इजरायल र हमासबीचको समझदारीपछि २० जना जीवित बन्धकहरू रिहा हुँदै, विपिनको अवस्था अज्ञात

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
इजरायल र हमासबीचको समझदारीपछि २० जना जीवित बन्धकहरू रिहा हुँदै, विपिनको अवस्था अज्ञात

काठमाडौं । इजरायल र हमासबीचको समझदारीपछि सोमबार बिहान २० जना जीवित बन्धकहरू रिहा हुँदैछन् । दुई वर्षभन्दा लामो संघर्षपछि हुने यो रिहाइलाई शान्ति र आशाको संकेतका रूपमा हेरिएको छ।

इजरायली अधिकारीका अनुसार बन्धकहरूलाई तीन चरणमा रिहा गरिनेछ। पहिलो दुई समूह सोमबार बिहान स्थानीय समय अनुसार आठ बजे दुई फरक स्थानबाट मुक्त गरिनेछन्। तेस्रो समूहलाई एक घण्टा पछि अर्को स्थानबाट रिहा गरिने तयारी छ।

यीमध्ये धेरैजसो बन्धकहरू इजरायली नागरिक हुन्, तर केही विदेशी नागरिक पनि छन्। हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने सूचीमा छन् कि छैनन् भन्ने बारे भने अहिलेसम्म औपचारिक पुष्टि भएको छैन। सीएनएन लगायत अन्तर्राष्ट्रिय संचार संस्थाले प्रकाशित गरेका समाचारमा विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको उल्लेख गरेका छन्। इजरायलस्थित नेपाली अधिकारीहरूले पनि विपिन जोशीको अवस्थाबारे अझै अनिश्चितता रहेको जनाएका छन्।

तेल अवीभको ‘होस्टेज स्क्वायर’ मा गए रातिदेखि हजारौं नागरिक जम्मा भएका छन्। उनीहरूले बन्धकहरूको सुरक्षित र छिटो रिहा माग्दै ब्यानर र सन्देश लेखेका छन्। इजरायलको होस्टेज एन्ड मिसिङ फ्यामलिज फोरमका अनुसार, नागरिकहरू “आशा, धैर्य र एकताको सन्देशसहित” आगामी ऐतिहासिक दिनका लागि तयारीमा छन्।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार बिहान इजरायल पुग्दै हुनुहुन्छ। उहाँले बन्धकका परिवारसँग भेट गर्ने, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग छलफल गर्ने र त्यसपछि गाजा संकटका विषयमा इजिप्टमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ।

हमासद्वारा बन्धकहरूको रिहाइ शान्ति प्रक्रियाको निर्णायक कदमको रूपमा हेरिएको छ। तर विपिन जोशीसहि तका अन्य बेपत्ता व्यक्तिहरूको अवस्था अझै अनिश्चित रहँदा, परिवार र आफन्तहरू अझै पनि प्रतीक्षामा छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.