गराउन भने वार्ता असफल भयो । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आफूले कार्यभारत सम्हालेलगत्तै जलवायुसम्बन्धी दिइने रकमलाई कटौती गर्ने चेतावनी दिइसक्नुभएको छ । हेर्न बाँकी छ कि उहाँको नेतृत्वमा विश्वले जलवायू असरको सामना कसरी गर्ने छ ?
यो पनि हेर्नुहोस :
वर्ष २०२४ : निर्वाचनमय बनेको विश्व
सन् २०२४ : हवाई क्षेत्रका लागि दुखद् वर्ष
वर्ष २०२४ : टेनिसका लागि कस्तो रह्यो ?